असल उम्मेदवार छनोटको मान्य विधि हुँदैन?
दलहरूले असल उम्मेदवार छान्न सके र मतदाताले आलोचनात्मक चेतका साथ मत दिन सके भने मात्र लोकतन्त्र लोकको हुन्छ। त्यसो नभए लोकतन्त्र वास्तविक नभई प्राविधिक बन्ने खतरा हुन्छ।
लोकतन्त्रलाई जनस्तरमा पुर्याउने काम राजनैतिक दलहरूको हो। तर‚ आधुनिक लोकतन्त्रको २५ सय वर्षे इतिहासमा उम्मेदवार चयनमा राजनैतिक दलहरू मत्यैकमा पुगिसकेको छैनन्। दलहरूले असल उम्मेदवार छान्न सके र निर्वाचकहरूले पनि आलोचनात्मक चेतका साथ मत दिन सके भने मात्र लोकतन्त्र लोकको हुन्छ। तर‚ त्यसको अभावमा लोकतन्त्रमा जनताका विकल्प साँघुरिएर गएको छ। जसका कारण लोकतन्त्र वास्तविक नभई प्राविधिक बन्ने खतरामा छ।
सत्तरीको दशकमा बेलायतकी मार्गरेट थेचर लोकप्रिय उम्मेदवार थिइन्। उनले आफूअघिका लोकप्रिय उम्मेदवार विन्सटल चर्चिललाई पनि उछिनिन्। अमेरिकी स्वतन्त्रता संग्रामपछि दलभन्दा माथिका उम्मेदवार जर्ज वासिङ्टन सबैका प्रिय भएर पहिलो राष्ट्रपति बने। फ्र्याङ्क्लिन डी. रुजबेल्ट, जोन एफ. केनेडी र बाराक ओबामा दलभित्रका प्रिय उम्मेदवार थिए। उनीहरू सबै एजेन्डाका आधारमा लोकप्रिय बनेका थिए।
भारतको गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र दामोदर मोदी यति प्रिय भए कि भारतीय जनसंघ हुँदै भारतीय जनता पार्टीको शीर्ष नेतृत्वमा पुगे। र‚ लगातार दोस्रो पटक भारतको प्रधानमन्त्री आसीन छन्। उनलाई यो आधार पनि एजेन्डा र इमान्दारिताले नै दिएको हो।
अधिकांश लोकतान्त्रिक मुलुकमा लोकतन्त्रलाई जीवन्त बनाउने राजनैतिक दलहरू असल उम्मेदवार चयन गर्न सकिरहेका छैनन्। उनीहरूमा असल उम्मेदवार छनोट गर्ने सामर्थ्य र परिपाटीको अभाव छ। आग्रह, आवेश र आवेगमा उम्मेदवार छानिंदै आएका छन्। उम्मेदवारका आकांक्षीहरू पनि आफ्नो क्षमता, सामर्थ्य र लोकप्रियताका आधारभन्दा चाहनामा उम्मेदवार बन्ने गर्दछन्। के राज्यकौशल चाहिने विशिष्ट जिम्मेवारीका स्थानमा जो कुनै उम्मेदवार बन्न हुन्छ? यो अनुत्तरित प्रश्न आधुनिक लोकतन्त्रमा धुमिल बन्दै छ। जसका कारण राजनैतिक दल, लोकतन्त्र र शासकीय पद्धतिमाथि प्रश्नहरू थपिंदै गएका छन्।
राजनैतिक दलहरूमा असल उम्मेदवार छनोट गर्ने सामर्थ्य र परिपाटीको अभाव छ। आग्रह, आवेश र आवेगमा उम्मेदवार छानिंदै आएका छन्।
कतिपय उन्नत भनिएका लोकतन्त्रका राजनैतिक दलहरूले आकांक्षी उम्मेदवार छान्ने आन्तरिक विधि भएको जिकिर गरिरहेका छन्। त्यसमध्ये एउटा विधि दलभित्रको ‘प्राइमरी’ निर्वाचन हो। यस विधिले आकांक्षीहरूको सूची साँघुर्याउने लोकतान्त्रिक पद्धति मानिए पनि यसका थुप्रै सीमितता छन्। यो विधि अपनाउन नजाने दोधारे हतियार बन्ने गर्दछ। अमेरिका, इटाली जस्ता मुलुकमा पटक पटक उग्र दक्षिणपन्थहरू हावी भएको देख्न सकिन्छ। दलभित्र लोकतन्त्र संस्थागत नभएका मुलुकहरूमा सम्झौताका आधारमा आकांक्षी सूची तय हुने गर्दछ। कतिपले पार्टीको आन्तरिक संहितालाई औपचारिकता दिएका हुन्छन्।
एक्काइसौं शताब्दीमा सामाजिक सञ्जाल र डिजिटल अभियानका आधारमा आकांक्षीहरू लोकप्रिय बनाइने गरिएका छन्। प्रायोजनमा पनि डिजिटल अभियानको बाढी आउने गर्दछ। तर‚ कतिपय अवस्थामा दलभित्र छायाँमा परेका तर दृष्टिकोण, सामर्थ्य र राज्यकौशल पनि भएकाहरूलाई डिजिटल हस्तक्षेपले जबरदस्त स्थापित गर्छ। उदाहरणका लागि केहीअघि अमेरिकी राष्ट्रपतिको प्राइमरीमा एन्ड्रयु योङ आफ्ना आधारभूत सामाजिक न्याय (यूवीआई)का कार्यसूचीका कारण प्रिय बने। प्राइमरीमा पराजित भए पनि उनले प्रस्तुत गरेका महत्त्वपूर्ण कार्यसूची बहसमा सधैंका लागि स्थापित भयो। एउटा ठूलो समूह अहिले पनि ‘एन्ड्रयु योङ अभियान’मा छ।
आकांक्षीहरूका आआफ्नै स्वभावले उम्मेदवारलाई स्थापित गरिएको देखिन्छ। एकथरी राजनैतिक कार्यकर्ता सनातनी व्यवहार देखाएर नै उम्मेदवार बन्न चाहन्छन्। अर्काथरी आफूसँग भएको धन, शान, सौकतमा जनता सामु पुग्ने वितरणमुखी/प्रभावमुखी शैलीमा रहन्छन्। अर्काथरी चाहिं राजकीय स्रोतसाधनको दोहन/प्रभावमा स्थापित हुने स्वभावमा छन्। अर्काथरी चाहिं परिवर्तनका संवाहक बन्ने सामर्थ्यमा जनभावना जित्न चाहन्छन्। यो संख्या कम छ। यद्यपि‚ लोकतन्त्रको भविष्य उनीहरूकै उपस्थितिमा उज्यालो हुने आशा गरिन्छ।
उम्मेदवार छनोट गर्दा इमान्दार हेर्ने कि सक्षम भन्ने प्रश्न पेचिलो बन्ने गरेको छ। जनप्रिय हेर्ने कि सदाचारी भन्ने विषय फराकिलो बन्दै गएको छ। अपराधिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकाहरूको बोलवाला साठीको दशकदेखि नै भारतीय राजनीतिमा देखिंदै आयो। हत्या अभियोगीहरू विजयमाला साथ कारागारबाट बाहिरिएको फिल्मीशैलीका घटना पनि देखिए। यसले लोकतन्त्र संस्थागत नभएका दक्षिणएशियाका मुलुकहरूलाई प्रदर्शन प्रभाव पार्दै आयो।
केही व्यक्ति परिवर्तनका संवाहक बन्ने सामर्थ्यमा जनभावना जित्न चाहन्छन्। यो संख्या कम छ। यद्यपि‚ लोकतन्त्रको भविष्य उनीहरूकै उपस्थितिमा उज्यालो हुने आशा गरिन्छ।
