एमालेका विश्वकर्मालाई विद्रोही भुसालको चुनौती
कांग्रेस, माओवादी र एकीकृत समाजवादी एकातिर तथा जसपा र राप्रपा अर्कातिर रमिते जस्तै बनिरहेको वेला रुपन्देही-१ मा एमाले सचिव छविलाल विश्वकर्माका लागि विद्रोही उम्मेदवार घनश्याम भुसाल कडा चुनौती बनेका छन्।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिंदै जाँदा रुपन्देही-१ को चुनावी चर्चा चुलिंदै गएको छ। नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्मा र एमालेबाटै विद्रोही उम्मेदवार घनश्याम भुसालबीचको प्रतिस्पर्धाले यो क्षेत्र चर्चाको केन्द्र बनेको हो।
स्वतन्त्र उम्मेदवार भुसाललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थन छ। एमाले उम्मेदवार विश्वकर्मालाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन छ। सरसर्ती हेर्दा एमाले र एमालेकै असन्तुष्ट पक्षबीचको लडाइँ जस्तो देखिए पनि सत्तारूढ र विपक्षी गठबन्धनबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
उसो त दुवै उम्मेदवार संसदीय निर्वाचनमा नौला होइनन्। २०५१ सालयता दुवै जना पटक पटक सांसद बनेका छन्। पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा भुसाल एमालेका तर्फबाट रुपन्देही-३ बाट निर्वाचित भएका थिए। उनले ३२ हजार ८६६ मत पाएका थिए भन प्रतिस्पर्धी राप्रपाका दीपक बोहराले २७ हजार ४२२ मत पाएका थिए।
यस पटक रुपन्देही-३ मा राप्रपाका बोहरा कांग्रेसका बालकृष्ण खाँणसँग प्रतिस्पर्धामा छन्। यसअघि २०७४ सालको निर्वाचनमा खाँण समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेका थिए।
त्यस्तै, गत निर्वाचनमा विश्वकर्माले रुपेन्देही-१ बाटै निर्वाचित भएका थिए। उनले ३४ हजार ७५२ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका अब्दुल रज्जाक गद्दीले २६ हजार ८८५ मत पाएका थिए। अहिले रज्जाक प्रदेश सभा सदस्यका उम्मेदवार छन्।
२०७४ सालको मतका आधारमा यो क्षेत्रको चुनावी विश्लेषण गर्न मुश्किल छ। त्यति वेलाका प्रतिस्पर्धीबीच होइन, सहकर्मीबीच अहिले प्रतिस्पर्धा भइरहेको छ। अर्कातिर, एमाले र एमालेकै विद्रोही उम्मेदवार प्रतिस्पर्धामा भएकाले चुनावी गणित फरक बनाएको छ।
विश्वकर्मा र भुसालबीचको प्रतिस्पर्धालाई लिएर एमालेकै कार्यकर्ता पनि अन्योलमा छन्। “एमालेभित्रै पनि कोही भुसाललाई पार्टीले अन्याय गरेको ठान्छन् भने कोही अवसरवादी भन्ने गरेका छन्,” यही क्षेत्रमा पर्ने देवदह नगरपालिका-५ का उमानन्द अधिकारी भन्छन्, “मतदाताका नजरमा दुवै परिचित नाम हुन्, तर मत यसलाई नै जान्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन।”
गत स्थानीय तहको निर्वाचनमा एमाले कार्यकर्ताबीच यस्तो अन्योल थिएन। केही ठाउँमा असन्तुष्टि भए पनि रुपन्देही-१ का स्थानीय तहमा एमालेले गठबन्धनभन्दा धेरै मत ल्याएको थियो। यो क्षेत्रमा एमालेको बलियो सांगठनिक आधार थियो।
