उम्मेदवारको मृत्यु भएको मोरङ ३ ‘क’ मा भोलि नयाँ उम्मेदवारी दर्ता
प्रदेश सभा सदस्यका उम्मेदवारको मृत्यु भएको मोरङ ३ ‘क’ मा निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ।
प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं मोरङ ३ ‘क’ का उम्मेदवार शेखरचन्द्र थापाको आज बिहान साढे १० बजे निधन भएको थियो। ५६ वर्षीय थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दशैं लगत्तै सामान्य स्वास्थ्य समस्या देखिएका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएपछि चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुन नसकेको भन्दै सामाजिक सञ्जाल मार्फत क्षमायाचना गरेका थिए।
उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो। केही दिनअघि डेंगीको संक्रमण देखिएका थापालाई निमोनिया पनि भएको थियो।
पथरी शनिश्चरे–८ का थापा लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय थिए। उनी यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए। उनका श्रीमती र दुई छोराछोरी छन्।
उनको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। नयाँ कार्यक्रम अनुसार, यही कात्तिक २४ र २५ गते उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ। यो क्षेत्रमा पनि मंसीर ४ गते नै मतदान हुने आयोगले जनाएको छ।