चुनाव जित्न प्रधानमन्त्रीको कार्ड
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले माओवादी अध्यक्ष दाहाल र कांग्रेसभित्र प्रधानमन्त्रीका आधा दर्जन आकांक्षीलाई एकसाथ जवाफ दिएका हुन्। किनकि, निर्वाचन घोषणा भएसँगै कांग्रेसमा प्रधानमन्त्रीको दाबी गर्नेको लस्कर लागेको छ।
‘अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको नेकपा (माओवादी केन्द्र)बाट मात्र यति वेला पनि राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक १४ गते सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लिखित यो भनाइबाटै प्रष्ट हुन्छ, उनी प्रधानमन्त्री बन्न कति आतुर छन्। अर्कातिर, बाबुराम भट्टराईले चुनावपछि दाहाल नै प्रधानमन्त्री बन्ने भनेर गोरखाका गाउँ गाउँमा चुनावी प्रचारप्रसार गरिरहेका छन्।
माओवादी अध्यक्ष दाहालले काठमाडौंमा यस्तो घोषणा गरेको दुई दिनपछि कात्तिक १६ मा बुटवल पुगेर नेपाली कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टी सभापति शेरबहादुर देउवालाई चुनावपछि प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने अभिव्यक्ति दिए। कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र देउवाले नेतृत्व गर्ने कुरामा दुईमत नभएको उनको जिकिर थियो। उनी यत्तिमा रोकिएनन्, कांग्रेसभित्र पनि देउवालाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरे।
अहिले माओवादी अध्यक्ष दाहाललाई मात्र होइन, यसो भनेर उनले कांग्रेसभित्र प्रधानमन्त्रीका आधा दर्जन आकांक्षीलाई एकसाथ जवाफ दिएका हुन्। किनकि, निर्वाचन घोषणा भएसँगै कांग्रेसमा प्रधानमन्त्रीको दाबी गर्नेको लस्कर लागेको छ।
अमेरिका भ्रमणमा रहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गत असार २६ गते नै अबको चुनावपछि गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्ने हो भने आफ्नो समर्थन रहने अभिव्यक्ति दिएका थिए। महामन्त्री थापाको नाम अघि सारेर उनले पुरानो पुस्तालाई बिदा गर्नुपर्ने सन्देश दिए पनि आफूलाई भने प्रधानमन्त्रीका रूपमा अघि सार्ने आँट गरेनन्।
प्रधानमन्त्रीको उम्मेदवारबारे महामन्त्री शर्माले मुख खोल्नुअघि अर्का महामन्त्री थापाले असार ५ मै आफू र आफ्नो पुस्ताले अबको निर्वाचनपछि प्रधानमन्त्रीका लागि हस्तक्षेप गर्ने अभिव्यक्ति दिएका थिए। एक टेलिभिजन अन्तर्वार्तामा उनले आगामी निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिरहेको समेत जिकिर गरे।
आफ्नो समूहबाट महामन्त्री जितेका थापाले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेपछि डा. शेखर कोइराला पनि मुख खोल्न बाध्य भए। १४औं महाधिवेशनमा देउवासँग पराजित डा.कोइरालाले साउन ५ मा एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्रीमा आफ्नो दाबी रहने घोषणा गरे।
यसरी एकपछि अर्को नेताले प्रधानमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मौन रहन सकेनन्। गृहजिल्ला तनहुँ पुगेर भदौ १८ मा आदिकवि भानुभक्त क्याम्पसको ३६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै चुनावपछि प्रधानमन्त्री हुने इच्छा व्यक्त गरे। मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिन देशले आफ्नो भूमिका खोजेको उनको जिकिर थियो। कार्यकारी भूमिकामा रहेर सुशासन दिने सामर्थ्य आफूमा भएको पौडेलले दाबी गरे।
त्यस्तै, कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले पनि असोज २३ मा नवलपुर–१ मा चौथो पटक उम्मेदवारी दर्ता गर्दै आफू भावी प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरे। चुनावी प्रचारका क्रममा पनि उनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्न थालिएको छ।
कात्तिक २ मा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताए। प्रधानमन्त्रीका लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक आफूमा रहेको सिंहको भनाइ थियो।
यसरी सरसर्ती हेर्दा सत्तारूढ गठबन्धनबाटै प्रधानमन्त्रीका लागि अहिलेसम्म देउवा, दाहाल, पौडेल, डा. शेखर, डा. शशांक, सिंह र थापा सहित सात जना आकांक्षी देखिएका छन्।
चुनाव शुरू नहुँदै सत्ता गठबन्धनमा भावी प्रधानमन्त्री को बन्ने भनेर हानाथाप भइरहेका वेला नेकपा (एमाले) नेतृत्वको गठबन्धनबाट भने केपी शर्मा ओली एक्ला उम्मेदवार हुन्। एमालेले भावी सरकारको प्रधानमन्त्री ओली नै हुने घोषणा मात्र गरेको छैन, सरकारले गर्ने कामको सूची समेत ल्याएको छ, कात्तिक १५ मा घोषणापत्र मार्फत।
संसारका कतिपय देशमा चुनावअघि नै भावी प्रधानमन्त्री घोषणा गरेर मत माग्ने गरिन्छ। नेपालमा पनि २०५६ सालको चुनावमा कांग्रेसले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो। कांग्रेसले भट्टराईको नाम अघि सारेपछि एमालेले पनि तत्कालीन अध्यक्ष मनमोहन अधिकारीलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो। त्यसपछिका चुनावमा भने कुनै पनि दलले भावी प्रधानमन्त्री भनेर कसैलाई पनि आधारिकारिक रूपमा अघि सारेको छैन।
२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ २३ सीट जितेर पनि पाँचौं पटक प्रधानमन्त्री बनेका देउवा मंसीर ४ को चुनाव मार्फत कांग्रेस सबैभन्दा ठूलो दल बन्नेमा ढुक्क छन्। कांग्रेस संसदीय दलको विधान अनुसार, प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न संसदीय दलको नेता चुनिनुपर्छ।
दोस्रो पटक पार्टीको नेतृत्व सम्हालिरहेका देउवाले चुनावपछि संसदीय दलको जोडघटाउ ख्याल राखेकै छन्। प्रत्यक्षको टिकट वितरणमा होस् मात्रै होइन, निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा पनि कांग्रेसमा विवाद देखिएको थियो। पार्टीभित्रको विरोधी समूहबाट उम्मेदवार नपरेको आरोप लागेपछि केही सच्याउनुपरेको थियो।
तथापि, देउवाले मंसीर ४ को चुनावपछि संसदीय दलमा सुविधाजनक बहुमत पाउने जोडघटाउ नमिलाउने त कुरै हुँदैन। त्यस कारण पनि कांग्रेस प्रवक्ता महतले भने जस्तै देउवालाई प्रधानमन्त्री बन्नबाट तत्कालका लागि कसैले पनि रोक्न सक्ने देखिंदैन।
अर्कातिर, सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने नेताहरूले बताउँदै आएका छन्। नेताहरूले जे भने पनि चुनावी परिणामले गठबन्धन निरन्तर अघि बढ्छ कि नयाँ समीकरण बन्छ भन्ने तय हुनेछ।
एउटा कुरा चाहिं पक्का हो, उधारो प्रधानमन्त्रीमा ओलीबाट धोका पाएका माओवादी अध्यक्ष दाहाल हाताहाती प्रधानमन्त्री चाहन्छन्। उधारैमा चित्त बुझाउनुपर्ने अवस्थामा उनका लागि ओलीभन्दा देउवा भरपर्दा हुनेछन्। यो कुरा ओलीले पनि राम्रोसँग बुझेका छन्।
त्यसैले कतिपयले अहिले नै आकलन गर्न थालेका छन्, सत्तारूढ गठबन्धन भत्काउन ओलीले दाहाललाई नगदै प्रधानमन्त्रीको अफर गर्न सक्छन्। तर, त्यसका लागि संसद्मा माओवादीको मात्र होइन, एमालेकै उपस्थिति पनि बलियो हुनुपर्छ। त्यसो नभई एमाले र माओवादी दुवैको साइज खुम्चियो भने कांग्रेसको उधारो प्रधानमन्त्री स्वीकार्न दाहाल बाध्य हुनेछन्।
यो त चुनावपछिको आकलन भयो नै अहिले भने उनीहरूले ‘प्रधानमन्त्री’ लाई चुनाव जित्ने कार्डका रूपमा प्रयोग गरिरहेका छन्। प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मतदातालाई प्रभावित गर्न आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन्।