प्रवासीको भावनामा मिसिँदै दुबईमा नेपथ्यको कन्सर्ट
लोक-रक ब्यान्ड नेपथ्यले युनाइटेड अरब इमिरेट्सको दुबई शहरमा कार्यक्रम गरेको छ।
अवसरको खोजीमा विदेशिएका नेपालीलाई सङ्गीत मार्फत उनीहरूको पहिचानसँग जोड्न पुगेको नेपथ्यले सोमबार दुबईको विशाल परिसर ‘अल नासेर लिजरल्यान्ड’ मा कन्सर्ट गरेको हो। उक्त शहरमा ब्यान्डको यो तेस्रो कन्सर्ट हो।
दर्शकलाई नचाउने गरी 'हो रामा रामा' बाट कार्यक्रम शुरू गरिंदा अरू वेला ‘आइस हकी’ खेलिने मैदान तातिन पुग्यो। कात्तिकको तेस्रो साता सकिंदा पनि अझै न्यानो रहेको दुबईमा नेपथ्यले ‘भेडाको ऊन जस्तो’ प्रस्तुत गर्दा यो गीति भाकालाई सजाउने गरी कृत्रिम हिउँको वर्षा हुन थाल्यो।
यसपछि नेपथ्यको सार्वकालिक लोकप्रिय ‘छेक्यो छेक्यो’ देखि ‘चरी मर्यो’, ‘यो जिन्दगानी’, ‘लामपाते सुरती’ र भर्खरैको ‘शिरफूल शिरैमा’ जस्ता गीतहरू गुन्जिए। यसै गरी घरपरिवार छाडेर खाडीको तातो मरुभूमिमा कमाउन आएकाहरूको चित्र अङ्कित भिडिओलाई पृष्ठभागमा देखाउँदै ब्यान्डका गायक अमृत गुरुङले ‘मै मरिजाउँला, जीवन छोटो छ’ गाए।
यो क्रमलाई निरन्तरता दिंदै फेरि अर्को गीत प्रस्तुत गर्यो–
‘आमाको कोखमा बास मात्रै पाएँ नि, कुन देशको मरण हौ हजुर’
घरी मायालु त घरी आमाको सम्झना गराउने गीत प्रस्तुत भइरहँदा परदेशको भूमिमा आयोजित कार्यक्रममा उपस्थित नेपालीहरूका आँखा चिसिएको देखिन्थ्यो।
दर्शकको भावनासँग एकाकार हुँदै अमृत भनिरहेका थिए, “लाहुर जाने परम्परा उहिलेदेखिको हो। संसार फेरियो, तर हाम्रो भाग्य फेरिएन। जेजस्तो भए पनि त्यो नेपाल आमालाई चाहिं नबिर्सिदिनुस् है।”
त्यसपछि लाहुरे परम्परालाई सम्झाउने गरी भर्खर सार्वजनिक अर्को गीत उनले प्रस्तुत गरे–
‘नैना ताल नैना ताल
घुमि आयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल
नैना ताल’
मुलुकको राजनीतिमा धेरै उथलपुथल भए पनि नेपालीको अवस्थामा कुनै परिवर्तन नआएको उल्लेख गरिरहँदा अमृतले यसरी विदेशमा बसेका नेपालीहरू फर्केपछि सबै मिलेर एक दिन जनस्तरबाटै मुलुकको मुहार फेरिने आशा व्यक्त गरे। त्यसपछि राजनीतिक जागरणको गीत ‘गाउँ गाउँबाट उठ’ बज्दा सिङ्गो हल नै तरङ्गित बन्यो।
दर्शकमा जागेको नृत्यको यो लयलाई समात्दै ब्यान्डले ‘मै नाचें छमछमी’, ‘तालको पानी’ र ‘रेशम’ पस्कियो। अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरिरहँदा हलभरि सर्वत्र राष्ट्रिय झण्डा फहराइरह्यो।
अमृतलाई ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
कार्यक्रममा कामका सिलसिलामा दुबई र आसपासमा रहेका नेपालीहरू त जुटेकै थिए, विद्यार्थीहरू पनि आएका थिए। अमेरिकाको ‘न्यूयोर्क युनिभर्सिटी’ ले एक दशकअघि स्थापना गरेको अबुधावीस्थित विश्वविद्यालयमा पढ्ने एक हुल नेपाली विद्यार्थी राजमार्गको दुई घण्टा लामो यात्रा गरेर आएका भेटिए। तीमध्येका संयम लामिछानेले १७ जनाको समूह बनाएर आएको बताए। “सानैदेखि नेपथ्यको गीत सुनेर हुर्किए पनि ब्यान्डको कन्सर्ट हेर्ने मौका भने उच्च शिक्षाका लागि विदेश आएपछि जुर्यो,” उनले भने।
कन्सर्टका आयोजक आशिष पुरुष यो कार्यक्रम व्यावसायिक सोचभन्दा पनि लामो समयदेखिको सपनामा उभिएको आयोजना रहेको बताए। “नेपथ्यलाई ल्याएर एउटा राम्रो कन्सर्ट प्रस्तुत गर्ने मेरो त्यो सपना पूरा भएको छ,” उनले भने।