माओवादीको ‘आधार इलाका’ भत्किइसक्यो
जीवनको अधिकांश समय राजनीतिमा बिताएका रुकुम पूर्वका लजिम पुनको अहिले राजनीतिक दलसँग मोहभङ्ग भएको छ। यसरी मोहभङ्ग हुनेमा आफू मात्र नभई प्रायः सर्वसाधारण रहेको उनी बताउँछन्।
रुकुम पूर्वका ६८ वर्षीय लजिम पुन माओवादी केन्द्रका पूर्व केन्द्रीय सल्लाहकार हुन्। उनले पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म विभिन्न राजनीतिक दलमा रहेर काम गरिसकेका छन्। तर, अहिले राजनीतिक दलसँग उनको मोहभङ्ग भएको छ। आफू मात्र होइन, प्रायः सर्वसाधारण नै यो अवस्थामा पुगेको उनी बताउँछन्।
आखिर किन यस्तो अवस्था सिर्जना भयो? “गाउँमा जनता वाक्क, दिक्क निराश छन्। सबै पार्टीसँग बेखुशी छन्,” पुनले कारण सुनाए, “विकास कुनै पार्टीले गरेनन्। कांग्रेस, माओवादी, एमाले सरकारमा पटक पटक गए तर जनतालाई ढाँट्ने बाहेक केही पनि गरेनन्।”
राजनीतिक दलप्रति जनताको त्यही वितृष्णाले नै स्थानीय चुनावमा बालेन साह लगायत स्वतन्त्र उम्मेदवारहरूले विभिन्न स्थानमा जित निकालेको उनको ठम्याइ छ। आगामी मंसीरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा पनि स्वतन्त्र उम्मेदवारी दिनेको संख्या धेरै भएको पुन बताउँछन्।
“दुई चार युवाले जित्दैमा आमूल परिवर्तन देख्दिन” उनी भन्छन्, “तर दल विहीनता समस्याको समाधान होइन।”
पुनमा राजनीतिक दलप्रति वितृष्णा जन्मिनुमा भौतिक विकास नभएको मात्र रहेनछ। “इमानदारीपूर्वक काम गरे पनि त्यसको मूल्याङ्कन हुँदैन। कुनै पनि पार्टीमा हुँदैन। योगदान गरिसकेपछि त्यसको कदर भएन भने मान्छे निराश हुँदा रहेछन्,” उनले आफ्नो कुरा सुनाए, “हामी त युवा अवस्था माओवादी भएर बिताएका हौं। पार्टीले यिनीहरूको लगानी छ भनेर कुनै न कुनै पदमा राख्नुपर्ने हो नि।”
योगदानको कदर नभएको अनुभूति गरेपछि ज्यानको बाजी राखेर करीब दुई दशक योगदान गरेको पार्टी माओवादीसँगको सम्बन्ध २०७४ सालमा तोडेको पुन बताउँछन्। त्यसपछि भने उनी नेकपा (एमाले)मा जोडिन पुगे। त्यहाँ पनि धेरै समय अडिएनन्। किन त? “कम्युनिष्ट पार्टीहरूमा जनवादी केन्द्रीयता भन्ने कुरो चर्को रूपले अगाडि जाँदो रहेछ,” पुनले प्रष्ट्याए, “केन्द्रीयता भनेको नेताले भनेको कुरा हुनुपर्ने, नेतालाई मान्नुपर्ने रहेछ।”
आफ्नो संस्कारले पनि केन्द्रीयतामा रमाउन नसकेको उनी बताउँछन्। “रुकुम पूर्वका हामी मगरहरू आफ्नै किसिमले हिंड्ने, आफ्नै किसिमले काम गर्ने संस्कारमा हुर्किएका हौं,” पुनले सुनाए, “केन्द्रीयता भनेपछि सर मलाई फलानोसँग भेटाइदिनुपर्यो, सर यो मेरो कुरा भन्दिनुस् न भन्नुपर्ने। हामी आफ्नो कुरा आफैं राख्ने मान्छे। त्यहाँ त्यस्तो नमिल्दो रहेछ।”
राजनीतिक दलका नेताहरूले काम नगरे पनि‚ जनता दलहरूसँग रुष्ट भए पनि दलको विकल्प स्वतन्त्र नहुने पुन बताउँछन्। “स्वतन्त्र उम्मेदवारमध्ये केहीले जित्छन्। तर, तिनका संगठन नभएपछि के गर्न सक्छन्?” उनले इतिहास सम्झिए, “पञ्चायतकालमा पद्मरत्न तुलाधर संसद्मा कराउँथे, आफ्नो कुरा राख्थे, रुन्थे। तर, एक जना कराएर के हुन्छ! कुरा ठीक भए पनि सुनिदिने कोही थिएनन्। यो कुरा हामीले देखेका छौं।”
दलको विकल्प नभएकैले जनता बाध्य भएर उनीहरूका प्रतिनिधिलाई छान्न बाध्य भएको पुनको बुझाइ छ। “त्यो पनि चोर, यो पनि चोर भएपछि तिनीहरूमध्ये को कम चोर भनी विकल्प रोज्नुपर्ने बाध्यता जनतालाई छ,” उनी भन्छन्, “बडो दुःख छ। हाम्रो त दिन गए, युवाहरूले भविष्यमा कसरी दिन काट्छन्!”
पुन नेपालमा राजनीति र देशप्रति चिन्तित युवा कम देख्छन्। राजनीतिमा चासो लिनेहरू पनि के गर्ने भन्ने अलमलमा रहेको उनको ठम्याइ छ। आखिर किन यस्तो भयो? उनी भन्छन्, “युवाहरूलाई देशप्रेम, देश विकास यसरी गर्नुपर्छ भन्ने सरकारको नीति नै छैन। भिजन पनि नै छैन।”
देश र राजनीतिबारे चिन्ता व्यक्त गर्ने पुनसँग नजिकै आएको चुनावबारे पनि कुराकानी भयो। माओवादीको आधार इलाकाका रूपमा चिनिएको रुकुम पूर्वको अहिलेको राजनीतिक अवस्थाबारे चर्चा भयो। उनले अहिले माहोल बदलिएको दाबी गरे।
“अहिले माओवादीको आधार इलाका भत्किइसक्यो,” उनले आफ्नो दाबीलाई विश्वसनीय बनाउन केही घटनाको बेलिबिस्तार लगाए, “पुथाउत्तर गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिसक्यो। माओवादीले सात जना नेतालाई कारबाही गरिसक्यो। अब उनीहरूका आफन्तले अर्कैतिर समर्थन गर्ने भए।”
उनका अनुसार, रुकुम पूर्वमा स्वतन्त्र उम्मेदवार बलिया छन्। उनी स्वतन्त्रको जित सुनिश्चित देख्छन्। तर, पैसा र शक्तिले माहोल बिगार्न सक्नेमा पनि उनी शङ्का गर्छन्। पुन भन्छन्, “अहिलेको चुनाव कस्तो भयो भने विना पैसाको मान्छेले जित्नै सक्दैन।”
पैसाले आफ्नो गाउँको चुनावी माहोल बिगार्न सक्ने उनले देखेका छन्। “हाम्रो गाउँमा कसैले जितेर गए फर्किएर आउँदैनन्। कसैले केही गर्दैनन्,” पुनले बताए, “अनि एक परिवारलाई एक बोरा चामल दियो भने हप्ता दिन त खान्छ। त्यसैले चामल दिनेलाई पाँच सात भोट दिए के फरक पर्छ भन्ने भावना छ।”