नरम लोकतन्त्र भएका मुलुकको राजनीतिमा पेशा/व्यवसाय गरिरहेकाहरूको बोलावाला बढ्दै गएको छ। पेशा/व्यवसाय गरिरहेकाहरू राजनीतिमा आउनु हुँदैन भन्ने होइन। तर‚ उनीहरूले राजनैतिक प्रक्रियालाई विकृत बनाई नीतिगत लाभ लिने प्रवृत्तिले आसेपासे अर्थतन्त्र र आर्थिक तदर्थवाद विकास हुन जाने सम्भावना सधैं देखियो। फिलिपिन्स, थाइल्याण्ड, भारत, पाकिस्तानको राजनीति पेशावादले भिज्दै आएको छ। जो व्यक्ति जेका लागि योग्य छ, त्यही उसको कर्म हुनु सामान्य सिद्धान्त हो। जो कुनै व्यक्ति जता पनि योग्य हुने कुरा लोकतन्त्र होइन।
तेस्रो विश्वका मुलुकमा राजनीतिमा वंश, परिवार र आफन्तहरूको वर्चस्व देखिने गरेको छ। जब राजनीतिक जिम्मेवारीमा आफ्नो आग्रह रहन जान्छ, त्यति वेला लोकतन्त्र र नागरिक छुट्टिएर देशलाई गम्भीर मोडमा पुर्याएको कैयन् उदाहरण छन्। श्रीलंका, पाकिस्तान, बाङ्लादेश, भारतको इतिहास हेरौं। भारतमा परिवारवादबाट वाक्क भएका जनताले जनसंघजस्तो अनुदार दक्षिणपन्थ शक्तिलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्यो। चार पुस्तादेखि कायम रहेको परिवार राजनीति भएको भारतीय कांग्रेस अहिले कसरी अस्तित्व जोगाउने भन्ने संघर्षमा छ।
श्रीलंकाको घटनाले गोटानायक जस्ता राजनेतालाई मात्र लेखेटेन, मुलुक नै चरम आर्थिक संकटमा फस्न पुग्यो। परिवारवाद ‘गोटनायक सिन्ड्रोम’ राजनीतिक विकृतिको नयाँ शब्दावली बनेको छ। पाकिस्तानको घाराना लोकतन्त्रले जनता प्रक्रियाबाट छुट्टिएका छन्। त्यहाँ करीब १०० परिवारले मात्र राजनीतिका अवसरको उपयोग गरिरहेको छ। जनतालाई ‘डेलिभरी’ नगर्ने लोकतन्त्रको अर्थ हुन्छ र?
युरोप-अमेरिकामा परिवार व्यवस्थापन राजनीतिक उम्मेदवारको योग्यतामध्ये एक हो। तर‚ भारत, पाकिस्तान, श्रीलंका लगायत मुलुकमा परिवार नभएकाहरूको राजनीतिक साख बढिरहेको छ। यसले दिएको सन्देश बुझ्न ढिला गर्नु हुँदैन। राजनीति निमानवीकृत, असामाजिकीकरण होस् वा हुनुपर्छ भन्ने होइन तर पारिवारिक ‘लिगेसी’को राजनीतिले समाजमा निराशा फैलिएको छ।
लोकतन्त्रका नाममा सार्वभौम शक्ति धारण गर्ने प्रतिनिधिले प्रतिनिधिको कार्य गर्न सक्नुपर्छ। राज्य प्रक्रियालाई स्वचालित र निष्पक्ष पार्ने काम प्रतिनिधित्व हो। राज्यइच्छालाई संस्थागत गर्ने र नागरिकका लागि अवसर निर्माण गर्ने प्रक्रिया लोकतन्त्र हो। यहाँभन्दा बढी यसको अर्थ र परिभाषा खोज्नु आवश्यक छैन। अर्थ खोज्ने क्रममा बेअर्थको व्याख्या भएको छ।
जनता कस्ता प्रतिनिधि चाहन्छन्? कस्ता प्रतिनिधिले जनताका अपेक्षा पूरा गर्छन् भन्नेतर्फ विचार गरौं। एक्काइसौं शताब्दी सामाजिक न्याय सहितको समग्र लोकतन्त्रको समय हो। स्पष्ट दृष्टिकोण भएका प्रतिनिधिले मात्र जनभावना अनुसार काम गर्न सक्छन्। त्यसैले दलहरूले आन्तरिक रुपमा उम्मेदवार आकांक्षीहरूको तय गर्दा अवधारणा, सीप र दृष्टिकोणको परीक्षण गर्नुपर्छ। दोस्रो चरणमा जनताले परीक्षण गर्छन्।
