यस कारण चाहिन्छ ‘थिंक ट्यांक’
झारा टार्ने कार्यशैली भएको नेपाली परिवेशमा प्रतिष्ठान जस्ता थिंक ट्यांकले फराकिलो कार्यक्षेत्रमा प्रयोग गर्दै नीतिगत प्रभाव विस्तार गर्नुपर्ने देखिन्छ।
आधुनिक प्रजातान्त्रिक व्यवस्थाहरूमा परिवर्तन र विकासको माध्यम नीति निर्माण नै हो। तर, अधिकांश सामाजिक नीति र सामाजिक खोज दुई भिन्न तर अन्तरसम्बन्धित कारणले असफल भएको देखिन्छ। पहिलो कारण, नीतिगत हस्तक्षेपको घेरा ज्यादै साँघुरो हुनु हो। सामान्यतः समग्र प्रणालीलाई पर्याप्त ध्यान नदिई जटिल प्रणालीका एकाध क्षेत्रमा केन्द्रित हुनु। दोस्रो, नीतिगत हस्तक्षेपले आजको अवस्थालाई भन्दा बढी विगतको अवस्थालाई जोड दिन्छ। यसले नीति निर्माताहरूलाई बदलिँदो परिस्थिति अनुरूप स्वस्फूर्त रूपान्तरण हुन अक्षम तुल्याउँछ।
तीव्र गतिमा परिवर्तन भइरहेको समाजमा परिवर्तनलाई आत्मसात् गर्न नयाँ नीति निर्माणको आवश्यकता अझ बढी हुन्छ। धेरै मानिसमा प्रविधिको पहुँच विस्तार हुनु, अन्तरदेशीय र आन्तरिक बसाइँसराइ बढ्नु र सामाजिक, राजनीतिक, आर्थिक र धार्मिक वृत्तमा भएका आन्दोलनहरू चर्किनु आदि मुख्यता परिवर्तनका कारण हुन्छन्। यस्ता परिवर्तनले नीति र नीति निर्माणको प्रकृतिमा व्यापक प्रभाव पारेका हुन्छन्।
आजको जटिल संसारमा परिर्वतनसँगै समस्याहरू पनि आउँछन् र यी आपसमा जोडिएका हुन्छन्। र, तिनको प्रकृति धेरै विषयसँग सम्बन्धित हुन्छन्। ती समस्या समाधानका लागि बृहत् विश्लेषणमा आधारित भएर अन्तर्निहित कारण पत्ता लगाउनुपर्ने हुन्छ र त्यसपश्चात् सङ्गतिपूर्ण नीतिगत पहलकदमी गरिनुपर्छ।
नीति निर्माणको प्रक्रियामा ‘थिंक ट्यांक’ हरूले विविधखाले महत्त्वपूर्ण भूमिका खेल्छन्। उनीहरूले सूचना र ज्ञान तथा नीति तर्जुमा र कार्यान्वयनबीचको खाडल पुर्छन्। साथै, मौलिक अनुसन्धान र विश्लेषणका आधारमा नयाँ तथ्य निकाल्ने, नीतिगत सल्लाह दिने, सार्वजनिक नीति र कार्यक्रमको लेखाजोखा गर्ने, नीति विश्लेषकहरूको पहिचान गरी तालीम दिने र अवकाश पाइसकेका कर्मचारीहरूको विद्वत्तालाई प्रयोगमा ल्याउन सक्छन् वा भविष्यमा सरकारका प्रमुख पदमा जाने सार्वजनिक व्यक्तिलाई उपयुक्त बाटो देखाउने गर्छन्।
कर्मचारीतन्त्रको मर्यादाक्रमले कहिलेकाहीं सूचनालाई प्रभावकारी ढङ्गले प्रवाह नगर्ने मात्र होइन, सूचना विलुप्त पार्न पनि सक्छ।
थिंक ट्यांकहरूले सरकारमा भएका र बाहिर रहेका विज्ञहरूलाई एकै ठाउँमा बोलाएर तटस्थ भूमिका निर्वाह गरी नयाँ नीतिगत विकल्प पहिल्याउन सहमति बनाउन सक्छन्। उनीहरूले नीति निर्माता, सञ्चार माध्यम र सर्वसाधारणलाई शिक्षित र सक्रिय बनाउन सक्छन्।
