निम्सदाइको नामबाट नयाँ वनस्पतिको नामकरण
म्याग्दीको मोरेनीमा भेटिएको नयाँ प्रजातिको वनस्पतिलाई अध्येताद्वय भक्तबहादुर रास्कोटी र रीता आलेले आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को नामबाट नामकरण गरेका छन्।
आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको ६ महीना ६ दिनमा सफल आरोहण गरेर चर्चामा आएका आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ संसारभर नै परिचित छन्। पाकिस्तानस्थित ‘किलर’ हिमाल भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल ‘केटू’ को २०७७ माघ २ गते आरोण गरेर कीर्तिमान बनाए। हिउँदमा केटू आरोहण गर्ने उनको पहिलो आरोहण दल थियो।
आरोहणकै विषय समेटिएको उनको बियोन्ड पोसिबल पुस्तकले पनि चर्चा बटुलेकै छ। अझ १४ वटा हिमाल आरोहणलाई समेटेर निर्माण गरिएको वृत्तचित्र फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल नेटफ्लिक्सबाट प्रसारण भयो। जसले उनको ख्याति झन् बढायो।
आरोहणसँगका कीर्तिमान त छँदै छन्, वनस्पति अध्येताद्वय भक्तबहादुर रास्कोटी र रीता आलेले उनकै नामबाट एक वनस्पतिको नामकरण गरेका छन्। यो विश्वभर उल्लेख्य संख्यामा उद्धृत हुने प्लोस वन जर्नलको १९ अक्टोबर २०२२ मा ‘अ न्यू स्पेसिज अफ इम्पेसन्स् एन्ड अपडेटेड चेकलिस्ट अफ बाल्सामिनेसी इन नेपाल’ शीर्षकमा प्रकाशित छ।
संसारभर फूल फुल्ने वनस्पतिका ४१६ परिवारमध्ये एउटाको नाम बाल्सामिनेसी हो। यो परिवार अन्तर्गत हाइड्रोसेरा र इम्पेसन्स् गरी दुई जाति समावेश छन्। हाइड्रोसेराको एउटा प्रजाति दक्षिणएशियाका पाकिस्तान र नेपालबाहेक अन्य सबै देश सहित दक्षिण-पूर्वी एशियामा पाइन्छ। भारत र बाङ्लादेशमा पाइएको वनस्पति नेपालमा नपाउनु भनेको अध्ययनको कमी हुनुपर्छ।
इम्पेसन्स् जाति अन्तर्गत संसारभर करीब एक हजार प्रजाति सूचीकृत छन्। दक्षिणएशियाका धेरैजसो वनस्पति मध्य तथा दक्षिण अमेरिकामा उत्पति भएको मानिन्छ। तर, इम्पेसन्स् चाहिं मध्य तथा दक्षिण अमेरिकामा विश्वको अन्य भागबाट पछि लगिएको मानिन्छ। यस्तै, यो जातिको वनस्पति अस्ट्रेलिया र न्यूजिल्यान्डमा पनि पछि लगिएको हो।
अध्यता भक्तबहादुर रास्कोटीले म्याग्दीको मोरेनीमा २५ अगस्ट २०११ मा इम्पेसन्स् जाति अन्तर्गतको एक वनस्पतिको नमूना सङ्कलन गरेका थिए। धौलागिरि गाउँपालिकास्थित लुलाङभन्दा उत्तर-पश्चिम समुद्री सतहबाट दुई हजार आठ-नौ सय मिटर उचाइको भूसतहमा भेटिएको नमूना अध्ययनका क्रममा संसारकै लागि नयाँ भन्ने पत्तो लाग्यो।
नयाँ नमूना पत्ता लागेपछि वैज्ञानिक नामकरण गरिन्छ। वनस्पतिको वैज्ञानिक नाम दुई वटा शब्दबाट जनाइन्छ। अघिल्लो शब्दलाई ‘जेनेरिक नेम (जातीय नाम)’ र पछिल्लो शब्दलाई ‘स्पेसिस इपिथेट (प्रजाति विशेषण वा विशिष्ट उपनाम)’ भनिन्छ।
