‘रवि लामिछानेको क्रेज देखेर राजनीतिमा आएकी हाेइन’
सञ्चारकर्म छोडेर राजनीतिमा लागेकी सोविता गौतम काठमाडौं-२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा खटिइरहेकी गौतमसँग हिमालखबरको उम्मेदवारमा संवादमा अनिता भेटवालले गरेको संवाद:
सञ्चारकर्म छाडेर राजनीतिमा आउन केले घचघच्यायो?
म सानैदेखि स्पष्ट वक्ता हुँ। विद्यालयमा हुने निबन्ध, वक्तृत्वकला लगायतमा सधैं प्रथम हुन्थें। विद्यालयका कार्यक्रममा बोल्न समसामयिक विषयवस्तुमा अपडेट हुँदा समाजका मुद्दालाई गहन रूपले लिने बानी पनि बस्यो। मैले त सरकारी विद्यालयमा अध्ययन गरें। मेरा अरू साथीहरू निजी विद्यालयमा पढे। त्यो शिक्षाको अन्तरले पनि असमानता अनुभव गरायो।
बिरामी भएर अस्पतालमा उपचार गर्दा घरको जायजेथा नै सकिन्थ्यो। यसरी सामान्य सेवासुविधा पनि नपाउँदा किन यस्तो भन्ने प्रश्न उब्जिन्थ्यो। यिनै विषय मिडिया र विभिन्न संघसंस्थामा उठाएँ।
त्यो पनि पूर्ण नहुँदा राजनीतिमा आउँछु भन्ने लाग्थ्यो। पछिल्लो समय कानून विषय अध्ययन गरिरहँदा अझ समाजका सबै विषय अध्ययन गर्नुपर्यो। यही वेला राष्ट्रिय स्वतन्त्र पार्टी आयो। म त यो पार्टीको घोषणा कार्यक्रम सञ्चालक भएर गएकी थिएँ। तर, जब पार्टीको विचार, धारणा बुझ्दै, छलफल गर्दै गएँ, उनीहरूको युवालक्षित नेतृत्वको अवधारणा मन परेर राजनीतिमा प्रवेश गरें।
अध्यक्ष रवि लामिछानेको ‘क्रेज’ कारणले पनि स्वतन्त्र पार्टी प्रवेश गर्नुभएको भन्ने गरिन्छ नि?
पार्टीमा आबद्ध हुनुअघि रवि लामिछानेलाई भेटेकी थिइनँ। उहाँलाई टेलिभिजनमा मात्र देखेकी थिएँ। रविजीबारे धेरैको आआफ्नै धारणा छ। तर, म त्यस्ता कुनै पनि पूर्व धारणा नबनाई पार्टीमा लागेकी हुँ। उहाँप्रतिको क्रेजले मलाई फरक पार्दैन। म आफ्नो क्षेत्रमा सक्रिय नै थिएँ। उहाँको क्रेजले आफ्नो पनि क्रेज बढ्छ भनेर आएकी हैन।
जनताको आवाज संसद्मा पुर्याउन वैकल्पिक शक्ति आवश्यक छ भन्ने लागेको थियो। केही वैकल्पिक पार्टीभित्र आन्तरिक किचलो थियो। अन्य वैकल्पिक शक्तिहरूले गरेका गल्ती नदोहोर्याउने भन्दै स्वतन्त्र पार्टी अघि बढिरहेको छ। त्यसैले पनि केही नयाँ आशाले स्वतन्त्र पार्टीमा आएँ। अध्यक्ष लामिछानेको क्रेज देखेर आएकी हैन, आफ्नो राजनीतिक चेतना बोकेर उपयुक्त स्थान खोजिरहँदा स्वतन्त्र पार्टीमा जोडिएकी हुँ।
काठमाडौं-२ को चुनावी मैदानमा हुनुहुन्छ। प्रत्यक्षतर्फ चुनाव लड्न त पैसा लगायत विभिन्न कुरा मिलाउनुपर्छ। कत्ति सहज हुँदो रहेछ?
आम परिवारबाट आएको मान्छे हुँ। धेरै खर्च गर्न सम्भव छैन। पैसाले मतदाता किन्छु भन्ने धारणा पनि छैन। यो धारणा राख्नु पनि हुँदैन। जनताको मत धनले भन्दा पनि मनले जितेर पाउने कुरा हो। एकदमै आधारभूत कुरामा बाहेक अन्य खर्च भएकै छैन। स्थानीय चुनावमा सामान्य खर्चमा पनि चुनाव जितेको प्रशस्तै उदाहरण छन्। त्यही तरीकाले अघि बढेकी छु।
पैसाकै कारण पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई चुनाव लड्न गाह्रो हुने गरेको गुनासो सुनिन्छ। तपाईंलाई चुनावी खर्चले कत्तिको पिरोलेको छ?
निर्वाचन आयोगले मेरो क्षेत्रमा २७ लाख खर्च गर्न पाउने सीमा तोकेको छ। त्यो देख्दा किन यत्रो पैसाको सीमा राखेको होला भन्ने लाग्यो। निर्वाचन आयोगले पनि उम्मेदवारलाई खर्चबारे सोध्ने रहेछ। मैले १० लाख लाग्छ भनेकी छु। तर, मसँग खर्च गर्न त्यत्रो रकम पनि छैन। मेरो क्षमता पनि छैन।
निर्वाचन क्षेत्रमा प्रचारमा जाँदा-आउँदा खानापानी खान्छौं। त्यस बाहेक एउटा गाडी छ। त्यो पनि बुबाले नै चलाइदिनुभएको छ। अरू आमा, काका, दिदी, दाइहरूले विविध कुरामा सघाउनुभएको छ। खर्चका हिसाबले मत प्रभावित गर्न पैसा पनि नचाहिने र अन्य कसैलाई पैसा दिएर रिझाउनु पनि छैन। त्यसैले खर्चको कुराले खासै पिरोलेको छैन, सामान्य न्यूनतम खर्च होला।
मत माग्न जाँदा तपाईंको क्षेत्रमा मतदाताले के कुरा सुनाइरहेका छन्, के कस्तो गुनासो गरिरहेका छन्?
मैले भेटेका ९८ प्रतिशत मतदाताले पुराना पार्टीलाई मत हाल्दिनँ भनेका छन्। यसको अर्थ, उनीहरू नयाँ व्यक्ति, जसले आफ्ना माग पूरा गर्छ, त्यसलाई मत दिने मुडमा छन्। हामीले पनि धेरै सकारात्मक प्रतिक्रिया पाएका छौं। कति जनाले त जति भोट दिए पनि उही हो भनेर भोट नै नहाल्ने कुरा पनि गर्नुभएको छ।
उहाँहरूको धेरै ठूलो अपेक्षा केही छैन। मात्र आधारभूत आवश्यकताको माग छ। काठमाडौं-२ मा खानेपानीको समस्या मात्र समाधान गरियो भने पनि ठूलो राहत मिल्छ। म सांसद भएँ भने नीति-नियमको कुरा त गर्छु नै, यी समस्या हल गर्न समन्वयकारी भूमिका पनि खेल्नेछु।
मेरो जित्ने आधार युवा र महिला भएर भन्दा इमानदारी हो। म र मेरो पार्टीलाई कुराभन्दा काम बढी चाहिएको छ।
पुरानो पुस्ताका नेतालाई हैन, युवालाई भोट भनेर अहिले ‘नो, नट अगेन’ अभियान चलिरहेको छ। यसमा तपाईंको धारणा के हो?
‘नो, नट अगेन’ अभियान युवाको विम्बात्मक प्रतिरोध हो। पुरानो अनुहार कति हेर्ने, काम नगर्ने पुराना मान्छे अब आउनै हुन्न भनेर गरिएको साङ्केतिक विद्रोह हो। सुन्दा खरो सुनिए पनि पुरानो नेताले व्यवस्था बदल्न काम गरेका छन्, अब विकास र समृद्धिको विषयमा युवा पुस्ता आउनुपर्छ। म पनि युवा भएकाले यो अभियानप्रति समर्थन छ।
यस्तै प्रसङ्गमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त ‘के को नो, नट अगेन? म्याराथनमा मसँग दौड न’ भन्ने अभिव्यक्ति दिनुभएको छ नि?
उहाँहरू लामो राजनीतिक यात्राबाट आउनुभएको हो। यसलाई सम्मान गर्नुपर्छ। तर, मलाई उहाँसँग गुनासो छ, उहाँले युवालाई तँछाडमछाड गर्न दौड, आइज भन्नुको साटो ‘ल बाबु नानी हो, तिमीहरू पनि यसरी आउनुपर्छ, यसरी गर्नुपर्छ’ भनेर सिकाउनुपर्थ्यो।
प्राकृतिक नियमका अनुसार जन्मेपछि मृत्यु निश्चित छ। पुरानो पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नगरे नयाँ पुस्ताको समय खेर जान्छ, समाज पनि धरमराउँछ। नयाँ पुस्तालाई साथ, सहयोग र समर्थन गर्नुपर्नेमा उल्टो दौडने कुरा गर्दै हुनुहुन्छ।
भोलि संसद्मा पुग्नुभयो भने कानून निर्माणका विषयमा कसरी आवाज उठाउनुहुन्छ?
हामीले पढ्दै गर्दा कानूनमा यहाँ यो पुगेन भन्ने प्रशस्तै विषय थाहा पाएका छौं। कानून बनाउँदै गर्दा ठीक लाग्ने, तर कार्यान्वयनमा आएपछि कमजोरी देखिन्छन्। त्यो सुधार्ने प्रवृत्ति नै छैन। म त्यसमा काम गर्नेछु। नियमित आवाज उठाइरहनेछु।
संसद्मा सांसद कम जाने र अतिरञ्जित मुद्रामा मात्र बोल्न जाने प्रवृत्ति देखिएको छ। मेरो उपस्थिति नियमित हुनेछ र आवाज निरन्तर उठाउनेछु।
चुनावी परिणाम सोचे अनुसार भएन भने के गर्नुहुन्छ?
चुनाव जितिनँ भने पनि म मैदानमै हुन्छु। राजनीतिमा आएपछि आज आएँ, भोलि विलय हुँदिनँ। राजनीतिमा प्रवेश गर्नुपूर्व नै धेरै सोचविचार गरेकी छु। जनताका मुद्दाबारे सदनमा बोल्ने अवसर पाइनँ भने पनि सडकबाट उठाउनेछु।