डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नहुने सर्वोच्चको आदेश
ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नहुने भएको छ।
सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको छ। निर्वाचन आयोगले हालेको ‘भ्याकेट’मा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलाशले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
निर्वाचन आयोगले लाभकाे पदमा रहेको भन्दै डा.कार्कीको उम्मेदवार खारेज गर्ने निर्णय गरेको थियो। डा. कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्यका रुपमा बैठक भत्ता र अनुगमन वाफतको भ्रमण भत्ता लिएकाले उम्मेदवारी खारेज हुने आयोगको ठहर थियो। त्यसका विरुद्ध उनी सर्वोच्च अदालत पुगेकी थिइन्।
त्यसमाथि सुनुवाई गर्दै सर्वोच्चले डा. कार्कीको उम्मेदवारी खारेज नगर्न कात्तिक १५ गते अन्तरिम आदेश दिएको थियो।
त्यसका विरुद्ध निर्वाचन आयोगले कात्तिक २० गते सर्वोच्चमा निवेदन दिएको थियो। निवेदनमा आयोगले अन्तरिम आदेश बदर गर्न माग गरेको थियो।
आज निर्वाचन आयोगको निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो। सर्वोच्चले भनेको छ, ‘पूर्ण सुनुवाइका अवस्थामा निवेदकले उठाएका कानूनी प्रश्नको निरुपण हुने नै हुँदा अहिले प्रत्यर्थी निर्वाचन आयोगको निवेदन माग बमोजिम यस अदालतबाट मिति २०७९/०७/१५ मा जारी भएको अन्तरिम आदेश बदर गरिरहन परेन।’