निर्मल पुर्जा म्याग्दीमा जन्मेका हुन्। अध्येता रास्कोटीले स्पेसिस इपिथेटका निम्ति निर्मल पुर्जाको उपनाम ‘निम्सदाइ’ रोजे। यसरी नयाँ भेटिएको वनस्पतिको वैज्ञानिक नाम ‘इम्पेसन्स् निम्सपुजाई’ रहन पुग्यो।
इम्पेसन्स् निम्सपुजाई
इम्पेसन्स् प्रजातिको फूलको आकृति अत्यन्त सुन्दर र लगभग अन्य वनस्पति परिवारको भन्दा फरक देखिन्छ। यसमा प्रायः तीन वटा पुष्पदल हुन्छन्। फूलको पछाडिपट्टि तलतिर झुन्डिएको सोली जस्तो आकृति हुन्छ। यो तल्लोपट्टिको पुष्पदल हो। पुष्पदलको टुप्पो साघुँरो कुनै सीधा, कुनै बाङ्गिएको हुन्छ।
चौडा भाग बाहेक साँघुरिएको खण्डलाई स्पर भनिन्छ। इम्पेसन्स् प्रजाति विशेषको स्परको आकृति अक्सर फरक हुन्छ। तर, तल्लोपट्टिको पुष्पदलमा स्पर नभएका इम्पेसन्स् पनि हुन्छन्। अध्येता रास्कोटीले म्याग्दीमा फेला पारेको इम्पेसन्स् ब्राचिसेन्ट्राको स्पर हुँदैन। यो प्रजातिका बाँकी दुई वटा पुष्पदल दुवैतर्फ साना हुन्छन्।
फूलको अर्को आकर्षक भाग पुष्पपत्र हो। यो प्रजातिको पुष्पपत्र दुवैतिर दुई-दुई वटा जोडिएका हुन्छन्। पुष्पपत्र जोडिएर रहनु इम्पेसन्स्को विशेष गुण हो। पछाडितिरको पुष्पपत्र भने केही गोलाकार आकृतिमा गोमन सर्पको फुलाइको मुखाकृति जस्तो हुन्छ। पुष्पपत्रको आकृतिबाट पनि प्रजाति पहिचान हुन्छ।
अध्येताद्वय रास्कोटी र आलेले ‘इम्पेसन्स् निम्सपुजाई’ को रेखाचित्र पनि कोर्न लगाएका छन्। वनस्पतिका चित्र कोर्ने व्यावसायिक चित्रकार नीरा जोशी प्रधानले कोरेको सिङ्गो बोट, पात, फूल, फूलमा भएका पुष्पदल (सेपल/क्यालिक्स), पुष्पपत्र (पेटल/कोरोल्ला), गर्भाशय (ओभरी), फल र बीउ समेतको रेखाचित्र दुरुस्त छ।
यस्तै, फूलको मात्र भिन्न भिन्न दिशाबाट खिचिएका चार तस्वीर पनि छन्। यसबाट यो प्रजातिको विभिन्न भाग आकृति के कस्तो बनावटको छ भन्ने स्पष्ट हुन्छ।
इम्पेसन्स् निम्सपुजाईको बोट एक मिटरसम्म अग्लो हुन्छ। यसको फूलको संरचना इम्पेसन्स् रेडिएटा, इम्पेसन्स् हाराइ, इम्पेसन्स् वालिची र इम्पेसन्स् अर्टिसिफोलियासँग मिल्दोजुल्दो देखिन्छ। तर, इम्पेसन्स् निम्सदाइको पातको आकृति केही फरक छ। यसको पातमा भेट्नु हुँदैन। पातको फेदभन्दा टुप्पो चुच्चो हुन्छ। यस्तै, पछाडिपट्टिको पुष्पपत्र करीब गोलाकार हुन्छ। यसको स्परको फेदतर्फ निकै फराकिलो हुन्छ।
रैथाने इम्पेसन्स्
‘अ न्यू स्पेसिज अफ इम्पेसन्स् एन्ड अपडेटेड चेकलिस्ट अफ बाल्सामिनेसी इन नेपाल’ शीर्षकबाट प्रष्ट हुन्छ, यो लेख इम्पेसन्स् निम्सपुजाईमा मात्र केन्द्रित छैन। लेखमा अहिलेसम्म पाइएको इम्पेसन्स्को नालीबेली सहित सबै जानकारी छ। जस अनुसार, संखुवासभामा पत्ता लागेको एक प्रजाति अहिलेसम्म नेपालको रैथाने हो। यसको नमूना सर्वप्रथम हेदाङ्नाभन्दा मास्तिर कश्वा खोला नजिकबाट दुई हजार आठ सय मिटर उचाइमा सङ्कलन गरिएको थियो।
