गोरखाका ३६ मतदान केन्द्र अति संवेदनशील, उच्च सतर्कता अपनाउन सुझाव
गोरखा जिल्लाका ३१७ मध्ये ३६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति स्रोतले जानकारी दिएको छ।
दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखाका अति संवेदनशील मतदान केन्द्रहरूमा निष्पक्ष, निर्भीक र सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्न विशेष ध्यान दिनुपर्ने जानकारहरूको सुझाव छ।
पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल संवेदनशील केन्द्रमा धाँधली र बूथ कब्जा गर्न नदिन सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने बताउँछन्। “गुन्डागर्दी गर्ने र प्रभावशाली उम्मेदवार भएका केन्द्र त्यसै पनि संवेदनशील मानिन्छन्,” पूर्व डीआईजी मल्ल भन्छन्, “धाँधलीको पृष्ठभूमिबाट आएका उम्मेदवार छन् भने झनै सतर्क हुनुपर्छ।”
तुलनात्मक रूपमा गोरखा–१ भन्दा गोरखा–२ संवेदनशील मानिएको जिल्ला सुरक्षा समितिको निष्कर्ष छ। गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य संवेदनशील केन्द्र पहिचान भइसकेको बताउँछन्। उनी भन्छन्, “कुन कुन मतदान केन्द्र संवेदनशील हुन् भन्ने सार्वजनिक गर्न मिल्दैन, तर हामी चारवटै सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा प्रत्याभूति गर्न लागिपरेका छौं।”
गोरखा–२ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अब्दुस सलाम मियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुशील पन्त, नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का प्रह्लाद लामिछाने, हाम्रो नेपाली पार्टीका प्रकाश थापा, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेकपा (माले)का नारायणबाबु आचार्य, मंगोल नेशनल अर्गनाइजेशनका सोमबहादुर गुरुङ, नेपाली कांग्रेस (बीपी)का टीकादत्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कवीन्द्र बुर्लाकोटी तथा गणेश देवकोटा र विनोदकुमार गुरुङ स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धा गर्दै छन्।
त्यस्तै, गोरखा–१ मा एमालेका रामशरण बस्नेत, नेपाली कांग्रेसका राजेन्द्र बजगाईं, जनता समाजवादी पार्टीका रूपेश राना, राप्रपाका उदय भट्ट, नेमकिपाका लीलाकुमारी बुढाथोकी, मंगोल नेशनलका देवबहादुर थापा, जनसमाजवादी पार्टीका उत्तरबहादुर खड्का, रास्वपाका सुवर्ण रोकाहा र विष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरू विगतमा सामान्यतया जुन दलको दबदबा छ त्यही दलले धाँधली गर्ने गरेको बताउँछन्। कार्यवाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ ४ मंसीरमा मतदाताले निर्धक्क मतदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिन्छन्।
“भौगोलिक विकटता, जसरी पनि चुनाव जित्ने मनसाय आदिले अप्रिय अवस्था नआओस् भनेर अहिलेदेखि नै ध्यान दिनुपर्छ,” गोरखाकै मतदाता रहेका गुरुङ भन्छन्, “मतदातालाई भयरहित भएर मतदान गर्न जाने र सुरक्षित रूपमा घरसम्म पुग्ने सुनिश्चितता गर्नुपर्छ।”
प्रहरीको सरुवा नै राजनीतिक स्वार्थबाट प्रेरित हुने गरेको, कतिपयले अर्को उम्मेदवारलाई सघाउन स्वतन्त्र उम्मेदवारी दिने गरेको र विगतमा मतपत्र च्यातेका दुःखद अनुभव भएकाले पनि विशेष सुरक्षा सतर्कता आवश्यक रहेको पूर्व डीआईजी मल्ल बताउँछन्। “संवेदनशील क्षेत्रमा हेलिकोप्टर गस्ती गरेर मात्रै पुग्दैन, मतदाता र कम समर्थक रहेको उम्मेदवारले पनि निर्धक्क बोल्ने अवस्था सिर्जना गर्नुपर्छ,” मल्ल भन्छन्।