विकसित देशहरू जस्तै अमेरिका आदिको सन्दर्भमा हेर्दा थिंक ट्यांकहरू नीति निर्माणका महत्त्वपूर्ण स्थानमा रहनुको एउटा कारण सूचना सङ्कलन, संश्लेषण र विश्लेषणमा सरकारी कर्मचारीहरूको तुलनामा थिंक ट्यांकका अनुसन्धानकर्ताहरू निपुण हुन्छन्। किनभने, कर्मचारीहरू प्रायशः राजनीतिक दबाबबाट बाँधिएका हुन्छन् भने धेरैजसो राम्रा थिंक ट्यांकहरू स्वायत्त ढङ्गले काम गर्छन्। साथै, कर्मचारीतन्त्रले धेरैजसो अवस्थामा यथास्थितिकै पक्षपोषण गरिरहेको हुन्छ। कर्मचारीतन्त्रको मर्यादाक्रमले कहिलेकाहीं सूचनालाई प्रभावकारी ढङ्गले प्रवाह नगर्ने मात्र होइन, सूचना विलुप्त पार्न पनि सक्छ।
थिंक ट्यांकहरू भने कार्यकारी र व्यवस्थापकीय कर्मचारीतन्त्रबाट अलग हुन्छन्। यसले उनीहरूलाई आफ्ना मुद्दा उठान गर्न, सम्बन्धित क्षेत्रका साझेदारहरूसँग उठबस गर्न तथा सरकारभित्र र बाहिरका संस्थाभित्र र बीचमा सहकार्य गर्ने क्षमता बढाउन सघाउँछ। यो व्यापकताबाट उनीहरूले कर्मचारीहरूको तुलनामा नीति कार्यान्वयनलाई गहिराइमा बुझ्न सक्छन्।
विकासक्रम
बीसौं शताब्दीको शुरूआतबाट नीति विश्लेषणको विकासक्रमसँग थिंक ट्यांकको विकास जोडिएको छ। यसलाई बृहत् रूपमा तीन चरणमा विभाजन गर्न सकिन्छ। पहिलो थिंक ट्यांक समूहहरू दोस्रो विश्वयुद्धअघि देखिएका थिए। दोस्रो लहर शीतयुद्धपछि शान्ति अनुसन्धान र विकास अध्ययन प्रतिष्ठानका रूपमा देखियो।
तेस्रो लहर आन्तरिक सामाजिक र आर्थिक नीतिमा प्राथमिकता सहित देखा पर्यो। तेस्रो लहर अन्तर्गत संसारभर सन् १९८० को दशकमा उम्रेका थिंक ट्यांकहरू पर्छन्, जो आजपर्यन्त चालू छन्। चौथो चरणको सङ्केत देखिँदै छ, जुन इन्टरनेट युगको उदयसँग जोडिएको छ।
राष्ट्रिय स्तरमा अनुसन्धान कोष वा बजेटको व्यवस्था भए आर्थिक दिगोपनमा थिंक ट्यांकहरूलाई काम गर्न सहज हुन्छ र उनीहरू स्वायत्त पनि बन्छन्।
एशियामा सन् १९९० को दशकयता थिंक ट्यांकको संख्यामा नाटकीय वृद्धि भएको देखिन्छ। संख्या वृद्धिको कारण पहिला बन्द रहेको एशियाली समाज शीतयुद्धको समाप्तिपश्चात् प्रजातान्त्रिक हुनु, व्यापार उदारीकरण, बजार अर्थतन्त्र र भूमण्डलीकरण आदि हुन सक्छन्। यो क्षेत्रमा विश्वविद्यालय तथा सरकारसम्बद्ध वा सरकारी पैसाले चलेका थिंक ट्यांक नै बढी छन्।
नेपालको सन्दर्भमा ‘थिंक ट्यांक’
