धरानले फेरि गर्ला त ‘ब्यालेट’ विद्रोह?
स्थानीय चुनावमा दलीय असन्तुष्टिले स्वतन्त्रलाई जिताएको धरानले यस पटक पनि चुलिंदै गएको दलभित्रको आन्तरिक विवादका कारण फेरि ‘ब्यालेट विद्रोह’ हुन सक्ने आकलन गर्न थालिएको छ।
स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरको मेयरमा नेकपा (एमाले) र नेपाली कांग्रेसले केन्द्रबाट तोकेका उम्मेदवारलाई स्थानीय कार्यकर्ताले रुचाएनन्। कार्यकर्ताको भावना विपरीत टिकट वितरण हुँदा असन्तुष्ट मत स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ)ले पाए र विजयी बने। यो एमाले र कांग्रेस कार्यकर्ताले आफ्नै पार्टी विरुद्ध गरेको ‘ब्यालेट विद्रोह’ थियो।
मंसीर ४ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा त झन् सुनसरी-१ मा एमाले र कांग्रेसका आफ्ना उम्मेदवार छैनन्। एमालेले जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई र कांग्रेसले नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ मेन्याङ्बो (मुकेश)लाई समर्थन गरेको छ।
यसले ठूला दुवै पार्टीका कार्यकर्तामा असन्तुष्टि झनै चर्किएको छ। पहिले खुलेर विरोध नजनाएका कार्यकर्ता समेत यसपटक खुलमखुला पार्टीको उम्मेदवार नभएको भन्दै असन्तुष्टि पोखिरहेका छन्। यस्तो अवस्थामा राजनीतिक दललाई त्रासमा पारिरहेको एउटा प्रश्न हो- के धरानले फेरि ‘ब्यालेट’ विद्रोह गर्ला?
सुनसरी-१ मा धरान उपमहानगरका २० वटै वडा, बराहक्षेत्र नगरका वडा नंं १, २, ३, ४, ५ र रामधुनी नगरका वडा नं. ६ र ७ पर्छन्। यो क्षेत्रमा रहेका २७ वडामध्ये गत स्थानीय तह निर्वाचनमा एमालेले १३ र कांग्रेसले ११ वटा वडामा अध्यक्ष जितेका छन् भने माओवादी, राप्रपा र स्वतन्त्र उमेदवारले एक-एक वडा जितेका छन्।
स्थानीय तह निर्वाचनमा वडागत रूपमा एमालेका वडाध्यक्षका उम्मेदवारले ३३ हजार ४५३ मत पाएका छन् भने कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २४ हजार ९२१ मत पाएका छन्। त्यस्तै, माओवादीका वडाध्यक्षका उम्मेदवारले चार हजार ७५४ मत र राप्रपाका वडाध्यक्षका उम्मेदवारले तीन हजार ६४ पाएका छन्।
यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट माओवादीका मुकेश र एमाले नेतृत्वको विपक्षी गठबन्धनबाट जसपाका संघीय परिषद् अध्यक्ष राई उम्मेदवार छन्। पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै एमाले नेता मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यससँगै एमाले-कांग्रेसको आन्तरिक विवाद, उम्मेदवारको व्यक्तित्व र जातीय भावना लगायतले चुनावमा प्रभाव पार्ने देखिन्छ।
एमाले-कांग्रेसको आन्तरिक असन्तुष्टि
२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका जयकुमार राई र कांग्रेसको समर्थनमा तत्कालीन संघीय समाजवादी फोरमका अशोककुमार राईबीच प्रतिस्पर्धा भएको थियो। त्यस वेला जयकुमार ४४ हजार ५२८ मत पाएर विजयी भएका थिए। फोरमका अशोकले २२ हजार १२३ मत मात्रै पाएका थिए।
