एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि
त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कपको उपाधि जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले आमीलाई चार विकेटले पराजित गरेको हो। आर्मीले दिएको १८० रनको लक्ष्य एपीएफले ३८.३ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको छ।
एपीएफका लागि भुवन कार्कीले ५५ रन प्रहार गरे। त्यस्तै, सुमित महर्जनले ३४ र शरद भेषवाकरले १५ रन बनाए।
आर्मीका लागि जितेन्द्र मुखियाले दुई, सुशन भारी र सोमपाल कामीले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। आर्मीका लागि रोहित पौडेलले ४९, जितेन्द्र मुखियाले २४, सुशन भारीले १९ र राजेश पुलामीले १८ रन बनाएका थिए।
त्यस्तै, एपीएफका लागि मौसम ढकाल र अमर रौटेलाले तीन-तीन तथा किशोर महतोले दुई विकेट लिएका थिए।
आर्मीले सोमपाल कामीलाई ‘प्लेइङ-११’ मा राखेपछि खेलको शुरूआतमा विवाद भएको थियो। डेंगी संक्रमणका कारण उनले लिग चरणका खेल खेल्न सकेका थिएनन्।
ढिलो गरी शुरू भएकाले फाइनल खेल ४० ओभरमा झारिएको थियो।