वडाध्यक्षका उम्मेदवारले पाएको एमाले, जसपा र राप्रपाको मत जोड्दा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका उम्मेदवारको भन्दा करीब १० हजार बढी छ। तर, स्थानीय निर्वाचनको मत दुरुस्तै प्रतिनिधि सभाका उम्मेदवारलाई जाने सम्भावना न्यून रहेको स्थानीय नेताहरू बताउँछन्।
एमालेका पूर्व प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय स्थानीय निर्वाचनपछि पार्टी संगठनभित्र व्यापक मत परिवर्तन भएको बताउँछन्। उनले पनि एमाले त्यागेको घोषणा गरेका छन्। “पार्टीमा असन्तुष्टि बढेको छ। पार्टीबाट धेरै बाहिरिएका पनि छन्,” उपाध्याय भन्छन्, “स्थानीय चुनावमा व्यक्ति हेरेर मत हाल्ने धेरै थिए, अहिले त्यस्तो हुँदैन।”
असन्तुष्टिको असर
रुपन्देही-१ मा एमालेभित्र अहिले दुई वटा अन्तर्विरोध देखिएका छन्। पहिलो, एमालेमा एउटा यस्तो पंक्ति छ, जो भुसालको बहिर्गमनप्रति सहानुभूति राख्छ। यो समूह भुसालसँगको निकटताले गर्दा एमाले विभाजन हुँदा एकीकृत समाजवादीतिर गएको थिएन। यो समूह खुलेर भुसालको समर्थन गर्न सकिराखेको छैन भने आफ्नै पार्टीका उम्मेदवार विश्वकर्माका लागि पनि मत माग्न जुटेको देखिंदैन।
दोस्रो, एमाले नेता विश्वकर्मासँग असन्तुष्ट समूह छ। पहिलोभन्दा यो समूह ठूलो छ। यो समूहले विभिन्न माध्यमबाट विश्वकर्मासँग असन्तुष्टि पोख्दै आएको छ। गत निर्वाचनमा भने यो समूह विश्वकर्मालाई जिताउन खटिएको थियो।
यही असन्तुष्ट समूहमध्ये एक हुन्, एमाले देवदह नगर कमिटीका पूर्व अध्यक्ष टीकाराम चापागाईं। यही समूहका बलमा उनी स्वतन्त्र उम्मेदवार बनेका छन्। गत निर्वाचनमा भने चापागाईं एमाले उम्मेदवार विश्वकर्मालाई जिताउन खटिएका थिए। उनी स्थानीय तहको चुनावमा देवदहको मेयरको टिकटका आकांक्षी थिए। तर, विश्वकर्माले सघाएनन्। जसले गर्दा चापागाईंले टिकट पाएनन्। त्यही असन्तुष्टिका कारण अहिले स्वतन्त्र उम्मेदवारी दिएको एमाले स्थानीय कार्यकर्ता बताउँछन्।
त्यस्तै, एमालेभित्रकै विश्वकर्मासँग असन्तुष्ट समूहको गुनासो स्थानीय चुनावमा भएको टिकट वितरणलाई लिएर देखिन्छ। एमालेमा लामो समय काम गरेका कार्यकर्तालाई बेवास्ता गरेर नवप्रवेशीलाई टिकट लिएको उनीहरूको आरोप छ।
हुन पनि जसपाबाट एमाले प्रवेश गरेका रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोज यादवले गाउँपालिका अध्यक्षको टिकट पाएका थिए। त्यस्तै, माओवादीबाट प्रवेश गरेकी बसन्ती पाण्डेले रोहिणी गाउँपालिका उपाध्यक्ष र निर्मालाकुमारी केवटले ओमसतिया गाउँपालिका उपाध्यक्षको टिकट पाएका थिए। नेता विश्वकर्माले उनीहरूलाई भित्र्याएर टिकट दिएको एमाले कार्यकर्ताको आरोप थियो।
जसका कारण एमाले जिल्ला कमिटी सदस्य सञ्जय गुप्ता, मीना पाण्डे, रोहिणी गाउँ कमिटी सहसचिव अनिता हरिजन, भोला क्षत्री, राज त्रिपाठी लगायतले स्थानीय निर्वाचनअघि एमाले छाडेका थिए। एमाले त्यागेकी रोहिणी गाउँपालिकाकी पूर्व सहसचिव हरिजन भन्छिन्, “पार्टीलाई हामीले दिएको योगदानको कदर भएन, नेतृत्वले हाम्रो अवमूल्यन गर्यो।”