बेलायतको क्रिस्टोफर ग्रे-विल्सनको खोज अनुसन्धान टोलीले ८ सेप्टेम्बर, १९८१ मा नमूना सङ्कलन गरेको थियो। त्यो नमूनालाई ग्रे-विल्सनले सन् १९८९ मा बेलायतबाट प्रकाशित हुने द क्यू बुलेटिन मा ‘इम्पेसन्स् अरुनेन्सिस्’ नामकरण गरेका थिए।
यसको अर्को नमूना त्यही टोलीले १५ अगस्ट १९८१ मा सङ्कलन गरेको थियो। त्यो टोलीमा वनस्पति विभागको प्रतिनिधि तथा वनस्पति विज्ञ केशवराज राजभण्डारी पनि सहभागी थिए। ग्रे-विल्सनको टोलीले सङ्कलन गरेको नमूना बेलायतको रोयल बोटानिकल गार्डेन्स, लन्डन र रोयल बोटानिकल गार्डेन, इडिनबर्गमा संगृहीत छ। नेपालमा भने सिटिजन साइन्टिस्ट ला दोर्ची शेर्पाबाट सङ्कलन गरिएको नमूना मात्र नेशनल हर्बेरियम एन्ड प्लान्ट ल्याबोरेटरी, गोदावरीमा संगृहीत छ।
अर्को रैथाने इम्पेसन्स् बाजुराको काउमेगाउ-बाबालीबाट सङ्कलन भएको छ। जापानका वनस्पतिविद् एम. सुजुकीको नेतृत्वको टोलीले २९ अगस्ट १९९१ मा एक हजार ५२० मिटरको उचाइमा नमूना सङ्कलन गरेको हो। यसलाई एस. एकियामा र एच. ओहबाले जर्नल अफ जापानिज बोटनीमा सन् १९९३ मा ‘इम्पेसन्स् बाजुरेन्सिस्’ नामकरण गरेका थिए। यसको मुख्य नमूना अर्थात होलोटाइप भने जापानको टोकियो विश्वविद्यालयमा संगृहीत छ।
पोखराको उत्तर-पश्चिम घोडेपानीमा एक अर्को रैथाने प्रजातिको नमूना सङ्कलन गरिएको छ। यसको नमूना क्रिस्टोफर ग्रे-विल्सन र बी. फिलिप्सले सेप्टेम्बर १९७३ मा दुई हजार मिटरको उचाइमा सङ्कलन गरेका थिए। यसैलाई क्रिस्टोफर ग्रे-विल्सनले सन् १९८९ मा प्रकाशित द क्यू बुलेटिनमा ‘इम्पेसन्स् गोरेपानियन्सिस्’ नामकरण गरेका थिए। यसको नमूना लन्डनको रोयल बोटानिकल गार्डेन्समा संगृहीत छ। अन्यत्र यसको नमूना अझसम्म संग्रह गरिएको जानकारी पाइन्न।
जापानका वनस्पतिविद् हिडेकी ओह्बा र उनको टोलीले दोलखास्थित बित्तेखर्क उपत्यकाको पातले पोखरी क्षेत्रमा दुई हजार पाँच सयदेखि चार हजार मिटरको उचाइमा १२ सेप्टेम्बर १९८३ मा इम्पेसन्स्को नमूना सङ्कलन गरेका थिए। त्यो नमूना एस. एकियामा, हिडेकी ओहबा र एम. वाकाबायाले सन् १९९१ मा इम्पेसन्स् खरेन्सिस् नामकरण गरेका थिए। यसको नमूना जापानको टोकियो विश्वविद्यालयमा संगृहीत छ। यो त्यसयता थप नमूना सङ्कलन गरिएको जानकारी प्रकाशित छैन।
बेलायतको जेडीए स्टेन्टन सहितको टोलीले सन् १९५२ र १९५४ मा जुम्लाको तीन हजार ४८ र दुई हजार ४३८ मिटरको उचाइमा एक इम्पेसन्स्को नमूना सङ्कलन गरेको थियो। पहिलो नमूना गर्जीगोठ नजिकबाट सङ्कलन भएको थियो। त्यसलाई जापानका हिरोशी हाराले सन् १९७२ मा ‘इम्पेसन्स् विलिम्सी’ नामकरण गरेका थिए।
अद्यावधिक चेकलिस्ट
इम्पेसन्स् प्रजातिको वनस्पतिको एक अनौठो गुण हुन्छ। यसको पाकेको फललाई छोइदियो भने तुरुन्तै फुटेर बीउ बाहिर निस्कन्छ। यसको फल अधीर हुने अर्थमा यो जातिको नामकरण ‘इम्पेसन्स्’ राखिएको हो। संसारभर घर घरमा रोपिएको तिउरी पनि इम्पेसन्स् प्रजातिको वनस्पति हो। यसको वैज्ञानिक नाम ‘इम्पेसन्स् बाल्सामिना’ हो। यस कारण यो प्रजातिको वनस्पतिलाई बाल्सम पनि भनिन्छ।
वाइल्ड बाल्सम्स अफ दार्जीलिङ एन्ड सिक्किम हिमालयः अ पिक्टोरिएल ह्यान्डबूक (सन् २०२१) पुस्तकमा इम्पेसन्स्का ४५ प्रजाति सचित्र समावेश गरिएका छन्। अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल भाग-३ (जुलाई २०२१) पुस्तकमा बाल्सम अन्तर्गत ४६ प्रजाति समावेश गरिएका छन्। प्लान्टस् अफ नेपाल (सेप्टेम्बर २०२२) पुस्तकमा नेपालमा ४३ प्रजाति रहेको उल्लेख छ।
शिनोबु एकियामाले सन् २०२१ मा ‘इम्पेसन्स् अफ नेपाल (१): एन आइडेन्टिफिकेशन की एन्ड ट्याक्सोनोमी अफ द स्पेसिज अफ सेक्सन युनिफ्लोरा, फास्सीकुलाटा एन्ड एक्सलिफ्लोरा’ लेखका छन्। यस लेखलाई भाग-१ मानिएको छ र जसमा १७ प्रजाति समावेश छन्। यसमा नेपालको इम्पेसन्स्को अध्ययनमा ‘मलेक्युलर’ तहको अध्ययन गर्न जरुरी रहेको औंल्याइएको छ।
यसो हुनुको कारण रूपबाट मात्र वनस्पति प्रजाति पहिचान गर्न गाह्रो हुन्छ। अध्येता रास्कोटी र आलेले नेपालमा इम्पेसन्स्का ५७ प्रजाति रहेको उल्लेख गरेका छन्। जसमा पाँच प्रजाति नेपालका लागि नयाँ थपिएको जनाएका छन्। म्याग्दीबाट एक, ताप्लेजुङबाट एक र इलामबाट तीन प्रजाति थपिएका हुन्। तिनका नमूना गोदावरीस्थित नेशनल हर्बेरियम एन्ड प्लान्ट ल्याबोरेटरीमा संगृहीत गरिएको जनाइएको छ।
उनीहरूको लेखमा २९ प्रजातिको तस्वीर समावेश छ। त्यस्तै, ५७ प्रजातिको पहिचानका निम्ति तिनका कुञ्जी अर्थात् साँचो उपलब्ध छन्। त्यो साँचोबाट नेपालमा अहिलेसम्म पाइएका इम्पेसन्स्का प्रजाति पहिचान गर्न सकिन्छ।
अध्येताद्वय रास्कोटी र आलेले ‘डीएनए इस्ट्र्याक्सन एन्ड मार्कर सेलेक्सन’ विधि प्रयोग गरेर इम्पेसन्स् प्रजातिका आन्तरिक सम्बन्ध विश्लेषण गरेका छन्। इम्पेसन्स् निम्सपुजाईको फूलको रूपात्मक संरचना इम्पेसन्स् रेडिएटा, इम्पेसन्स् हाराइ, इम्पेसन्स्् वालिची र इम्पेसन्स् अर्टिसिफोलियासँग मिल्दोजुल्दो देखिएको माथि चर्चा गरिसकिएको छ। डीएनए संरचना विश्लेषणमा पनि एक-आपसमा नजिकको सम्बन्ध रहेको देखिएको छ।
आफ्नै बलबुतामा रास्कोटी र आलेले यो अध्ययन अनुसन्धान गरेर आरोही निर्मल पुर्जालाई बाल्समसँग जोडेर नेपालको चिनारी थप बलियो बनाएका छन्। जैविक विविधता अध्ययनमा महत्त्वपूर्ण योगदान गरेका अध्येताद्वयलाई साधुवाद!