यस पटक पनि अशोकले शुरूआतमै सुनसरी-१ बाट उठ्ने घोषणा गरेपछि उनै गुरु-चेलाबीच प्रतिस्पर्धा हुने अनुमान थियो। किनकि, अशोक आबद्ध जसपा सत्तारूढ गठबन्धनमा थियो। तर, एकाएक राजनीतिक समीकरण फेरियो। एमालेबाट एकल सिफारिशमा परेका जयकुमारको अन्तिम समयमा टिकट खोसियो भने जसपाका अशोक प्रतिस्पर्धी बने।
जयकुमारको एकल सिफारिश भएसँग अशोकको विरोध गर्दै ‘टुरिस्ट उम्मेदवारलाई भोट दिनु हुन्न’ भनेर अभियान चलाइरहेका एमाले कार्यकर्ता पार्टी केन्द्रको निर्णयबाट छाँगाबाट खसे झैं भए। त्यसको खुलेरै विरोध गर्न थाले। तिनैमध्ये एक हुन्, एमालेका प्रदेश सचिवालय सदस्य मनोजकुमार मेन्याङ्बो।
मनोजले ‘पार्टीले हैकमवादी प्रवृत्ति देखाएको’ भन्दै असन्तुष्ट कार्यकर्ताको भेला आयोजना गरेर निर्णय सच्याउन माग गरे। केन्द्रले निर्णय नसच्याएपछि प्रदेश कमिटी सदस्य किशोरकुमार कार्की लगायतका असन्तुष्ट कार्यकर्ताको समर्थनमा मनोजले स्वतन्त्र उम्मेदवारी दर्ता गराए। धरानका पूर्व मेयर समेत रहेका मनोज अन्य उम्मेदवारका लागि चुनौती बनेका छन्।
एमालेका मात्र होइनन्, कांग्रेस र अन्य पार्टीका कार्यकर्ता पनि मनोजको पक्षमा प्रचार गरिरहेका छन्। “अस्तिसम्म अशोक राई खराब हुन् भन्दै हिंडियो, अहिले त्यही ठाउँमा उनी असल हुन् भनेर भोट माग्न कसरी जानु?” एमालेका एक स्थानीय नेता भन्छन्, “अप्ठ्यारोमा परियो। पार्टीको निर्णय भएकाले कार्यक्रममा त देखिनै पर्यो, तर मतदान गोप्य भएकाले आफ्नो विवेक प्रयोग गर्छौं।”
यो क्षेत्रमा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुँदै आएको छ। विगतमा पनि आन्तरिक गुटबन्दी हुने कांग्रेसमा यस पटक आफ्नो उम्मेदवार नभएपछि झन् असन्तुष्टि बढेको छ। यसमा गत स्थानीय चुनावको नतीजा पनि कारक बनेको छ।
गठबन्धनबाट धरानको मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघा उम्मेदवार थिए। माओवादीका अइन्द्रविक्रम २० हजार ५१० मत पाएर निर्वाचित हुँदा कांग्रेसका मेयरका उम्मेदवार किशोर भने १६ हजार ५९ मत मात्र पाएर पराजित भए।
यसलाई कांग्रेस कार्यकर्ताले ‘माओवादीले धोका दिएको’ बताइरहेका छन्। कांग्रेसका धेरै वटा बैठकमा ‘स्थानीय चुनावमा धोका दिने माओवादीलाई अहिले हामी किन भोट दिने’ भनेर कार्यकर्ताले प्रश्न पनि गरेका छन्। कांग्रेसका एक नेता भन्छन्, “पार्टीको नीति गठबन्धनकै उम्मेदवारलाई भोट दिनुपर्छ भन्ने हो, तर सबै कार्यकर्ताको जिम्मा लिन सकिंदैन।”
एमाले र कांग्रेसको असन्तुष्ट मत यसपटक पनि स्वतन्त्र उम्मेदवारलाई जाने सम्भावना देखिन्छ। यसको सबैभन्दा बढी फाइदा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका मनोजलाई हुन सक्छ।
उम्मेदवारको व्यक्तित्व
सुनसरी-१ का उम्मेदवारमध्ये सबैभन्दा ‘हाई प्रोफाइल’ नेता हुन् अशोककुमार राई। जसपाका संघीय परिषद् अध्यक्ष अशोक एमालेमा रहँदा पनि पार्टीका उपाध्यक्ष थिए भने मन्त्री बनिसकेका थिए। भूमिगत कालदेखि नै कम्युनिष्ट राजनीति गरेका अशोकले पूर्वमा धेरैलाई कम्युनिष्ट बनाएका थिए।
उनले २०४८ सालमै सुनसरी-१ बाट उम्मेदवार बन्ने तयारी गरेका थिए। तर, पार्टीले मनमोहन अधिकारीलाई टिकट दियो। त्यस वेला अशोकको पक्षमा उभिएका मनोज अहिले उनकै विरोधमा मैदानमा उत्रिएका छन्।
त्यसयता अशोक खोटाङबाट चुनाव लड्दै आएका थिए। अधिकांश समय काठमाडौंमा रहेर राजनीति गरे। एमालेमा छँदा स्थानीय कार्यकर्तासँग राम्रै पकड भएका उनले नयाँ पार्टी खोलेर गएपछि भने पुराना कार्यकर्तासँग सम्बन्ध जोगाइराख्न सकेनन्। खोटाङ र काठमाडौं केन्द्रित हुँदा धरानको विकासमा पनि खासै योगदान दिन सकेनन्।
फलस्वरूप २०७४ सालमा आफ्नै पुराना कार्यकर्ता जयकुमारसँग पराजित भए। त्यति वेला एमाले कार्यकर्ताले ‘टुरिस्ट उम्मेदवार’ भनेर प्रचार गरेका थिए। यसपटक भने उनले धरानमा घर किनेका छन्।
यो क्षेत्रमा जसपाको प्रभाव छैन। उनलाई साथ दिएको एमालेभित्रै आन्तरिक कलह चर्किंदा चुनौती बनेको छ।
सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका मुक्सामहाङ मेन्याङ्बो पनि पार्टीभित्र माथिल्लो तहसम्म पहुँच भएका नेता मानिन्छन्। तर, स्थानीय कार्यकर्ता र आम मतदातासँग घुलमिल हुन सकेका छैनन्। अन्तर्मुखी स्वभावका कारण पनि उनलाई कार्यकर्ता तथा मतदातासँग घुलमिल हुन सकस भएको उनी निकट नेताहरू बताउँछन्।
माओवादी पनि यो क्षेत्रमा आफ्नै बलमा जित्ने अवस्थामा छैन। उनको जितका लागि कांग्रेसकै मत पाउनुपर्छ। तर, कांग्रेसभित्र उनको पक्ष र विपक्षमा बहस भइरहेकै छ।
यससँगै मुकेशकै पार्टी माओवादीका कार्यकर्ता पनि सन्तुष्ट छैनन्। यो क्षेत्रबाट किरणकुमार राईको नाम एकल सिफारिश भएको थियो। २०६४ सालमा संविधानसभा सदस्य जितेका किरणलाई पन्छाएर मुकेशले अन्तिम समयमा टिकट पाएका हुन्।
अर्को, धरानमा माओवादीभित्र पनि दुई गूट छन्, वर्षमान पुन र जनार्दन शर्मा। धरानका उपमेयर अइन्द्रविक्रम बेघा जनार्दन गुटका नेता भनेर चिनिन्छन् भने मुकेश वर्षमान गुटका नेताका रूपमा परिचित छन्। दुवै गुटबीच पहिलेदेखि नै विवाद छ। २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका मुकेश एमालेका कृष्णकुमार राईसँग पराजित भएका थिए।
गठबन्धनका उम्मेदवारका लागि स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बो चुनौती बनेका छन्। धरानको मेयर तथा उपमेयर भएर काम गरिसकेका उनी स्थानीय बासिन्दाबीच परिचित पनि छन्। स्थानीय तहको चुनावमा धरानको मेयरका लागि एमालेबाट उनको पनि नाम सिफारिश भएको थियो। अन्तिम समयमा टिकट काटिएपछि उनले सामाजिक सञ्जालबाट असन्तुष्टि व्यक्त गरेका थिए।
त्यति वेला उनका समर्थकले स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई सघाएको एमाले नेताहरूले आरोप लगाएका थिए। यसपटक पनि धरानका व्यापारी, व्यवसायी समुदाय र एमाले-कांग्रेसका असन्तुष्ट नेता तथा कार्यकर्ता उनको पक्षमा देखिएका छन्।
त्यस्तै, सुकुम्बासीको संस्था नेपाल बस्ती बसोबास संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार छन्। लामो समय एमाले निकट भनेर चिनिएका कुमारको सुकुम्बासी बस्तीमा राम्रै प्रभाव छ। यो क्षेत्रमा सुकुम्बासी मत ३० हजारभन्दा बढी छ।
विगतमा दलहरूबीच सुकुम्बासी बस्तीका मतदातालाई प्रभावित पार्न प्रतिस्पर्धा चल्थ्यो। त्यसका लागि दलहरू उनै कुमारलाई साथ लिन चाहन्थे। यसपटक उनी नै उमेदवार भएकाले सुकुम्बासी मत तान्न सक्ने आकलन छ।
यद्यपि, उनी पनि विवादरहित छैनन्। उनीमाथि सुकुम्बासीका नाममा सरकारी जग्गा बिक्री गर्ने, सुकुम्बासीबाट पैसा उठाउने, गैरसुकुम्बासीलाई पनि पैसा लिएर सुकुम्बासी बस्तीमा जग्गा मिलाइदिने गरेको जस्ता आरोप लगाउने गरिएको छ। सुकुम्बासीले नै उनलाई ‘करोडपति सुकुम्बासी’ भन्ने गरेका छन्। सर्दु खोला किनारमा बस्ने एक सुकुम्बासी प्रश्न गर्छन्, “पक्की घरमा बस्ने, कार चढेर हिंड्ने पनि सुकुम्बासी हुन्छन्?”
उनीहरूसँग सुनसरी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरिन ख्युङ्वा तामाङ, राप्रपाका अशोक अविरल राई, स्वतन्त्रबाट मातृकाप्रसाद भट्टराई, विजयकुमार राई, कुलबहादुर लिम्बू, कृष्णकुमार राई लगायत प्रतिस्पर्धामा छन्। उनीहरूले पनि केही मत तान्न सक्ने भएकाले त्यसको असर ठूला दलका उम्मेदवारलाई पर्ने निश्चित छ।
जातीय भावना
सुनसरी-१ जातीय हिसाबमा आदिवासी जनजाति समुदायको बाहुल्य रहेको क्षेत्र हो। पछिल्लो समय राजनीतिक दलले पनि जनजाति नेतालाई नै उम्मेदवार बनाउने गरेका छन्।
हुन् त यहाँबाट मनमोहन अधिकारी र कुन्ता शर्मा निर्वाचित भएका थिए। दलहरूमा सैद्धान्तिक विचलन आएसँगै कार्यकर्ता पनि आफ्नो समुदायको मान्छे भन्न थालेका छन्। जसले गर्दा दलहरूले पनि आदिवासी जनजाति समुदायकै उम्मेदवार बनाउने गरेका छन्।
जनसंख्यामा सबैभन्दा धेरै राई रहेको यो क्षेत्रमा जातीय भावना हावी हुँदा जसपाका अशोककुमार राईलाई फाइदा पुग्न सक्छ। तर, उनको पक्षमा सबै राई समुदाय एकमत देखिंदैन। राईमा पनि भोजपुरे र खोटाङ्गे भावना छ। भोजपुरे जयकुमारको टिकट खोसेर खोटाङ्गे अशोक उम्मेदवार बनेकाले पनि असन्तुष्टि देखिन्छ। यो विवाद मिलाउन सक्यो भने अशोकलाई फाइदा पुग्न सक्छ।
माओवादी उम्मेदवार मुकेश र स्वतन्त्र उम्मेदवारी दिएका मनोजबीच पनि दाजुभाइ नाता पर्छ। लिम्बू समुदायको मत दुवैलाई बाँडिने देखिन्छ। यससँगै अन्य समुदायको मत पनि यहाँ महत्त्वपूर्ण देखिन्छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि धरानका २० वटै वडामा गरी एक लाख चार हजार, बराहक्षेत्रमा पाँच वडामा २७ हजार ८६ र रामधुनीका दुई वडामा १० हजार ६७४ मतदाता छन्। सबै गरेर सुनसरी-१ मा एक लाख ४१ हजार ८७८ मतदाता छन्। अहिलेसम्मको माहोलले तीनै उम्मेदवारबीच प्रतिस्पर्धा देखिए पनि धरानमा हुने गरेको ‘ब्यालेट विद्रोह’ यस पटक पनि निर्णायक हुने आकलन गर्न थालिएको छ।