अन्तिम ओभरमा प्रहरीलाई हराउँदै आर्मी क्लब फाइनलमा
नेपाल प्रहरी क्लबलाई अन्तिम ओभरमा पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कपको फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी क्बलले प्रहरी क्बललाई दुई विकेटले पराजित गरेको हो। प्रहरी क्लबले दिएको ३०५ रनको लक्ष्य आर्मी क्लबले ४९.५ ओभरमा आठ विकेट गुमाएर पुरा गरेको छ।
आर्मी क्लबका लागि रोहितकुमार पौडेलले ८९, हरि चौहानले ७५, राजेश पुलामी मगरले ४३, विनोद भण्डारी ३२ र विक्रम शोबले ३० रन बनाए। ३७ बलमा ४३ रन प्रहार गरेर आर्मीलाई जित दिलाएका मगर प्लेयर अफ द म्याच भए।
प्रहरी क्लबका लागि करण केसीले ६ विकेट लिए पनि आर्मीका ब्याटरलाई रोक्न सकेनन्। उनले १० ओभरमा ५२ रन खर्चिए। त्यस्तै, रसिद खान र ललित राजवंशीले एक–एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रहरी क्लबले चार विकेटको क्षतिमा ३०४ रन बनाएको थियो। प्रहरी क्बलका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले १४० रन प्रहार गरेका थिए। त्यस्तै, आरिफ शेखले ९१, कुशल भुर्तेलले ३१, सुनिल धमालले १३ र अमित श्रेष्ठले १० रन बनाए।
आर्मी क्लबका लागि विक्रम शोबले तीन र सुशन भारीले एक विकेट लिएका थिए।
यसअघि मधेश प्रदेशलाई पराजित गर्दै एपीएफ क्लब फाइनलमा पुगिसकेको छ। अब फाइनल खेल शनिबार बिहान ९ बजे एपीएफ र आर्मी क्लबबीच हुनेछ।