‘रुपन्देही-२ मा हामी १० हजार मतले अगाडि छौं’
‘जनताले परिवर्तन खोजेका छन्, किनभने पटक पटक चुनिएका जनप्रतिनिधिबाट उनीहरूका आवश्यकता पूरा भएका छैनन्।’
निर्वाचन आयोगले सत्तारूढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेसँगै रुपन्देही-२ चर्चामा छ। अहिले गठबन्धन राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरी चुनावमा होमिएको छ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका ५२ वर्षीय थापा २८ वर्षदेखि राष्ट्रिय जनमुक्ति पार्टीमा आबद्ध छन्। अहिले उनी कार्यकारी अध्यक्ष पनि हुन्। उनै थापासँग हिमालखबरको उम्मेदवार संवाद स्तम्भमा जीवराज चालिसेले गरेको संवादः
चुनावी प्रचारप्रसार कसरी गरिरहनुभएको छ?
आगामी चुनावलाई हामीले गठबन्धनसँगको साझा अभियानका रूपमा लिएका छौं। सँगसँगै जनताको घरदैलोमा गइरहेका छौं। यो अभियान तीव्र र सशक्त बनाउँदै लगेका छौं। जनतामा एउटा उत्साहको माहोल बनेको छ।
सत्तारूढ गठबन्धनले समर्थन गरेपछि चुनावी प्रचारप्रसार गर्न कत्तिको सजिलो भएको छ?
मूल कुरा बुझ्न आम मतदाताको मनोविज्ञानमा बुझ्नुपर्ने हुन्छ। मतदाताको चाहना यो पटक परिवर्तन ल्याउनेतर्फ देखिन्छ। परिवर्तनका लागि नयाँ मान्छेलाई पठाउनुपर्छ भन्ने कुरामा रुपन्देही-२ का जनता स्पष्ट छन्।
अहिले सत्तारूढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको छ। उसो त यो क्षेत्रमा जनमुक्ति पार्टी आफैंमा परिचित छ। यो पार्टीमा मैले २८ वर्ष बिताएको छु। म पार्टीको जवाफदेही र जिम्मेवार व्यक्ति पनि हुँ। त्यो नाताले यहाँका जनताले उपयुक्त उम्मेदवार पाएको सुनाइरहेका छन्।
अर्कातर्फ, राष्ट्रिय नीति निर्माण होस् या कार्यकारी तहका काम, त्यसका लागि गठबन्धनले उपयुक्त उम्मेदवार मलाई देखेको छ। एउटा सांसदका रूपमा केन्द्रीय तहमा गएर आफ्नो भिजन लागू गर्न सक्ने र मुलुकलाई निश्चित गन्तव्यतर्फ लैजान भूमिका खेल्न सक्ने व्यक्तिका रूपमा विश्वास प्राप्त भएको नाताले मलाई त्यो सहयोग र समर्थन आएको हो।
के कस्ता अजेन्डा लिएर मतदाताको घरदैलोमा गइराख्नुभएको छ?