नेपालका पहिलो लहरका थिंक ट्यांकहरूमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), शिक्षा विकास तथा अनुुसन्धान केन्द्र (सेरिड) आदिलाई लिन सकिन्छ। अहिले यीमध्ये प्रायः सबै निष्क्रिय छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट), नेपाल कृषि अनुसन्धान प्रतिष्ठान (नार्क), नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) आदि सरकारसम्बद्ध क्रियाशील थिंक ट्यांकहरू हुन्।
यी बाहेक गैरसरकारी क्षेत्रमा धेरै थिंक ट्यांक चलेका छन्। जसमध्ये सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) लगायतको इतिहास लामो छ। हामीकहाँ थिंक ट्यांकहरू क्रियाशील भइरहँदा यिनले गर्ने काम र कामको प्रभावबारे स्पष्ट हुन जरुरी छ। राष्ट्रिय स्तरमा अनुसन्धान कोष वा बजेटको व्यवस्था भए आर्थिक दिगोपनमा थिंक ट्यांकहरूलाई काम गर्न सहज हुन्छ र उनीहरू स्वायत्त पनि बन्छन्।
आज देशहरूको नीतिगत रूपान्तरण राजनीतिक परिवर्तन, सूचना प्रविधिमा विकास जस्ता कुराबाट पनि निर्देशित छ। यो रूपान्तरणमा कृत्रिम बौद्धिकता (एआई), अटोमेशन, विद्युतीय मुद्रा, साइबर र जैविक आतङ्कवाद, ब्यांकिङ तथा वित्तीय प्रणालीको विद्युतीकरण, सामाजिक सञ्जाल आदिको भूमिका छ। यी नवीन प्रविधिले संसारभर सूचनाको आकार र प्रवाह बढाउन मानवीय तथा विद्युतीय सञ्जाल वृद्धि गर्न निरन्तर भूमिका खेलिरहेका छन्। यो नयाँ परिस्थितिले तथ्य-तथ्याङ्कको ठूलो परिमाणको व्यवस्थापन र परिचालन सम्भव बनाएर व्यापार, राजनीति र सार्वजनिक नीतिलाई प्रभावित बनाइरहेको छ।
नेपालका सरकारी र निजी दुवै थरी नीति निर्माताहरूले विज्ञहरूसँग भएका ज्ञान सरकारी नीति निर्माणमा ल्याउन नसकेको साझा समस्या सामना गरिरहेका छन्। नीति निर्माताहरूसँग आफूले जुन समाजका लागि काम गरिरहेको हो, त्यसले बुझ्न सक्ने, भरपर्दो, सुलभ र काम लाग्ने सूचना हुनुपर्छ। उनीहरूले अहिलेका नीतिले के कसरी काम गरिरहेका छन्, तिनका सम्भावित विकल्प के हुन सक्छन् र तिनका लागत तथा परिणाम के हुन् भनी लेखाजोखा गर्नुपर्छ।
स्थानीय स्तरसम्म जरा फैलिएका र राम्रो सञ्जाल भएका नेपाली थिंक ट्यांकहरूले सरकारलाई उत्तरदायी बनाउन पनि भूमिका खेल्न सक्छन्।
नीति निर्माणमा थिंक ट्यांकको बढ्दो मागलाई नीति अनुसन्धान प्रतिष्ठान, नास्ट जस्ता स्वतन्त्र सार्वजनिक नीति अनुसन्धान संगठनहरूको विकास र सबलीकरण गरेर पूरा गर्न सकिन्छ। थिंक ट्यांकहरूको प्रणालीले धेरै साझेदारहरूसँग मिलेर आफ्ना लक्ष्य हासिल गर्न सञ्जाल र सहकार्य विस्तार गर्न सक्छन्। अरूसँग मिलेर काम गर्न लामो समय लाग्ने र त्यति सजिलो नहुने भए पनि त्यस्ता प्रयासले दिगो परिवर्तनको जग बसाल्छन्।
