खुकुरी रमको उत्पादक कम्पनीलाई आइएसओ ९००१: २०१५ को प्रमाणपत्र
ख्यातिप्राप्त मदिरा ब्रान्ड खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरिज प्रालिले गुणस्तीयता मापनको प्रमाणपत्र पाएको छ। कम्पनीले आइएसओ ९००१: २०१५ को प्रमाणपत्र पाएको हो।
कम्पनीले उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय डीएनभी (यूकेएएस) बाट प्रमाणपत्र प्राप्त गरेको हो। यो विश्वव्यापी मानकले बलियो गुणस्तर व्यवस्थापन प्रणालीको सुनिश्चितता दिने कम्पनीको विश्वास छ।
द नेपाल डिस्टिलरिजले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रित गर्दै आइरहेको दाबी गरेको छ। यसका लागि कम्पनीले आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्तदुरुस्त र समयसापेक्ष बनाउँदै आएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
आइएसओ ९००१: २०१५ प्रमाणपत्रलाई कम्पनीको जीवनमा एउटा कोशेढुंगाको रुपमा चित्रित गर्दै द नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभास लामिछानेले भने, ‘प्रतिष्ठित आइएसओ ९००१: २०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुश भएको छ। सम्पूर्ण टिम र यसबाट भएको सामूहिक प्रयासलाई यसको जस जान्छ।”
उनले आगामी दिनमा समेत कम्पनीका उत्पादनको गुणस्तर र आन्तरिक कार्यप्रणालीलाई अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता जनाए।
कम्पनीबाट प्रतिष्ठित खुकुरी ब्रान्डअन्तर्गत खुकुरी ट्रिपल एक्स रम, खुकुरी स्पाइस्ड रम, खुकुरी ह्वाइट रम र खुकुरी कोरोनेसन रम उत्पादन हुँदै आएको छ। यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन्। हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्रान्ड न्यूड भोड्का बजारमा ल्याएको छ।
सन् १९५९ मा स्थापना भएको दि नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो ।