‘घनश्यामजी प्रतिस्पर्धामै हुनुहुन्न, मैले जित्नेमा ढुक्क छु ’
‘यो निर्वाचन क्षेत्रमा एउटा इँटा नराखेका मान्छेहरू, एउटा ढुंगा यताको उता नसारेका मान्छेहरू उम्मेदवार बन्ने र आफू एकदम प्रतिस्पर्धी हुँ भनेर सोच्ने कुरा एउटा स्वप्न मात्र हो।’
नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा रुपन्देही-१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। उनलाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साथ छ। एमालेकै पूर्व उपमहासचिव घनश्याम भुसाललाई विश्वकर्माको प्रतिस्पर्धीको रुपमा हेरिएको छ। पूर्व सहकर्मीसँग उनी कसरी चुनाव लड्दै छन्? हिमालखबरको उम्मेदवार संवादमा एमाले उम्मेदवार विश्वकर्मासँग जीवराज चालिसेले गरेको संवाद:
चुनाव नजिकै आइसक्यो। प्रचारप्रसारलाई कसरी अगाडि बढाउनुभएको छ?
मतदाताको सुझाव लिने र हाम्रो सन्देश मतदातामाझ पुर्याउने गरी योजना बनाएका छौं। सम्भव भएसम्म मतदाताको घरदैलोमा पुगेरै भेटघाट गरिरहेका छौं। मैले अघिल्लो निर्वाचनमा चुनिने अवसर पाएको थिएँ। त्यसयता यस क्षेत्रमा मेरो अगुवाईमा भएका कामबारे मतदातालाई जानकारी दिइरहेका छौं।
गएको पाँच वर्षको कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुभएको छ?
रुपन्देही-१ को जनप्रतिनिधिको रुपमा मभन्दा अघि एमालेबाट कोही पनि निर्वाचित भएका थिएनन्। २०७० मा थोरै मतले पराजित भएको थिएँ। २०७४ सालको निर्वाचनमा मतदाताले विश्वास गरे।
दलीय व्यवस्थामा दलको तर्फबाट उम्मेदवार बनेको भए पनि चुनाव जितेपछि सबै मतदाताको प्रतिनिधि बनेँ। म सबैको जनप्रनिधि हुँ भन्ने कुरालाई हेक्का राखेर काम गर्ने कोसिस गरेको छु। त्यति हुँदाहुँदै पनि मैले कतिपय अवस्थामा ध्यान पुर्याउन सकेको रहेनछु भन्ने अनुभुति भएको छ। मलाई त त्यस्तो भएको छ भने यहाँ अरुको के हालत होला!
२०७४ सालमा मेरो प्रतिवद्धता थियो, दशगजादेखि दलदलेहुँदै माथागढीसम्म सडक पुर्याउँछु। माथागढी ब्रिटिससँग नेपाल लडेको स्थान पनि हो।
उत्तरबाट होइन, अब दक्षिणबाट कामको प्रारम्भ गर्छौ भनेको थिएँ। दक्षिणमा जनताले विना बर्दीका सिपाही बनेर आफ्नो देशको रक्षा गर्दै आएका छन्। तर, राज्यको स्नेह बराबरी रुपमा उनीहरूले पाएका छैनन्। त्यसैले दशगजालाई प्राथमिकतामा राखेको थिएँ।
निर्वाचन क्षेत्र हिजो जसरी ओझेलमा परेको थियो, म निर्वाचित भएपछि अहिले दृश्यमा आउने बनेको छ। यसको तात्पर्य के हो भन्दा समग्र विकासको एउटा आधारशिला निर्माण भएको छ। र, अगाडि बढ्नका लागि एउटा मार्गदिशा तयार गरेका छौं।
यो क्षेत्रमा पनि उत्तरभन्दा दक्षिणी भूभाग कम विकसित देखिन्छ। यो असमानता हटाउन कसरी अघि बढ्नुपर्छ जस्तो लाग्छ?
म आफै समुन्नत विकासको पक्षपाति हुँ। राज्यको स्नेह सबै स्थानमा बराबरी पुग्नुपर्छ, कोही पनि बञ्चिन हुनुहुँदैन। विकासमा मात्रै होइन, अवसरमा पनि न्यायोचित वितरण होस् भन्ने मेरो ध्येय हो।
म सामाजिक न्याय, समावेशी र सद्भावयुक्त समाज निर्माण गर्ने मामिलाको अभियन्ता भएको हिसावले विकासको खाका तयार गर्दा यो क्षेत्रको विशेषता र परिवेश हेरेर योजनाअघि सारेका छौं। मान्छेको चेतना, सामाजिक जागरण र मानव मर्यादाको कुरालाई झनै ख्याल गरेर योेजनाअघि सार्नुपर्छ।
हाम्रा ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदासहितको विकास नै खासमा विकास हो। तिनलाई भत्काएर, नष्ट गरेर वा भएका चिज बिगारेर मात्रै विकास नहुने रहेछ। नयाँ बनाउन सक्छौं भने बनाउने हो। यदि सक्दैनौं भने हाम्रा सम्पदा जोगाएर राखौं, ताकि अर्को पुस्ता आएर त्यसको विकास गरोस्।
अहिले पनि दक्षिण क्षेत्रका नागरिकको दैनिकी त सहज छैन नि!
