गोरखा २ का एमालेका उम्मेदवार मियाँको टोलीमाथि आक्रमण
नेकपा (एमाले)का गोरखा क्षेत्र नं २ का उम्मेदवार अब्दुस सलाम मियाँको टोलीमाथि आक्रमण भएको छ।
मियाँको टोली बसेको पालुङटार नगरपालिका-२‚ नयाँपुलस्थित म्याङ्गो रिसोर्टमा आइतबार रात साढे ११ बजे आक्रमण भएको हो। आक्रमणबाट एमाले गण्डकी प्रदेश कमिटी सदस्य हरि काफ्ले र एमाले कार्यकर्ता दीपक तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए।
बियरको बोतलले प्रहार गर्दा काफ्लेको घाउकोमा गहिरो चोट लागेको छ भने तामाङ सामान्य घाइते भएका छन्। काफ्लेको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिए। उनको टाउकोमा सात टाँका लगाइएको छ। घटना भएको वेला उम्मेदवार मियाँ भने होटलको कोठमा रहेको प्रवक्ता लामिछानेले बताए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रण लिएको छ।
घटनाबारे उम्मेदवार मियाँले पनि सामाजिक सञ्जालमा जानकारी दिएका छन्। “गोरखामा हाम्रो टिममाथि खाना खाँदै गरेको अवस्थामा आक्रमण भएको छ‚” उनले लेखेका छन्‚ “प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बाँकी तीन जना फरार भएका छन्।”
घटना कसले गरेको भन्ने मियाँले पनि उल्लेख गरेका छैनन्। प्रहरीले भने घटना राजनीतिक विषयमा नजोडिएको बताएको छ। “राजनीतिक विषय होइन‚” प्रहरी प्रवक्ता लामिछानेले भने‚ “घाइतेहरू पालुङटारका स्थानीय हुन्। आक्रमण गर्नेहरू तनहुँका हुन्।” एकै रिसोर्टमा बसेका उनीहरूबीच खाना खाने समयमा विवाद हुँदा घटना भएको लामिछानेले बताए। घटनापछि मियाँको टोली राति साढे १२ बजे त्यहाँबाट हिंडेको उनले बताए।
गोरखा २ मा एमालेबाट मियाँ‚ सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‚ राप्रपाका सुशील पन्त लगायत उम्मेदवार चुनावी मैदानमा छन्।