वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ सम्मानित
नेपालका प्रथम बोटनिस्ट प्रयागराज पाण्डे फाउन्डेशनले वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलाई सम्मानित गरेको छ।
फाउन्डेशनले स्थापना गरेको २५ हजार नगद राशिको ‘चार्टर्ड प्रेसिडेन्ट जर्नो अवार्ड’ पहिलोपटक डा. श्रेष्ठलाई प्रदान गरेको हो। डा. श्रेष्ठलाई वनस्पति विभागकी महानिर्देशक डा. राधा वाग्लेले पुरस्कार हस्तान्तरण गरिन्।
पुरस्कार वितरण समारोहमा बोल्दै महानिर्देशक वाग्लेले वनस्पति विभागका पहिलो महानिर्देशक प्रयागराज पाण्डेको नाममा स्थापित संस्थाले वनस्पति क्षेत्रको ‘थिंक ट्यांक’ का रूपमा काम गर्ने जमर्को गरेकोमा प्रशंसा गरिन्। उनले आगामी दिनमा विभाग र फाउन्डेशनको सहकार्यका लागि प्रतिबद्धता व्यक्त गर्दै अनुसन्धानका काममा सहकार्यलाई निरन्तरता दिनुपर्ने बताइन्।
विभागले प्रकाशित गर्ने फ्लोरा अफ नेपालको प्रकाशन प्रक्रियालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै उनले फाउन्डेशनका प्रस्तावित परियोजनाहरू सम्पन्न गर्न विभागको सहयोग रहने बताइन्।
फाउन्डेशनले ‘यूथ आइकन अवार्ड’ विनायक अधिकारीलाई प्रदान गरेको छ। विभागका उपमहानिर्देशक डा. सरोजकुमार चौधरीले अधिकारीलाई अवार्ड प्रदान गरे।
साथै, फाउन्डेशनले वर्षैपिच्छे प्रदान गर्ने १५ हजार नगद राशिको ‘मरिसा गर्ल चाइल्ड स्टाइपेन’ यस वर्ष पूजा घर्ती मगरलाई प्रदान गरेको छ। उनलाई फाउन्डेशनका पूर्व अध्यक्ष डा. पुष्पमान अमात्यले सम्मानित गरे। समारोहमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले विभागकी महानिर्देशक डा. राधा वाग्लेलाई पनि प्रशंसापत्र प्रदान गरे।
सबै पुरस्कार फाउन्डेशनका पहिलो अध्यक्ष एवं विभागका पूर्व महानिर्देशक मधुसुदन विष्टले स्थापना गरेका हुन्। बालिका छात्रवृृत्ति विगत तीन वर्षदेखि दिइँदै आएको हो भने ‘जर्नो अवार्ड’ र ‘यूथ आइकन अवार्ड’ यसै वर्षदेखि प्रदान गर्न थालिएको हो।
पुरस्कार वितरण समारोहमा फाउन्डेशनका पूर्व अध्यक्ष अमात्यले विभाग अन्तर्गत रहेको गोदावरीको राष्ट्रिय वनस्पति उद्यानमा फाउन्डेशनका तर्फबाट आगन्तुकलाई आरामदायी कुर्सी राखिने योजना रहेको जनाए। त्यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका पूर्व सदस्य-सचिव कमलकृष्ण श्रेष्ठले वनस्पति उद्यानको प्रवेश शुल्कमा ज्येष्ठ नागरिकलाई छूट दिनुपर्ने राय व्यक्त गरे।
कार्यक्रममा बोल्दै फाउन्डेशनका हरिकृष्ण सैंजूले वनस्पतिको क्षेत्रमा काम गर्नेहरू कहिल्यै रिटायर्ड नहुने बताउँदै नयाँ पुस्ताको ज्ञान र पुरानो पुस्ताको अनुभवलाई समेटेर अघि बढ्ने फाउन्डेशनको उद्देश्य रहेको बताए। फाउन्डेशनले आउँदा दिनमा अध्ययन, अनुसन्धान लगायतका कामलाई निरन्तरता दिइने बताए। फाउन्डेशन २०७३ कात्तिक १९ गते स्थापना भएको हो।