उम्मेदवारको खाममा के छ?
घरदैलोमा व्यस्त काठमाडौं ५ (ख) का स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछाने मत मागिरहेका मात्रै छैनन्, मतदाताको हातमा खाम थमाउँदै आएका छन्।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै उम्मेदवारको व्यस्तता बढेको छ। कोही चुनावी सभा त कोही घरदैलोमा व्यस्त छन्।
बागमती प्रदेश सभाका लागि काठमाडौं-५ (ख)मा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ लामिछाने पनि प्रचारप्रसारमा व्यस्त छन्। “स्वतन्त्र भइसकेपछि आफूलाई चिनाउन चुनौती छ‚” उनी भन्छन्‚ “डिजिटल प्लेटफर्म र घरदैलो गरी प्रचारप्रसार गरिरहेको छु।”
घरदैलो गर्दा लामिछानेले मतदाताको हातमा खाम थमाउँछन्। कतिले खाम लिन नमानेको उनी बताउँछन्। “खाम दिंदा कतिलाई पैसा दियो भन्ने लाग्दो रहेछ। पैसा छ भनी सोध्नुहुन्छ। होइन, हामीलाई खाम चाहिंदैन भन्नुहुन्छ।”
खामभित्र मतदातालाई लेखेको पत्र रहेको लामिछाने बताउँछन्। पत्रमा आफ्नो परिचयका साथै आफ्नो उम्मेदवारी किन भन्ने प्रष्टीकरण छ। “४२ वर्ष र पेशाले म मनोपरामर्शदाता तथा व्यवसायी हुँ। मेरी श्रीमती विदुषी ढुंगेलसँग म पछिल्लो १० वर्षदेखि प्रेमिल वैवाहिक सम्बन्धमा छु‚” लामिछानेको पत्रमा उल्लेख छ‚ “वास्तवमा म तपाईंहरूजस्तै एक सामान्य नेपाली नागरिक हुँ। काठमाडौंमा बस्छु।”
आफूमा पनि आम सर्वसाधारण जस्तै देश बनोस् भन्ने सपना रहेको र त्यसलाई पूरा गर्न प्रदेश सभा छानेको उनी बताउँछन्। “मेरो पनि आम सर्वसाधारण जस्तै देश बनोस् भन्ने सपना छ। त्यसलाई पूरा गर्न म अगाडि बढें प्रदेश सभामा‚” उनी भन्छन्‚ “त्यसका लागि नागरिकको साथ समर्थन भयो भने त्यो सपनालाई पूरा गर्न सकिन्छ।”
प्रदेश सभा नै छान्नुको पनि विशेष महत्त्व रहेको लामिछाने बताउँछन्। उनी भन्छन्‚ “हामीले जुन व्यवस्था ल्यायौं‚ त्यो व्यवस्थामा एउटा मात्रै तह बलियो बनाएर हुँदैन।” नेपालको संघीय गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन संघ‚ प्रदेश र स्थानीय गरी तीनै तह बलियो हुनुपर्ने लामिछानेको मत छ।
तर‚ राजनीतिक दल मात्र होइन‚ स्वतन्त्र उम्मेदवार समेतले प्रदेशलाई बेवास्ता गरेको उनको बुझाइ छ। उनी प्रष्ट्याउँछन्‚ “मान्छेले प्रदेश मन पराएका छैनन्‚ त्यसैले हामी प्रदेश सभामा उठ्ने होइन, संघ वा स्थानीय तहमै उठ्नुपर्छ भन्ने मानसिकता भयो। त्यो लोकरिझ्याइँको मानसिकता गलत लागेर म प्रदेशमा उठेको हुँ।”
प्रदेश कमजोर भए संघीय व्यवस्था नै कमजोर हुने लामिछानेको मत छ। “संघीयताको कोर भनेको प्रदेश हो। प्रदेश कमजोर हुँदा हाम्रो व्यवस्था पनि कमजोर हुन्छ‚” उनी भन्छन्‚ “अनि हामी अर्को भुमरीमा फस्न सक्छौं। संघीयता नचाहनेहरूले खोजेको त्यही हो। त्यो भुमरीमा हामीले जानी जानी पार्न हुँदैन।”