आगामी चुनावका लागि छापिए आठ करोड मतपत्र
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आठ करोड मतपत्रको छपाइ गरिएको छ।
निर्वाचन आयोगका अनुसार, प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ सकिएको हो। प्रत्यक्ष निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी आठ करोड मतपत्र छपाइ गरिएको जनाएको छ।
आगामी निर्वाचनमा देशभर १८ वर्ष उमेर पुगेका मतदाता गर्न पाउने मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिएको हो।
आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ। अहिले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी भइरहेको आयोगले जनाएको छ।
शुक्रबार मात्रै ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लाको मतपत्र ढुवानी गरिएको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ।