गुलजारको मनमा बस्नेहरू
हिन्दी र उर्दू भाषाका शब्द शिल्पी गुलजारको एक्चुअल्ली... आई मेट देम यस्तो संस्मरण हो, जसमा गुलजारका निजत्वसँगै भारतीय सङ्गीत, सिनेमा र साहित्यका हस्तीहरूबारे पाठकले ‘अनसेन्सर्ड’ खुराक पाउन सक्छन्।
भारतीय कवि-गीतकार एवं चलचित्र निर्देशक गुलजारको संस्मरणात्मक कृति एक्चुअल्ली...आई मेट देम पढ्दै गर्दा नेपाली सङ्गीतस्रष्टा एवं साहित्यकार गणेश रसिक लिखित पुस्तक छपक्कै मनमा बसेकाहरू (२०७६ साल) सम्झनामा आइरह्यो। नयाँ नयाँ मानिस भेटिनु नियमित आकस्मिकता हो। जीवनयात्रामा अनेकौं मानिस भेटिन्छन्, तर भेटिँदैमा सबै सम्झनामा रहँदैनन्। अझ् मनमा लुटपुटिनेहरू जीवनमा थोरै मात्र भेटिन्छन्।
एक्चुअल्ली आई मेट देमको आयतन रसिकको झैं पात्रहरूको प्रेम र हार्दिकता हो। गुलजारले भेटेका पात्रहरू सामान्यजन नभएर चलनचल्तीमा भनिने ‘लिजेन्ड’ हरू हुन्। तर, ती महान्तम पात्रहरू यति सरल, प्रेमिल र मानवीय छन्, जसबारे पढ्दै गर्दा ती हाम्रै मित्र र स्वजन झैं लाग्छन्।
पुस्तकमा गुलजारले भेटेका १८ व्यक्ति समेटिएका छन्। सिने निर्देशक विमल रोयसँगको सान्निध्यबाट पुस्तक शुरू गरिएको छ। गाडीको ग्यारेजमा काम गर्ने र यदाकदा कविता लेख्ने गुलजारलाई रोयसम्म जोडिदिने सेतु ‘रुम-मेट’ देवु सेन बनिदिन्छन्। रोयले गुलजारलाई आफ्नो चलचित्र बन्दिनी (सन् १९६३)मा गीत लेख्ने अवसर मात्र दिँदैनन्, सहायक निर्देशक बनाउँछन्।
विमल रोय गुलजारका लागि गुरु मात्र नभई अवसरहरूको ढोका बन्न पुग्छन्। रोयबाट उनी फिल्म निर्माणको सीप त सिक्छन् नै, रोय मार्फत नै उनी भारतीय सिनेमाका एक-से-एक हस्तीहरूसँग सम्पर्कमा पुग्छन्। बन्दिनी चलचित्रका सङ्गीत निर्देशक एसडी बर्मन गुलजारका निम्ति उनका छोरा आरडी बर्मन (पञ्चम)सम्म पुग्ने सेतु बनिदिन्छन्। पञ्चममा गुलजार निकट मित्र मात्रै भेट्दैनन्, एक यस्तो सर्जक पाउँछन् जसले गुलजार नामको सिर्जनाको खानीबाट गजबका रत्न उत्खनन गर्दै जान्छन्।
पुस्तकमा डेढ दर्जन पात्र रहे पनि मित्रका रूपमा चाहिं दुई मात्र चित्रित छन्, पञ्चम र ‘हरि’ अर्थात् संजीव कुमार। अन्य पात्रहरू गुलजारका निम्ति गुरु, आदर्श, अभिभावक, सहकर्मी आदिको हैसियतमा देखिन्छन्।