उम्मेदवारको पृष्ठभूमि कस्तो छ? उसले समाज, परिवारमा कस्तो व्यवहार गरेको छ? सार्वजनिक र वैयक्तिक आधारमा कस्तो आचारण प्रस्तुत गरेको छ? त्यसलाई आधार मान्नुपर्छ। आकांक्षीको जीवन निर्वाहको आधार के हो? राजनीतिक प्रक्रियामा प्रवेश गरेपछि पनि जीवन कसरी धान्ने भन्ने चिन्ताले निर्वाचितलाई च्यूत बनाउन सक्छ। सबैजना किसुनजी, सुशील कोइराला र शैलजा आचार्य बन्न सक्दैनन्।
दलहरूले आन्तरिक रुपमा उम्मेदवार आकांक्षीहरूको तय गर्दा अवधारणा, सीप र दृष्टिकोणको परीक्षण गर्नुपर्छ। दोस्रो चरणमा जनताले परीक्षण गर्छन्।
उम्मेदवार निर्धारण (आन्तरिक रुपमा होस वा निर्वाचकबाट)को अर्को महत्त्वपूर्ण आधार भनेको स्वार्थ त्याग गर्ने स्वभाव र तत्परता हो। आफ्ना स्वार्थ समर्पण गर्न नसक्ने व्यक्ति सार्वजनिक जिम्मेवारीमा न रहन सक्छ न रहनु हुन्छ। यो वा त्यो बहानामा लाभ, नियुक्ति, अवसर आफन्तमा रहोस् भन्ने धारणाले लोकतन्त्र आदर्श बन्न सक्दैन‚ साँघुर्याउँछ। लोकतन्त्र स्वार्थभन्दा माथिको विषय हो। त्यसैले समकालीन राजनीतिक प्रक्रिया उम्मेदवार परीक्षणका अन्तरिक विधि अभ्यासमा असंलग्न रहिरहनु हुँदैन।
समकालीन समाजमा नैतिक नेतृत्वको माग र महत्त्व छ। जे छैन त्यसैको माग बढ्छ। के भए नेतृत्व नैतिक हुन्छ? यसको पनि सामान्य उत्तर छ- जे भन्छ, त्यही गर्ने, आन्तरिक र बाह्य रुपमा फरक एजेन्डा नभएको व्यक्ति नैतिक हो। वैयक्तिक स्वार्थ, लालसा र तृष्णाबाट अलग रहन सक्ने सामर्थ्यले व्यक्तिलाई नैतिक बनाउँछ। प्रश्न रहन सक्छ, क्षमतावान र इमान्दारमध्ये कसलाई प्राथमिकतामा राख्ने? समाजल चाहेको क्षमतावान र इमान्दार दुवै हो। तर यी दुई गुणमध्ये एकमा सम्झौता गर्नुपर्यो भने इमान्दारिता वा असल चरित्र पहिलो हो। क्षमता भएका बेइमानहरू जिम्मेवारिमा रहँदा थुप्रै विकृति देखिएका छन्। तर‚ इमान्दारहरू जिम्मेवारीमा रहे विस्तारै क्षमता विकास हुन्छ भन्ने आशा गर्न सकिन्छ।
फेरि पनि के भुल्न हुन्न भने–
‘यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः।
स यत्प्रमाणम् कुरुते लोकोस्तदनुवर्तते’।।२१।। (भागवद्गीता)
नेता समाजको शिक्षक हो। शिक्षकले चेलाहरूलाई नीति र नैतिकता सिकाउँछ। नीति र नैतिकताबाट पर रहने व्यक्ति श्रेष्ठ बन्न सक्दैन। श्रेष्ठताको द्योतन नगर्ने कसरी नेता बन्न सक्छ र?