बाङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा
बाङ्लादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान पनि आईसीसी पुरुष टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार दिउँसो भएको खेलमा पाकिस्तानले सहज जित निकालेको हो। बाङ्लादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले पाँच विकेट गुमाउँदै १८.१ ओभरमा पूरा गरेको छ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले ३२, मोहम्मद हरीशले ३१, बाबर आजमले २५ र सान मक्सूदले २४ रन बनाए।
बाङ्लादेशका लागि नसुम अहमद, सकिब अल हसन र इबादत होसैनले एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको बाङ्लादेशले आठ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। बाङ्लादेशका लागि नजमुल हुसैन सान्टोले ५४, अफिफ हुसैनले २४, सौम्य सरकारले २० र लिन्टन दासले १० रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
पाकिस्तानका लागि शहिन शाह अफ्रिदीले चार, शदाब खानले दुई तथा हरीश रौफ र इफ्तिहार अहमदले एक–एक विकेट लिएका थिए।
यसअघि भएको खेलमा दक्षिण अफ्रिका पराजित हुँदा लिग चरणमा दुई खेल हारेर पनि पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो। दक्षिण अफ्रिका नेदरल्यान्डस्सँग १३ रनले पराजित भएको थियो। नेदरल्यान्डस्ले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका १४५ रनमै समेटिएको थियो।
त्यस्तै, अन्तिम खेल बाँकी छँदै भारत पनि समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ। भारत लिग चरणको अन्तिम खेल आज साँझ जिम्बाबेसँग खेल्दै छ।
त्यस्तै, समूह ‘ए’ बाट न्यूजिल्यान्ड र इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
आज साँझ हुने भारत र जिम्बाबेबीचको खेलबाट सेमिफाइनलका प्रतिस्पर्धीको तय हुनेछ।