तराई-मधेशमा कमजोर वर्ग, समुदायको जनजीवन ज्यादै जर्जर छ। सुरक्षित आवास छैन। दैनिक गुजारा चल्ने खालको कुनै उपाय छैन। त्यसमाथि यहाँ अधिकांश दलित समुदायको बसोबास छ, जसको जीवनस्तर ज्यादै कमजोर छ।
मैले यसको समाधानका लागि केही कोशिस गरेको हुँ। सुरक्षित आवास कार्यक्रमलाई निकै जोडतोडका साथ कार्यान्वयन गर्न लागेको थिए। त्यो आवासका लागि स्थानीय तहले नै पहिचान गरेर एउटा परिवारलाई ५० हजार रुपैयाँ दिन्थ्यो। तर, त्यतिले नपुग्ने भएपछि थपेर ७५ हजार बनाइएको थियो। अझै पनि यो पर्याप्त भएन। अर्को जनता आवास कार्यक्रम सञ्चालन गरियो। यो कार्यक्रम पनि प्रभावकारी भएन।
तराई-मधेशमा झुरुप्प एकै स्थानमा बसेका धेरै वस्ती छन्। मलाई लाग्छ, एकीकृत विकास योजना बनाएर मात्रै ती सबै वस्तीको रुपान्तरण गर्न सकिन्छ।
गुजारा गर्नका लागि मात्रै छाप्रो हालिदिएर भएन। प्राथमिकता वासस्थानलाई मात्रै होइन, समग्र विकासलाई दिनुपर्छ। उनीहरूका लागि कमसेकम काम गर्न थलो होस्। एउटा सामुदायिक भवन होस्, जहाँ उनीहरू सामाजिक क्रियाकलाप गर्न सकुन्। केटाकेटीका लागि खेल्ने थलो होस्। स्वास्थ्य, विद्यालय र विद्युत जस्ता कुरामा कम्तिमा पनि पहुँच पुगेको हुनुपर्यो। म निर्वाचित भएपछि यी कुरामा पहल लिन्छु। छलफल र बहस चलाउँछु। अनि नयाँ मोडलका साथ हामी जान्छौं।
तपाईकै पूर्व सहकर्मी घनश्याम भुसाल कांग्रेस, माओवादी र एकीकृृत समाजवादीको समर्थन लिएर प्रतिस्पर्धामा हुनुहुन्छ। कतिको चुनौती महशुस गर्नु भएको छ?
घनश्याम भुसाल एमालेको स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो। स्थायी कमिटीमा हामीले नै उहाँलाई ल्याएका थियौं। तर, उहाँ कहिल्लै पार्टीको हुनुभएन। आफ्नै पार्टीको अध्यक्षले नेतृत्व गरेको सरकारलाई अपदस्थ गर्न विपक्षीसँग साँठगाँठ गर्नुभयो। यो राजनीतिक कुकर्म थियो।
अहिले त म अचम्मै भएँ। पार्टीमा जिम्मेवारी हुँदाहुँदै हठात् पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेको कुरा सुनियो। एकातिर परमादेशी सत्ता गठबन्धनसँग हाम्रो प्रतिस्पर्धा छ, अर्कोतिर पार्टीबाट राजीनामा दिएर सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार अरे! यो के चाहिँ चिज हो?
यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका कुनै पार्टीले आफ्नो उम्मेदवार उठाउन सकेनन्। त्यसैले मेरो प्रतिस्पर्धा अहिले कोही पनि छैन। कांग्रेस, माओवादी वा अन्य दलले आफ्नो उम्मेदवार अगाडि सारेको भए, मेरो प्रतिस्पर्धी भन्न हुन्थ्यो। अहिले यहाँ रुख चिह्न लिएर चुनावमा उठेको कोही उम्मेदवार छ? अथवा गोलाकारभित्रको हसियाँ हथौडा लिएर चुनावमा उठेको कोही छ? वा कलम चिह्न लिएर अगाडि सरेको कोही छ? छैन।
अहिलेको व्यवस्थामा दलको विकल्प भनेको दल नै हो। त्यसको अर्थ दलबाट अगाडि सारिएको उम्मेदवारको विकल्प अर्को दलबाट अगाडि सारिएको उम्मेदवार नै हुन्छ। त्यसैले अहिले राजनीतिक रुपमा भन्ने हो भने म एकल उम्मेदवार छु। केही स्वतन्त्र उम्मेदवार उठ्नु भएको छ, तर मैले प्रतिस्पर्धीको रुपमा देखेको छैन।
गत स्थानीय निर्वाचन त स्वतन्त्र उम्मेदवारले पनि जिते नि?
स्थानीय तहका स्वतन्त्रले पनि काम गर्न सक्छ, किनकि त्यहाँ निर्वाचित व्यक्ति कार्यकारी हुन्छ। तर, संसदीय चुनावमा त्यो हुँदैन। यो निर्वाचन क्षेत्रमा एउटा इँटा नराखेका मान्छेहरू, एउटा ढुंगा यताको उता नसारेका मान्छेहरू उम्मेदवार बन्ने र आफू एकदम प्रतिस्पर्धी हुँ भनेर सोच्ने कुरा एउटा स्वप्न मात्र हो।
अब त केही दिन मात्रै बाँकी छन्। जित्नेमा कति आशावादी हुनुहुन्छ?
अहिले म यो निर्वाचन क्षेत्रमा नेकपा (एमाले) को सूर्य चिह्न लिई जसपा र राप्रपाको समर्थनमा साझा उम्मेदवारको रुपमा उभिएको छु। अघिल्लो कार्यकालमा भए-गरेका कामलाई अगाडि बढाउने र पूर्णता दिने प्रतिबद्धताका साथ उपस्थित भएको छु। प्रतिवद्धता मात्रै होइन, काम गरेर देखाएको कुरा पनि यहाँका जनताले धेरै बुझ्नु भएको छ। फेरि पनि यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछु। यसमा केही पनि द्विविधा छैन।
थप सामग्री: