२० वर्षीय रोहित राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त
नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले २० वर्षीय पौडेललाई नयाँ कप्तान नियुक्त गरेको हो। बलात्कारको आरोपमा राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा परेपछि पौडेल नयाँ कप्तान नियुक्त भएका हुन्।
उनले यूएईसँगको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाली टोलीको नेतृत्व गर्नेछन्। यसअघि उनले केन्यासँगको एकदिवसीय श्रृंखलामा नेपाली टोलीको नेतृत्व गरेका थिए।
उनले सन् २०१८ मा नेदल्यान्डस्सँगको खेलमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। अहिलेसम्म उनले नेपालका लागि २५ एकदिवसीय खेल खेलिसकेका छन्। जसमा उनले ८०८ रन बनाएका छन्। जसमा उनले एक शतक र पाँच अर्धशकत सामेल छन्।
त्यस्तै, उनले नेपालका लागि २१ वटा टी२० खेलमा ३७६ रन बनाएका छन्। जसमा उनले एउटा अर्धशतक बनाएका छन्।
यससँगै क्यानले यूएईसँगको खेलका लागि नेपाली टोली पनि घोषणा गरेको छ।
पौडेलको नेतृत्वमा घोषणा गरिएको टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल आलम, अर्जुन साउँद र गुल्सन झा छन्।