गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एअरलाइन्सको तयारी
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ।
पुष दोस्रो सातासम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले बताइन्। उनका अनुसार अहिले निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ।
अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी पुसा दोस्रोभित्रै व्यावसायिक उडान सञ्चालन गरिने उनले बताइन्। “डिसेम्बरको अन्तसम्म (पुसा दोस्रो साता) उडान गर्ने भनेर तयारी हुँदै छ। कुन-कुन गन्तव्यमा उडाउने भन्नेबारे समितिको प्रतिवेदनपश्चात् बोर्डले निर्णय लिनेछ,” प्रवक्ता खड्काले भनिन्।
हाल गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एअरलाइन्सले सातामा तीन वटा उडान गरिरहेको छ। नेपाल एअरलाइन्सले भारतका तीन सहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। एअरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा वाइडबडी ए-३३० र दुई वटा न्यारोबडी ए-३२० जहाज छन्।
गौतमबुद्ध विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको साढे पाँच महीनापछि गत कात्तिक १७ गतेदेखि हिमालय एअरलाइन्सले मलेसियाको क्वालालम्पुरका लागि नियमित चार्टर्ड उडान सञ्चालन गर्दै आएको छ। एअरलाइन्सले दैनिक एक चार्टर्ड उडान गरिरहेको छ।
नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक रूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने व्यवस्था गरेको थियो। जसका कारण हिमालय एअरलाइन्सले चार्टर्ड उडान शुरू गरेको थियो।
प्राधिकरणले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्ससहित पाँच अन्तर्राष्ट्रिय एअरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरुपमा आग्रह गरिसकेको छ। प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुलाई आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णयसमेत गरेको छ।
यो विमानस्थलबाट नोभेम्बर १२ तारिखदेखि कुवेत एअरले पनि उडान शुरू गर्ने प्राधिकरणले जनाएको छ। यस्तै थाइल्यान्ड लगायतका देशका वायुसेवा कम्पनीबाट समेत उडान भर्ने तयारी भइरहेको प्राधिकरणको भनाइ छ।
विमानस्थलले अहिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई नेपाल नागरिक उड्डययन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि शतप्रतिशत छुट दिएको छ। यस्तै नेपाल वायुसेवा निगमले असुल गर्ने ग्राउन्ड ह्यान्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट प्रदान गरिएको विमानस्थले जनाएको छ। (रासस)