हामीले दुई वटा कुरा प्राथमिकतामा राखेका छौं, सांसदको रूपमा उठाउनुपर्ने राष्ट्रिय अजेन्डा र जनप्रतिनिधिका हिसाबले पूरा गर्नुपर्ने स्थानीय अजेन्डा।
संविधान मार्फत अहिले प्राप्त उपलब्धिलाई रक्षा गर्न एउटा हस्तक्षेपकारी भूमिका चाहिएको छ। अब संसद्को गन्तव्य ती उपलब्धिको रक्षा र थप उपलब्धिको प्राप्तितर्फ हुनुपर्छ। संविधान रक्षा गर्दै यसमा रहेका कमी-कमजोरीलाई हटाएर सर्वस्वीकार्य बनाउनमा मेरो भूमिका रहनेछ।
अर्को, स्थिरताको कुरा पनि आइरहेको छ। पार्टीहरू आआफ्ना विचारमा चलेका छन्। तर, अहिले कुनै दलले मेरो विचारले मात्र देश चलाउँछु भन्ने कुरा रहेन। विगतमा केपी ओलीले संसद्को दुई तिहाइ बहुमत थेग्न नसक्नुले पनि यो पुष्टि भएको छ। त्यति मात्रै होइन, एउटै दलले बहुमत पाए मुलुक स्थिरतातिर जान्छ भन्ने भाष्य पनि गलत सावित भएको छ।
अब आआफ्ना विचारलाई कायम राखेर मुलुकको साझा गन्तव्य तय गर्न दलहरू एकजुट हुनुको विकल्प छैन। अहिलेको गठबन्धन त्यसकै स्वरूप हो। यसमा हाम्रो पनि प्रयत्न रहन्छ।
अर्को रोग भ्रष्ट्राचार हो। विश्वमा नेपाल भ्रष्ट मुलुकको रूपमा दरिंदै आउनुको कारण हामीसँग भ्रष्टाचार विरुद्धका नीतिहरू निकै नरम छन्। भ्रष्टाचारीका लागि स्वर्ग जस्तो बनाइएको छ, नेपाल। यसलाई चिर्न अब चुनिने सांसदहरूले विशेष अभियान थाल्नुपर्छ। हाम्रा राष्ट्रिय अजेन्डा यिनै सेरोफेरोमा केन्द्रित छन्।
घरदैलोमा जाँदा मतदाताले के भनिरहेका छन्?
मतदाताका धेरै कुरा राष्ट्रिय मुद्दासँग जोडिएका हुन्छन्। सुकुम्बासी समस्या एउटा उदाहरण हो। यो निर्वाचन क्षेत्रमा अव्यवस्थित बसोबासी र भूमिहीनताको समस्या ठूलो छ जसलाई एकमुष्ट सम्बोधन गर्न एउटा बलियो नीति नै खाँचो पर्छ। अहिलेका नीति केही विभेदकारी छन्, केही काम गर्न नसक्ने खालका छन्। कम्तीमा १० वर्षदेखि भोगचलन गर्दै आएकालाई अवरोध र सास्ती विना नै लालपुर्जा दिंदा के हुन्छ र? यो समस्या जहिले चुनावी मुद्दा मात्रै बनेको छ, समाधान भएको छैन।
अर्को समस्या बेरोजगारी हो। वैदेशिक रोजगारीमा जान दैनिक तीन हजार ५०० युवाले श्रम स्वीकृति लिइरहेका छन्। रोजगारीका लागि विदेश जाने जुन प्रवृत्ति छ, त्यसलाई राष्ट्रिय रूपमै चिन्तन गर्नुपर्छ। कृषि र औद्योगिक क्षेत्रको नीतिले रोजगारी सिर्जना गरोस्, तब मात्रै आर्थिक समृद्धिको कुरा आउँछ। यस्ता नीतिलाई राष्ट्रिय प्राथमिकतामा पार्न मेरो भूमिका हुनेछ।
अव्यवस्थित बसोबासी र भूमिहीनताको कुरा उठाउनुभयो। तपाईंको निर्वाचन क्षेत्रमा भूमि ऐनले नै बर्जित गरेका जोखिमपूर्ण स्थानमा पनि बस्तीहरू छन्। यो समस्या सुल्झाउन कस्तो भूमिका खेल्नुहुन्छ?
हामीले घोषणापत्रमा नै लेखेका छौं, जोखिमयुक्त क्षेत्रको बसोबासलाई उपयुक्त स्थानमा सार्ने वा आवासको व्यवस्था गरी सम्पत्तिको अधिकार सुनिश्चित गरिदिने। भूमि समस्याको समाधान भूमि वितरण मात्रै होइन भन्ने हाम्रो स्पष्ट बुझाइ छ। जहाँ ऐन अनुसार दिनुपर्ने हुन्छ, त्यहाँ लालपुर्जा वितरणमा समस्या भएन। तर, जहाँ मानिसहरू बाध्यात्मक परिस्थितिमा प्रचुर जोखिमको क्षेत्रमा बसिरहेका छन्, त्यहाँका जनतालाई एउटा उपयुक्त आवास विकासको अवधारणा अनुसार बसोबासको व्यवस्था मिलाउनुपर्छ।
यो सम्पत्तिको मात्रै होइन, जीउ रक्षाको कुरा पनि हो। तर, यो समस्या यति जटिल बनेको छ कि एउटा सांसद वा जनप्रतिनिधिले मात्रै गरेर केही हुँदैन। यसलाई त राष्ट्रिय नीतिका रूपमा व्यवस्था गर्नुपर्छ।
बुटवल जस्तो उपमहानगर रहेको तपाईंको निर्वाचन क्षेत्रमा भूमि समस्या जस्तै खानेपानी पनि स्थायी समस्या बनेको छ। यसलाई समाधान गर्न के गर्नुहुन्छ?
