बेइमान राजनीतिकर्मी
राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ। तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य नियाल्ने हो भने अपवाद बाहेक इमानदारहरू राजनीतिबाट जहिल्यै पाखा लगाइएका छन्।
सन् १९७४ मा निर्मित एउटा हिन्दी फिल्म छ, इमान। फिल्ममा एउटा पात्रले सोध्छ, ‘इमान के हो?’ अर्काले जवाफ दिन्छ, ‘इमान त्यो हो, जुन सबैले अरूमा खोज्छन्।’ यो संवादले आजको नेपाली समाजको वास्तविकता बोलेको छ।
राजनीति नीति निर्माण गर्ने क्षेत्र भएकाले यसलाई ‘नीतिको राजा’ भनेर व्याख्या गरिन्छ। त्यसैले राजनीतिमा इमानदारी र नैतिकतालाई महत्त्वपूर्ण तत्त्व मानिन्छ। तर, के नेपालको राजनीतिमा यी तत्त्व छन्? समकालीन नेपालमा यो महत्त्वपूर्ण सवाल बनेको छ।
नेपाली समाजमा लामो कालखण्डदेखि चाकरी, चाप्लुसी, नजराना, कोसेलीपात र उपहारका नाममा भइरहेको लेनदेनलाई राजनीतिले परिवर्तन गर्न सक्नुपर्थ्यो। तर, राजनीतिक नेतृत्व आफैं नैतिक र इमानदार नहुँदा समाजमा विद्यमान गलत अभ्यास र प्रवृत्तिले राजनीतिलाई नै आफू अनुकूल उपयोग गरिरहेका छन्। समाजका सदस्यहरूले राजनीतिमा लागेर इमान र निष्ठाका साथ काम गरिरहेकाहरूलाई भन्दा धेरै पैसा भएको, चुनावमा ठूलो रकम खर्च गर्न सक्ने, कार्यकर्तालाई नगद बाँड्न सक्नेलाई सम्मानित र शक्तिशाली मान्ने गरेका छन्। समाजमा आदर्शभन्दा पैसालाई महत्त्व दिने प्रवृत्ति बढ्दै जाँदा राजनीति भ्रष्ट र बेइमानहरूको कब्जामा पुगेको छ। जसले भ्रष्टाचारको पारो तीव्र गतिमा बढाएको छ। यो स्थितिमा राजनीतिले समाजलाई इमान र नैतिकताको बाटोमा हिंडाउन नेतृत्व लिने अपेक्षा राख्नु नै असान्दर्भिक बनेको छ।
समाज विज्ञानका अध्येता जोन डिवेका अनुसार, कुनै पनि व्यक्तिको आचरण र प्रवृत्ति ऊ जन्मेहुर्केको समाज तथा सांस्कृतिक अभ्यासबाट प्रभावित हुन्छ। इमान र नैतिकता खिइँदै गएर जसरी पनि धन सोहोर्ने मनोवृत्ति मौलाएको नेपाली समाजमा हुर्किरहेका बालबालिकामा पछि पैसा कमाउन जतिसुकै अनैतिक र भ्रष्ट बन्न पनि पछि नपर्ने प्रवृत्ति देखिन सक्छ।
राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ। तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य नियाल्ने हो भने अपवाद बाहेक इमानदारहरू राजनीतिबाट जहिल्यै पाखा लगाइएका छन्। जसको कारण राजनीति बदनाम हुन पुगेको छ। देशको सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको नेतृत्व लिनबाट राजनीति नराम्रोसँग चुकेको छ।
जम्बो मन्त्रिमण्डल, महँगा गाडीको सुविधा, सरकार जोगाउन सांसद तथा मन्त्रीलाई सरकारी पैसामा विदेश भ्रमण, रातो पासपोर्ट बिक्री तथा दुरुपयोग, ललिता निवास प्रकरण, नेपाल वायुसेवा निगमभित्रका विभिन्न काण्ड, सुन तस्करी, सांसद किनबेच, विभिन्न भ्रष्टाचार काण्डमा राजनीतिक दलका शीर्ष नेताहरूकै संलग्नता लगायतका घटनाक्रमले नेपाली राजनीतिको नैतिकताहीन तस्वीर प्रष्ट्याउँछ। यस्ता घटना एकपछि अर्को भइराख्ने तर राजनीतिक शक्ति र पहुँचको आधारमा कारबाहीबाट जोगिने विकृत अभ्यास गणतान्त्रिक शासन व्यवस्थामा पनि चलिरह्यो।
इमान र नैतिकताले राजनीतिलाई शुद्धीकरण गरेर जनविश्वास जित्ने र नागरिकमाझ सरकारलाई लोकप्रिय बनाउने सामथ्र्य राख्छन्। राजनीतिको प्रमुख उद्देश्य लोककल्याण हो। समाजको कल्याण इमानदारी र नैतिकता विना सम्भव हुन्न। यसर्थ, राजनीतिमा क्षयीकरण हुँदै गएको नैतिकता र इमानदारीलाई पुनःस्थापित नगरेसम्म समाजमा देखिएका तमाम समस्याको समाधान हुन सक्दैन।
जर्मनीकी पूर्व चान्सलर एंगेला मर्केल एउटा आदर्श हुन्। १६ वर्ष चान्सलर रहेकी उनले सन् २०२१ डिसेम्बरमा पद छाड्दा नागरिकले घर बाहिर निस्किएर सम्मानस्वरूप ६ मिनेटसम्म ताली बजाएका थिए। नेतृत्वमा रहँदा पालना गरेको सदाचारिता, नागरिकप्रतिको उत्तरदायित्व, गरीबमुखी नीति, नैतिकता र निष्ठा लगायतका कारण उनी निकै लोकप्रिय थिइन्।
समाजवादी शासकले पूँजीवादी भन्दै आएका मर्केल र हाम्रा स्वघोषित ‘समाजवादी’ नेतालाई तुलना गरेर हेर्यौं भने नैतिकता र इमानदारी भएको राजनीतिक नेतृत्वले देशमा कतिसम्म सकारात्मक प्रभाव पार्न सक्छ भन्ने बुझ्न सकिन्छ। त्यसैले अब राजनीतिक वृत्त र नेतृत्वले इमान आफैंमा खोज्न जरुरी छ। त्यसले एकातिर राजनीतिमा सुधार ल्याउनेछ, अर्कातिर समाजमा इमान र सदाचार विकास गर्न योगदान गर्नेछ।
(सुशासनमा रुचि राख्ने घिमिरे समाजशास्त्री हुन्। हिमालको २०७९ कात्तिक अंकबाट।)