नेपाल यूएईसँग ८४ रनले पराजित
पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल यूएईसँग पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ८४ रनले पराजित भएको हो। यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले नौ विकेटको क्षतिमा १७९ रन मात्रै बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउँदले अर्धशतक प्रहार गरे। ऐरीले ८४ बलमो ५४ रन र साउँदले ७९ बलमा ५१ रन बनाए।
त्यस्तै, गुल्सन झाले १९ र आरिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
यूएईका लागि आयान अफ्जल खानले चार र बसिल हमीदले दुई तथा जहूर खान, रोहन मुस्ताफा र अहम्द राजाले एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले सात विकेटको क्षतिमा २६३ रन बनाएको थियो। यूएईका लागि रोहन मुस्ताफाले ५३, मुहम्मद वासीमले ४४, वृत्य अरविन्दले ४०, अलिशान सरफुले २९, अहम्द राजाले २७ र आयन अफ्जल खानले २६ रन बनाएका थिए।
त्यस्तै, नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
अब नेपाल र यूएईबीचको दोस्रो खेल बुधबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।