मैले सधैं भन्ने गरेको छु, अस्ट्रेलिया जस्तो देश, जहाँ पानीको स्रोत निकै न्यून छ, त्यहाँ सरकारले प्रविधि मार्फत जनतालाई संसारकै सबैभन्दा सुरक्षित र स्वस्थ पानी खुवाइरहेको छ। हामी त तिनाउ नदीको काखमा छौं। एउटा रसिलो पहाड (उत्तरको चुरे पहाड)को काखमा छौं। यहाँ पानीको स्रोतको कुनै कमी छैन। किनभने, हामीसँग स्वच्छ खानेपानीको मुहान नै छन्। हामीले त्यसलाई केही व्यवस्थित र शुद्धीकरण गर्ने हो भने पानीको समस्या नै आउँदैन।
तर, लामो समयदेखि पानीको समस्या किन भयो? यसमा जनप्रतिनिधि र यहाँका निकायको गैरजिम्मेवारीपन, उदासीनता र भ्रष्टाचारी चरित्रले भूमिका खेलेको छ। स्रोतको कमीले यस्तो समस्या भएकै होइन। इच्छाशक्ति र समाजप्रति समर्पित भाव नभएकाले हो। खानेपानी निकै ठूलो समस्याका रूपमा देखा नै पर्दैनथ्यो, तर अझै पनि समाधान गर्न नसकिने होइन। स्रोत र आधारहरू पर्याप्त छन्, समाधान गर्न सकिन्छ।
यसअघिका जनप्रतिनिधिले काम गरेनन् भन्नुभयो। उनीहरू विमानस्थल लगायतका विकास निर्माणका थुप्रै काम गरेका छौं भनिरहेका छन् नि?
जे संरचनाहरू बनिरहेका छन्, ती फगत निर्माण मात्रै हुन्, विकास होइनन्। निर्माण तब विकास हुन्छ, जब त्यसले प्रतिफल दिन्छ।
जस्तो- भैरहवामा विमानस्थल बन्यो। गएको जेठमा भव्य तरीकाले उद्घाटन पनि भयो। तर, अहिले हेर्नुस् त त्यहाँ जहाजको खडेरी छ। यो विमानस्थल अहिले घाटामा चलिरहेको छ। अहिले अन्तर्राष्ट्रिय उडानहरू छैनन्। त्यसको कारण भारतसँग ‘एअर रूट’ सम्झौता नहुनु हो।
३२ अर्बमा बनेको विमानस्थल मात्रै होइन, विमानस्थललाई हेरेर खोलिएका ४० अर्बका होटेलहरू पनि सुनसान छन्। छिटै ठोस नीति आएन भने विमानस्थलले प्रतिफल दिने कुरा त परै जावस्, झन् अर्को सङ्कट आइपर्नेछ।
यहाँका जनप्रतिनिधिले अहिलेसम्म निर्माणलाई नै विकास भनेर भाष्य निर्माण गरिरहेका छन्। त्यो मूल भाष्य नै गलत छ।
त्यसो भए तपाईंको विकासको भाष्य के हो?
