यस्तो छ डा. शेखर कोइरालाको सङ्कल्प प्रस्ताव
आगामी चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो छुट्टै सङ्कल्प प्रस्ताव सार्वजनिक गरेका छन्।
डा. कोइरालाले शनिबार सार्वजनिक गरेको सङ्कल्प प्रस्तावमा ‘संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माण’ मुख्य ध्येयका रूपमा प्रस्तुत गरेका छन्।
डा. कोइराला मोरङ-६ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। उनले भनेका छन्, “यस क्षेत्रको आर्थिक असमानता र गरीबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता छ।”
उनले यस क्षेत्रको विकास र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन आफूलाई मत दिन आग्रह गरेका छन्।
“मलाई थाहा छ, ममाथि मेरो क्षेत्र र समग्र लोकतान्त्रिक आन्दोलनको ठूलो अपेक्षा छ,” उनले भनेका छन्, “म मेरा मतदातालाई र मोरङको गौरवशाली इतिहासलाई साक्षी राखेर विश्वास दिलाउन चाहन्छु, म किमार्थ तपाईंहरूको भरोसामाथि कुठाराघात गर्नेछैन। म तपाईंहरूको मतको अपमान हुन दिनेछैन र शिर झुक्न दिने पनि छैन।”
डा. शेखर कोइलाराको सङ्कल्प प्रस्तावः
संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि ‘मेरो सङ्कल्प’
हामी फेरि पाँच वर्षपछि आम निर्वाचनको सँघारमा छौँ। हामीले उत्साह र उमङ्गका साथ हाम्रा चाडपर्व मनाइरहेका छौं। आम निर्वाचन पनि सबै नेपालीहरूका लागि उत्सवका रूपमा हाम्रो अगाडि आएको छ।
मंसीर ४ गते हामी हाम्रा केन्द्रीय प्रतिनिधि (सांसद) र प्रदेश सभाका प्रतिनिधिहरू छनोट गर्न गइरहेका छौं। यसै कडीमा मोरङ क्षेत्र नं. ६ का तपाईं मतदाताहरू लोकतान्त्रिक मताधिकारको प्रयोग गर्दै आफ्ना प्रतिनिधि छान्न गइरहनुभएको छ।
हाम्रो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको छ। अब विविधताबीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सद्भावलाई संरक्षण गर्दै यस क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउनु छ। संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि नेपाली कांग्रेस पार्टी र गठबन्धनले मलाई मोरङ क्षेत्र नं. ६ बाट उम्मेदवार बनाएको छ।
साथै, प्रदेश सभा सदस्य पदका लागि मोरङ क्षेत्र ६ प्रदेश (क)बाट नेकपा (माओवादी केन्द्र)का जीवन आचार्य र मोरङ क्षेत्र ६ प्रदेश (ख)बाट नेपाली कांग्रेसका केदार कार्की उम्मेदवार हुनुहुन्छ।
यस क्षेत्रको आर्थिक असमानता र गरीबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता छ। युवा बेरोजगारीको समस्या डरलाग्दो छ। यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन। हाम्रा सम्मानित ज्येष्ठ नागरिकहरूका लागि नि:शुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बीमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम हामी ल्याउँदै छौं।
त्यसै गरी गछिया, केशलिया (बुढी), सिंगिया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिनेछ। विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइनेछ। विराटनगर चक्रपथको काम सम्पन्न गरी यथाशक्य छिटो सञ्चालनमा ल्याइनेछ।
मोरङ क्षेत्र नं. ६ को समग्र विकास र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन मलाई तपाईंहरूको सहयोगको आवश्यकता छ। म समग्र नेपाली कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि मात्र लडिरहेको छैन, मोरङको गौरवशाली इतिहास र परम्परालाई समेत निरन्तरता दिने प्रयासमा छु।
आज जब म तपाईंहरूसँग विवेकको प्रयोग गर्नुहोस् भनी मतको अनुरोध गरिरहेको छु, तब म आधुनिक नेपालको इतिहास निर्माता बीपी कोइरालालाई सम्झिरहेको छु। बीपी जसलाई हामी सबै (सान्दाजु) भनी सम्बोधन गर्दथ्यौं, संयोगले म उहाँले नै चुनाव लड्नुभएको क्षेत्रमा भोट माग्न तपाईंहरूको घरदैलोमा आएको छु। यो त्यही क्षेत्र हो जहाँ गिरिजाप्रसाद कोइराला आफ्नो प्रतिनिधि छान्न मतदान गर्नुहुन्थ्यो।
मलाई थाहा छ, ममाथि मेरो क्षेत्र र समग्र लोकतान्त्रिक आन्दोलनको ठूलो अपेक्षा छ। म मेरा मतदाताहरूलाई र मोरङको गौरवशाली इतिहासलाई साक्षी राखेर विश्वास दिलाउन चाहन्छु म किमार्थ तपाईंहरूको भरोसामाथि कुठाराघात गर्नेछैन। म तपाईंहरूको मतको अपमान हुन दिनेछैन र शिर झुक्न दिने पनि छैन।
आगामी मंसीर ४ गते तपाईंहरूको मतबाट हुने विजय हामी सबैको विजय हुनेछ। यो मोरङको विशिष्ट राजनीतिक संस्कार र परम्पराको जित हुनेछ। यो क्षेत्रको मात्रै हैन, समग्र राष्ट्रलाई नै समन्याय, असल शासन र समुन्नतिको बाटोमा अघि बढाउन मलाई ठूलो प्रेरणा मिल्नेछ। सदा झैं यहाँहरूको स्नेह र विश्वासको भारी अपेक्षा सहित जय नेपाल।
डा. शेखर कोइराला
प्रतिनिधि सभा सदस्य उम्मेदवार, मोरङ क्षेत्र नं. ६
१९ कात्तिक २०७९