जेब्रा क्रसिङ मेटिँदा दुर्घटनाकाे जाेखिम (तस्वीरहरू)
काठमाडौंका सडकमा ‘जेब्रा क्रसिङ’ मेटिंदा पैदलयात्रुलाई सडक पार गर्न सास्ती हुने गरेको छ।
संघीय राजधानीका व्यस्त सडकहरूमै जेब्रा क्रसिङ मेटिएका छन्। जसले गर्दा सवारी चालक पनि जेब्रा क्रसिङ छोडेर गाडी रोक्ने गरेका छैनन्।
यसले एकातिर यात्रुलाई सडक पार गर्न अप्ठ्यारो हुने गरेको छ भने अर्कातिर दुर्घटनाको जोखिम निम्त्याएको छ।
यात्रुसँगै ट्राफिक प्रहरीलाई पनि ट्राफिक नियम पालना गराउन समस्या हुने गरेको छ। जेब्रा क्रसिङ मेटिंदा ट्राफिक प्रहरीलाई पनि कठिनाइ हुने गरेको काठमाडौं ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरी बताउँछिन्।
“थुप्रै ठाउँमा जेब्रा क्रसिङ मेटिएका छन्। यो हाम्रो हातमा छैन,” डीआईजी चौधरीले भनिन्, “सडक विभागको जिम्मेवारीमा पर्छ। जेब्रा क्रसिङ बनाउन र थप्न सडक विभागलाई जानकारी गराइसकेका छौं।”