नेपालका थिंक ट्यांकहरूले सुशासन प्रक्रियामा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। उनीहरू प्राज्ञिक र नीति निर्माता समूहबीच, राज्य र नागरिक समाजबीच सेतु बन्न सक्छन्। उनीहरूले ज्ञान र शक्ति, बौद्धिक कर्म र नीतिगत कर्मबीच मध्यस्थताको भूमिका खेल्न सक्छन्। उनीहरूले सरकारी कर्मचारीहरूलाई नीतिगत तालीम दिनुका साथै सम्मेलन र कार्यशालाहरू आयोजना गर्न सक्छन्। थिंक ट्यांकहरूले समकालीन विज्ञान र सामाजिक विज्ञानमा प्रयोग भइरहेका सैद्धान्तिक र अमूर्त अवधारणालाई सबैले बुझ्ने गरी नीति निर्माता र सर्वसाधारण समक्ष प्रस्तुत गर्न सक्छन्।
स्थानीय स्तरसम्म जरा फैलिएका र राम्रो सञ्जाल भएका नेपाली थिंक ट्यांकहरूले सरकारलाई उत्तरदायी बनाउन पनि भूमिका खेल्न सक्छन्। उनीहरूले नीति कार्यान्वयनको अनुगमन गरी कुनै नीतिले खास परिणाम दिन नसकेको प्रमाण जुटाएर सरकारलाई नागरिकप्रति जिम्मेवार बनाउन सक्छन्।
नेपालमा राज्यलाई उत्तरदायी बनाउने औपचारिक संयन्त्र निकै कमजोर छ। त्यस कारण नीति अनुसन्धान प्रतिष्ठान जस्ता थिंक ट्यांकले खेल्ने भूमिका ज्यादै महत्त्वपूर्ण हुन्छ। तथापि, झारा टार्ने कार्यशैली भएको नेपाली परिवेशमा प्रतिष्ठान जस्ता थिंक ट्यांकले फराकिलो कार्यक्षेत्रमा प्रयोग गर्दै नीतिगत प्रभाव विस्तार गर्नुपर्ने देखिन्छ।
जापान, दक्षिण कोरिया, इजरायल, अमेरिका आदि देशका आर्थिक विकासको इतिहास हेर्दा अनुसन्धान र विकास (आरएन्डडी)मा भएको लगानीले विकासको शुरूआती चरणमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। आरएन्डडीबाट ती देशमा प्रमाणमा आधारित र प्रमाण निर्देशित नीति निर्माण भएका छन्। फलस्वरूप अनुसन्धान र आर्थिक विकासले फड्को मार्दै गयो। नेपालको सन्दर्भमा यहाँका थिंक ट्यांकहरूले भूगोल र विशिष्ट परिस्थितिमा गरिएका अनुसन्धानमा आधारित नयाँ ज्ञान उत्पादन गरेर सहयोगी भूमिका खेल्न सक्छन्। यसबाट प्रमाणमा आधारित नीति निर्माण सम्भव हुनेछ।
सरकार र अन्य सम्बद्ध साझेदारहरूसँग मिलेर देशभित्रै अनुसन्धान क्षमता बढाउन, संस्थागत सीमितता घटाउन र परिवर्तित परिस्थिति अनुसार नीतिगत परिवर्तनबारे कर्मचारी, कूटनीतिज्ञ र विकास साझेदारहरूलाई सचेत बनाउन सकिन्छ। हाम्रा थिंक ट्यांकहरूले आफ्नो महत्त्व सावित गर्दै समाज र देशको परिवर्तनमा प्रभाव पार्नु छ भने यो प्रक्रियामा चनाखो भएर थप परिपक्व, द्रुत, खोजमूलक र प्रविधिमैत्री काम गर्नुपर्छ।
(खनाल नीति अनुसन्धान प्रतिष्ठानकी वरिष्ठ अनुसन्धानकर्ता हुन्। हिमालको २०७९ कात्तिक अंकबाट।)