बलिउड सङ्गीतका सबैभन्दा भर्सटाइल कम्पोजर पञ्चमको प्रयोगधर्मितालाई गुलजार खुर्सानीको उपयोगसँग तुलना गर्छन्। त्यो के भने, खुर्सानीका शौखीन पञ्चमको भान्सा असाध्यै पिरो हुन्थ्यो। उनी विभिन्न जातका खुर्सानी घरमा रोप्ने मात्र होइन, ठिमाहा प्रजाति पनि बनाउँथे। पञ्चमले चलचित्र अपना देशका लागि एउटा गीत गाएका छन्, ‘दुनियाँमे लोगो को धोका कभी हो जाता है’।
यसमा उनी खुर्सानी चपाए जस्तै साइ-साइ र सिउ-सिउ पनि गर्छन्। गुलजारबाट त्यस साइ-साइ र सिउ-सिउको रहस्य थाहा पाउँदा एक मनले हाँसो उठ्छ भने अर्को मनले पञ्चमको सिर्जनशीलताको तारीफ गर्न कर लाग्छ। खुर्सानी प्रेम र परखबाट सिर्जित त्यस ट्युनबाट पञ्चम कुन हदको सिर्जनशील रहेछन् भन्ने छर्लङ्ग हुन्छ।
गुलजारको शब्दमा पञ्चमले ट्युन गरेका गीतहरू अजर-अमर छन्। सबै कुरा हतारमै गर्ने आफ्ना मित्रले संसार पनि हतारमै छाडेकोमा गुलजार अपसोच मान्छन्। पञ्चमको अजब चरित्रबारे गुलजार लेख्छन्, ‘ऊ चिया मगाउँथ्यो। तात्तातो चिया दिएपछि ऊ त्यसमा चिसो पानी खन्याउँथ्यो र पिउँथ्यो। उसलाई कहाँ पुग्नुपर्ने हुन्थ्यो कुन्नि, तर सधैं हतारमै हुन्थ्यो।’ पञ्चमको प्रस्थानबाट आफ्नो ठूलो हिस्सा उनीसँगै गएको र आजको आफू आधा अधुरो मात्र भएको भन्दै प्रिय मित्रको बिदाइले दिएको गहिरो शून्यता प्रकट गरेका छन्।
गुलजारलाई असमयमै छाडेर जाने प्रियजनमा पञ्चम एक्ला होइनन्। उनका अनन्य मित्र हरि अर्थात् अभिनेता संजीव कुमारले पनि लोकप्रियताको शिखर चुम्दै गरेका वेला संसार छाडे। पुस्तकमा गुलजारले संजीवको अभिनयको उत्कृष्टतासँगै उनको दिल्लगी र रउसे चरित्रको चर्चा गरेका छन्। समयको मामलामा बेपरवाह संजीव माछामासु र मदिरा भनेपछि कति मरिहत्ते गर्थे अनि अभिनय कुशलताबाट सह-कलाकारहरूको मन कसरी जित्थे भन्ने पाटोको पनि रोचक पाराले वर्णन गरिएको छ।
संजीव जस्तै एक परिहासप्रिय व्यक्तिका रूपमा गुलजारले गायक-अभिनेता किशोर कुमारको चरित्र चित्रण गरेका छन्। दुस्साहस र प्रतिभा मिश्रित किशोर कुमार गुलजारका आँखामा एउटा ‘म्याड जिनियस’ थिए। किशोरका अनेकौं हर्कत पुस्तकमा समेटिएका छन्।
गुलजारले आफूले सङ्गत गरेका सङ्गीतका चार महारथी सङ्गीत निर्देशक सलिल चौधरी, सिद्धहस्त सितारवादक पण्डित रविशंकर, गायक हेमन्त कुमार र शास्त्रीय सुरका जादुगर पण्डित भीमसेन जोशीबारे पनि रोचक कुरा पस्केका छन्। यी शिल्पीहरू के हुन् भन्ने जगजाहेरै छ, गुलजारले भने उनीहरूभित्रको कोमलता र अन्तरङ्ग पाटोको चर्चा गरेका छन्। जस्तै- सलिल चौधरी कुनै अम्मली झैं क्यारम बोर्ड र टेबल टेनिसमा टाँस्सिइरहन्थे।
