मोरङ ३ ‘क’ मा मानबहादुर लिम्बूले दिए उम्मेदवारी
प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको मोरङ ३ ‘क’ मा नेपाली कांग्रेसका मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका मोरङको बेलबारीका लिम्बूले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन्। लिम्बू नेपाल विद्यार्थी संघका जिल्लाका पूर्व सभापति पनि हुन्।
लिम्बूको नेकपा (एमाले)का उम्मेदवार दिलीप राईसँग प्रतिस्पर्धा हुने भएको छ। राई पथरी नगरपालिकाका पूर्व मेयर हुन्।
यसअघि कांग्रेसबाट उम्मेदवार बनेका थापाको बुधबार उपचारका क्रममा निधन भएको थियो। डेंगी तथा निमोनियाका कारण निधन भएका थापा प्रदेश १ का वन, वातावरण मन्त्री थिए।
उनको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो। जस अनुसार, कांग्रेसका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो।
निर्वाचन आयोगले उम्मेदवार विरुद्ध दाबी, विरोधको प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ।