उपमहानगरका वडाध्यक्ष जुवाको खालबाट पक्राउ
सुनसरीकाे इटहरी उपमहानगरपालिका १५ का वडाअध्यक्ष श्रवणकुमार चौधरी (४४) जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन्।
चौधरीसहित ५ जनालाई दुहबी नगरपालिका १२ स्थित गंगा चौधरीको घरबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा वडाध्यक्ष चौधरी सहित मोरङ ग्रामथान गाउँपालिका ६ का रुपेशकुमार तामाङ (४०), ग्रामथान ५ का लालबहादुर चौधरी(४०), गढी गाउँपालिका ३ का रमेश चौधरी (४२) र जोगेन्द्र उराव (३९) रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका नायव उपरिक्षक ज्ञानेन्द्र फुयालका अनुसार, जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद रु २ लाख ८५ हजार १ सय १४ बरामद गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिताको परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुर अन्तर्गत मुद्धा चलाउन लागिएको नायव उपरिक्षक फुयालले बताए ।