‘मानो रोपेर मुरी फलाउने दिन गए’
सिंचाइ अभावका कारण धानको बेर्ना राख्न नपाउँदा बारा, पर्सा र रौतहटका किसानले धानको बेर्ना नै राख्न पाएका छैनन् ।
तीन जिल्लाका किसानको लागि जीवनरेखा मानिएको गण्डक नहरमा भारतले पानी नछाेड्दा नआउँदा उनीहरुले धानको बेर्ना राख्न नपाएका हुन् ।
बेर्नासमेत राख्न नसकेपछि चिन्ता थपिएको पर्सा जगरनाथपुरका किसान हरिदेवले बताए ।
“आकाशे पानीको भरमा थोरै बीउ लगाइएको भए पनि अत्यधिक गर्मीका कारण पानीको अभावमा त्यो पनि डढ्न थालेको छ”, उनले भने "मानो रोपेर मुरी फलाउने योजना अधुरै रहने भयाे ।"
बारा, पर्सा तथा रौतहटलाई अन्नको भण्डारको रुपमा मानिदै आएको छ ।
केही दिनयता फाटफुट पानी परे पनि पर्याप्त मात्रामा सिंचाइ नभएकोले आवस्यकता अनुसार धानको बेर्ना लगाउन नसकिएको गुनासो अर्का किसान मनोज साह कानुको छ ।
पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।
पानीको अभावमा यस वर्ष ती जिल्लामा हालसम्म २० प्रतिशत मात्र धानको बीउ राख्न सकिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
गण्डक नहरमा समयमा पानी न आउँदा यो वर्ष धान उत्पादनमा कमी आउने अनुमान केन्द्रको छ ।
गण्डक नहरबाट यी तीन जिल्लाका ३७ हजार हेक्टर क्षेत्रफलमा सिँचाई गरिन्थ्यो। भारतीय पक्षले नहरमा पानी नछोड्दा केही किसानले साना खोलाको पानी सदुपयोग गरी धानको बेर्ना लगाएका छन् ।
तर अत्यधिक गर्मीका कारण स्थानीय खोलाको पानी सुकेसँगै लगाएको धानको बेर्ना पनि सुक्न थालेका किसान शेषमन पण्डितले बताए ।
नेपाल भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नदीमा ८५० क्युसेक पानी छोडनुपर्ने हुन्छ तर भारतीय पक्षले नहरमा सम्झौताअनुसार पानी नछोड्ने गरेको गुनासो किसानको छ ।