स्वतन्त्र पार्टीको वाचापत्र: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो ‘वाचापत्र’ सार्वजनिक गरेको छ।
स्वतन्त्र पार्टीले बिहीबार सार्वजनिक गरेको वाचापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव गरिएको छ। स्वतन्त्र पार्टीले भनेको छ, ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने।’
त्यस्तै, स्वतन्त्र पार्टीले मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव गरेको छ। स्वतन्त्र पार्टीले भनेको छ, ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने। मुख्यमन्त्रीले फरक लिङ्गको उपमुख्यमन्त्री नियुक्त गर्ने।’
यससँगै राष्ट्रपति चयनका विषयमा पनि फरक धारणा राखेको छ। कम्तीमा १० वर्ष कुनै राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुने र वडाध्यक्षदेखि प्रतिनिधि सभा सदस्यले मतदान गर्ने व्यवस्था हुनुपर्ने स्वतन्त्र पार्टीको भनाइ छ। राष्ट्रिय सभाका अध्यक्ष नै पदेन उपराष्ट्रपति हुने व्यवस्था गर्नुपर्ने स्वतन्त्र पार्टीको प्रस्ताव छ।
त्यस्तै, निर्वाचन प्रक्रियामा सुधार ल्याउने, सुशासन कायम गर्ने, भ्रष्टाचार विरुद्ध निर्मम रूपमा प्रस्तुत हुने, लैङ्गिक विभेद अन्त्य गर्ने, सामाजिक न्याय र समावेशीकरणलाई ध्यान दिने स्वतन्त्र पार्टीको वाचा छ।
स्वतन्त्र पार्टीले अबको ३० वर्षभित्र अर्थात् विसं २११० सम्म गरीबी हटाउने जनाएको छ। स्वतन्त्र पार्टीले २११० सम्म गरिसकिने १६ वटा परिकल्पना सार्वजनिक गरेको छ।