भुसाललाई कांग्रेसको भर
एमालेभित्रको अन्तर्विरोधले लाभ मिले पनि भुसाललाई चुनाव जित्न भने पर्याप्त हुँदैन। विद्रोही उम्मेदवार भएकाले संगठित मत छैन। व्यक्तिगत रूपमा तान्ने केही मत भए पनि त्यतिले पुग्दैन। जसले गर्दा उनले कांग्रेस, माओवादी र एकीकृत समाजवादीमै निर्भर हुनुपरेको छ।
त्यस्तै, रुपन्देही-१ मा माओवादी र एकीकृत समाजवादीको सांगठनिक आधार पनि त्यति बलियो छैन। यो क्षेत्रमा एमाले र कांग्रेस नै बलिया मानिन्छन्। त्यसैले, भुसालका लागि कांग्रेस नै महत्त्वपूर्ण देखिएको छ। “माओवादी र एकीकृत समाजवादीको मत पाउन त्यति गाह्रो छैन,” भुसाल निकट एक कार्यकर्ता भन्छन्, “एमालेको असन्तुष्ट मत जति सक्दो तान्ने प्रयास छ। कांग्रेसका सबै मत तान्न कांग्रेसजनसँग सहाकार्य गरी प्रचारप्रसार गरिरहेका छौं।”
रुपन्देही-१ मा कांग्रेसको जनाधार सामान्यतः तीन ‘क्लस्टर’ मा विभाजित छ, मधेश, मुस्लिम र पहाडी। मधेशका मत पाउन कांग्रेसले रुपन्देही-१ (क)मा विश्वनाथ यादवलाई उम्मेदवार बनाएको छ। त्यस्तै, मुस्लिम मतका लागि कांग्रेसले रुपन्देही-१ (ख)मा अब्दुल रज्जाकलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ।
प्रतिनिधि सभा सदस्यमा कांग्रेसको उम्मेदवार नभएकाले ती मत तान्न प्रदेश सभा सदस्यका उम्मेदवार यादव र रज्जाकका चुनावी प्रचारप्रसार कार्यक्रममा भुसाल सहभागी हुँदै आएका छन्। त्यस्तै, कांग्रेसका अन्य उम्मेदवारका चुनावी कार्यक्रममा पनि भुसाल सहभागी भइरहेका छन्। कात्तिक ९ गते तिलोत्तमामा आयोजित एक कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणसँगै सहभागी भएका थिए।
भुसालसँग प्रचारप्रसारमा सँगसँगै हिंडिरहेका कांग्रेसका क्षेत्रीय सभापति हिरा केसी कांग्रेसले एकढिक्का भएर भुसाललाई सहयोग गर्ने बताउँछन्। “गएको महाधिवेशनबाट हाम्रो क्षेत्रमा पार्टीभित्रका अन्तर्विरोधहरू सकिएका छन्,” केसी भन्छन्, “एकढिक्का भएर घनश्याम भुसाल सहित गठबन्धनका उम्मेदवारलाई जिताउँछौं।”
यति हुँदाहुँदै पनि मतदाताको भुसालसँग गुनासो छ, आफ्नो क्षेत्र हेरेनन्। आफ्नो क्षेत्रभन्दा काठमाडौं केन्द्रित रहेका भुसालले स्थानीय समस्यामा चासो नदिएको गुनासो छ। देवदहमा भुसालको प्रचारप्रसार कार्यालय स्थापना कार्यक्रममा सहभागी हुन आएका स्थानीय अभिराम सुवेदी भन्छन्, “कुरा त राम्रो गर्नुहुन्छ, तर हाम्रा लागि काम त केही गर्नुभएको छैन।”
तथापि, एमालेको आन्तरिक विवाद र स्थानीय कमिटीमा देखिएको असन्तुष्टि विश्वकर्माका चुनौतीका रूपमा देखिएका छन्। एकातिर एमालेका मत सुरक्षित गर्नुपर्ने तथा अर्कातिर जसपा र राप्रपाको मत तान्नुपर्ने चुनौती विश्वकर्मासामु छ।
स्वतन्त्र उम्मेदवार भए पनि सत्तारूढ गठबन्धनका दलको साथ र समर्थनले भुसालको हौसला बढाएको छ। अहिलेसम्मको चुनावी अवस्था हेर्दा विश्वकर्माभन्दा भुसाल नै बलियो देखिएका छन्।