पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
विरोध जुलूसमा सहभागी पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीबार गोली प्रहार भएको छ।
राजधानीको पूर्वी शहर बाजिराबादमा आयोजित विरोध कार्यक्रममा सहभागी खानमाथि गोली प्रहार भएको हो। उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको जनाइएको छ।
बीबीसीले गोली प्रहारको उद्देश्य उनको हत्या गर्नु रहेको स्पष्ट देखिने टिप्पणी गरेको छ। गोलीकाण्डमा खान बाहेक उनको दल पीटीआईका अन्य चार जना सदस्य पनि घाइते भएका छन्।
गोली खुट्टामा लागेको छ। यद्यपि, खान खतरामुक्त रहेको उनका एक सहयोगीले जनाएका छन्।
७० वर्षीय खानले आफ्नो नेतृत्वको सरकार बर्खास्त गरिएपछि निर्वाचनको माग गर्दै विरोध कार्यक्रम गरिरहेका छन्।
“यो उनलाई मार्ने योजना थियो,” खानका एक सहयोगीले समाचार संस्था एएफपीलाई भने, “उनको हत्या नै गर्ने प्रयास गरिएको हो।”
पाकिस्तानको जिओ टीभीले जनाए अनुसार, घटना संलग्न भएको आरोपमा एक जना युवकलाई पक्राउ गरिएको छ।
गत महीना पाकिस्तानको निर्वाचन आयोगले पूर्व क्रिकेटर खानलाई चुनाव लड्न अयोग्य रहेको ठहर गरेको थियो।
उनीमाथि विदेशी प्रतिष्ठित व्यक्तिबाट प्राप्त उपहारको गलत विवरण पेश गरेको र तिनको बिक्रीबाट प्राप्त रकम हिनामिना गरेको आरोप लागेको थियो। उनले विदेशी व्यक्तिबाट पाएका उपहारमा रोलेक्स कम्पनीका महँगा घडीहरू, एउटा औंठी र कफलिंक थिए।