हेमन्त कुमार स्वरमा मात्र नभएर हृदयमा पनि कति कोमल थिए भन्ने कुरा उनले गुलजारका लागि बम्बईमा घर किन्न पैसा जुटाइदिएबाट प्रष्ट हुन्छ। पण्डित रविशंकरलाई भेट्न न्यूयोर्कमा पुगेको वेला स्वयं पण्डितजी गुलजार बसेको होटलमा जिन्स पाइन्ट र टि-सर्टमा प्रकट भएको क्षण कम आह्लादकारी लाग्दैन।
त्यसै गरी मदिराको लत छुटाउन पत्नी र छोराले घरमा तालाबन्दी गरेपछि ताला खुलेको बखत पत्नीका सबै गरगहना पोको पारेर घरछेउको देवी मन्दिर पुगी पण्डित भीमसेनले ‘हे देवी मेरी पत्नी अज्ञानी छिन्, यिनलाई माफ गरिदेऊ’ भनेर गहना अर्पण गरेको प्रसङ्गले हाँसो छुटाउँछ।
सङ्गीतका महारथी झैं गुलजारले सिनेमाका हस्तीहरू सत्यजित रे, ऋषिकेश मुखर्जी, रित्विक घटक, समरेस वासु, वासु भट्टाचार्य र तरुन मजुमदारलाई पुस्तकमा समेटेका छन्। सत्यजित गुलजारका लागि सिनेमाको एक पूर्ण प्रतिभा देखिन्छन् भने सम्पादनबाट निर्देशनमा हात हालेका ऋषिकेश थोरै लगानीबाट मध्यमवर्गीय समाज चित्रण गर्ने चलचित्र बनाउँथे।
ऋषिकेश जस्तै बङ्गाली कवि तथा चलचित्र निर्देशक वासु भट्टाचार्य थोरै बजेटबाट पनि उम्दा चलचित्र निर्माणमा अब्बल देखिन्छन्। मस्तमौलाना रित्विक प्रतिभाशाली विधाभञ्जक देखिन्छन्। तरुन मजुमदार चाहिं गुलजारका निम्ति सिने निर्देशकभन्दा पनि अभिभावक र पथप्रदर्शकका रूपमा चित्रित छन्।
पुस्तकमा गुलजारले अन्य तीन प्रतिभाशाली र अत्यन्तै सुन्दर कलाकारको चर्चा गरेका छन्। बङ्गाली सिनेमाबाट पहिचान बनाएका र हिन्दी सिनेमामा पनि उत्तिकै सफल उत्तम कुमार, सुचित्रा सेन र शर्मिला टैगोर गुलजारका मनप्रिय कलाकार हुन्। यी तीन कलाकारका साझा विशेषता चाहिं अब्बल अभिनयसँगै शिष्टता पनि हो।
संघर्ष चलचित्रको संवाद लेखन मार्फत महाश्वेता देवीको सान्निध्यमा पुगेका गुलजारमा बङ्गाली वाङ्मयकी यी प्रख्यात लेखिकाको ठूलो प्रभाव देखिन्छ। महाश्वेता देवीमा उनी लेखकको प्रकाश मात्र नभएर मातृत्वको छहारी समेत भेट्छन्।
हिन्दी र उर्दू भाषाका शब्द शिल्पी गुलजारको एक्चुअल्ली...आई मेट देम यस्तो संस्मरण हो, जसमा गुलजारका निजत्वसँगै भारतीय सङ्गीत, सिनेमा र साहित्यका हस्तीहरूबारे पाठकले ‘अनसेन्सर्ड’ खुराक पाउन सक्छन्।
पुस्तक: एक्चुअल्ली... आई मेट देम (संस्मरण), लेखक: गुलजार
प्रकाशक: पेन्गुइन र्यान्डम हाउस, पृष्ठः १६०, मूल्यः भारु. ४९९ (मोटो गाता)