विकाससँग आम मान्छे पनि सीधा जोडिएको हुनुपर्छ। सडक चौडा गरेर मात्रै हुँदैन। यसरी हरियाली मात्रै मासिएको छ। कम्तीमा ५० प्रतिशत हरियाली कायम हुने गरी शहरमा संरचनाको विकास गर्नुपर्छ।
बुटवल र आसपासमा पर्यटनको सम्भावना पनि छ। वरिपरि युद्धकालीन किल्लाहरू छन्। यहाँ पहाड र तराईको संयोगबाट जन्मेको मीठो संस्कृति छ। तर, हामीले कला, संस्कृति र साहित्यको केन्द्रका रूपमा यो ठाउँ अझै चिनाउन सकेका छैनौं।
खेलकूदमा पनि अत्यन्तै उत्साह भएको ठाउँ हो, यो। नेपालका कुनै यस्ता जिल्लाहरू पनि छन्, जहाँ ठूला ठूला कबर्डहल, रङ्गशाला त बनेका छन्, तर त्यहाँ खेल हेर्न दर्शक नै छैनन्। यहाँ दर्शकमा उत्साह छ। उनीहरूका लागि ठूला रङ्गशाला र कबर्डहल भने छैनन्।
अहिलेसम्म यी कुराहरूलाई शून्य अवस्थामा राखिएको छ। विकास भनेकै कंक्रिट भन्ने बुझिएको छ। ती कंक्रिटमा आत्मा छैनन्। कला छैनन्। खेल छैनन्। शहरलाई जीवन्त बनाउन अझै धेरै काम बाँकी छन्।
अन्तिममा फेरि चुनावकै प्रसङ्ग जोडौं। यो क्षेत्रबाट पटक पटक जित्दै आएका नेकपा (एमाले)का उम्मेदवार विष्णु पौडेल तपाईंका प्रतिस्पर्धी छन्। कत्तिको चुनौती महसूस गर्नुभएको छ?
विपक्षमा को उम्मेदवार छ भन्ने कुरा त्यति महत्त्वको विषय होइन। एउटा उम्मेदवारले अर्को उम्मेदवारलाई आँक्दै गर्दा त्यसलाई सामान्य कुरा मान्नुपर्छ। सत्तामा रहेका प्रधानमन्त्री पनि चुनाव हारिरहेका हुन्छन्। विश्वभरि नै यस्तो भइरहेको छ। निर्वाचन भनेकै जनमत हो। र, यो परिवर्तनशील छ।
चुनाव जित्नेमा कति आशावादी हुनुहुन्छ?
पाँच वर्षअघि चुनाव भयो। त्यति वेला स्थिरता भए समृद्धि आउँछ र त्यसका लागि बहुमत चाहिन्छ भनेर जनतालाई भनियो। जनताले त्यो कुरा पत्याए। भारी बहुमत सहितको म्यान्डेट दिए। तर, त्यसको परिणाम उल्टो देखा पर्यो। बहुमत पाएका दलमा निरङ्कुशता र अधिनायकवादी सोच आयो। व्यवस्थालाई आफ्नो काबूमा राख्ने प्रवृत्ति आयो। मुलुकलाई अस्थिरतातर्फ धकेल्न कत्ति पनि अफ्ठ्यारो नमान्ने प्रवृत्ति हावी भयो।
यो कुरा अहिले जनताले राम्रोसँग बुझिसकेका छन्। स्थानीय तहको चुनावमा यो कुरा प्रष्ट देखिएको छ। त्यसैले अब दलहरू चेत्नेछन्। जनमतबाट जुन चिज आउँछ, सबै दलले सहकार्य नगरी अगाडि बढ्न नपाउने रूपमा नै आउँछ भन्ने मलाई लागेको छ।
रुपन्देही-२ का जनताले परिवर्तन खोजेका छन्, किनभने पटक पटक चुनिएका जनप्रतिनिधिबाट उनीहरूका आवश्यकता पूरा भएका छैनन्। चुनिएर पठाउने, तर त्यसको प्रतिफल नपाउने नमीठो अनुभव यहाँका जनताले गरेका छन्। चुनावी अभियानमा हिंड्दा थाहा हुन्छ, जनता उकुसमुकुस भएका छन्। नयाँ निकास खोज्ने मूडमा छन्, मतदाता।
जनताको यो मनस्थितिले हामीलाई आशावादी बनाएको छ। उनीहरूले खोजेको नयाँ हामी हो भन्ने कुराले ढुक्कको अवस्थामा पुगेका छौं। स्थानीय तहको जनमत र गणितले पनि त्यस्तै सङ्केत गरेको छ। तथ्यगत रूपमा हेर्दा, हामी कम्तीमा १० हजार मतले अगाडि छौं। मंसीर ४ गते त्यो प्रकट हुनेछ।
थप सामग्री: