चोभार सबस्टेशन निर्माणमा भइरहेको स्थानीयको अवरोध हट्यो
काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चोभारमा १३२ केभीको सबस्टेशन निर्माणमा भइरहेको अवरोध हटेको छ।
नेपाल विद्युत् प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गर्दै आएका थिए। उक्त स्थान खेलमैदानका रूपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले विरोध गरेका थिए।
मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेशन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो।
प्राधिकरणले सर्वे, माटो परीक्षण, डिजाइन जस्ता निर्माण पूर्वका प्रारम्भिक काम सकिएको र सरकारले जग्गा उपभोग गर्न दिइसकेको अवस्थामा त्यस स्थानको विकल्पमा अन्य ठाउँमा सबस्टेशन सार्न नसकिने प्रष्ट पार्दै आएको थियो।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, उपमेयर शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खीरमान सिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेशन निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको छ। प्राधिकरणले स्थानीयले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ।
कीर्तिपुर नगरपालिका, स्थानीय क्लब, संघसंस्था, स्थानीय अगुवासँगको छलफल र सहमतिमा मागलाई सम्बोधन गरिने भएको हो। चोभारस्थित सुक्खा बन्दरगाहको प्रवेशद्वारबाट शुरू भएको करीब दुई किलोमिटर ११ केभी लाइन तथा पोल सुरक्षित नदेखिएकाले स्थानीयको माग बमोजिम लाइनलाई भूमिगत गरी प्राधिकरणले व्यवस्थापन गर्ने सहमति भएको छ।
प्राधिकरणले सबस्टेशन निर्माण तत्काल अगाडि बढाउनेछ। विद्युत् आपूर्तिको आवश्यकतालाई ध्यान दिएर सबस्टेशन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको छ।
बैठकमा मेयर नकर्मीले विकास निर्माणका काममा नगरपालिकाको सधैं सहयोग गर्ने बताए। उनले भने, “सबस्टेशन निर्माणमा जारी अवरोध हटाउनु ज्यादै अप्ठ्यारो र जटिल थियो, यसलाई समाधान गर्न सफल भएका छौं, सबस्टेशन निर्माण तत्काल अगाडि बढाएर तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ।”
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेशन निर्माणका लागि ठेक्का लागिसकेकाले चाँडै निर्माण शुरू गर्ने बताए। “काठमाडौं उपत्यका विशेषता कीर्तिपुर तथा आसपासका क्षेत्रमा विद्युत्को मागलाई सम्बोधन गर्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन चोभार सबस्टेशन ज्यादै महत्त्वपूर्ण छ। यस्ता सबस्टेशन बनाउन सकिएन भने केही वर्षमा विद्युत् उपलब्ध भएर पनि प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउनेछ,” घिसिङले भने।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धि र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले अवरोध गरिरहेका छन्। स्थानीयको अवरोधका कारण प्रसारण लाइन बनाउन नसकिएपछि प्राधिकरणले विकल्पका रूपमा चोभारमा सबस्टेशन निर्माण अगाडि बढाएको हो। थानकोटबाट चोभारसम्मको काठमाडौं खण्ड र भक्तपुरतर्फको निर्माण भने सकिएको छ।
एशियाली विकास ब्यांकको काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजना मार्फत प्राप्त हुने सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेशन निर्माण गर्न लागिएको हो। सबस्टेशनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहनेछन्।
काठमाडौं उपत्यकाको सन् २०३० सम्म ९२५ मेगावाट, २०४० सम्म १८२५ मेगावाट र २०५० सम्म ३१६९ मेगावाट उच्चतम माग हुने प्रक्षेपणका आधारमा प्राधिकरणले प्रसारण तथा वितरण पूर्वाधार सञ्जालका संरचना निर्माण कार्य योजनाबद्ध रूपमा अगाडि बढाएको छ।