कलामा पीडाको गहिराइ
एउटा पीडा यस्तो छ -यति चरम -
त्यसले सबै कुरा निल्छ
अनि त्यो गहिराइलाई एउटा तन्द्राले छोपिदिन्छ -
स्मृति त्यसको
वरिपरि -वारपार - त्यसमाथि -हिंड्छ
बेहोशीमा भएको मान्छे झैं -
सजिलै हिंड्छ - जहाँ आँखा खुला राखेर हिंड्दा
मान्छे खस्छ - टुक्रा टुक्रा भएर
- एमिली डिकिन्सन
बेल्जियमकी कलाकार फाबिएन फ्रांकटका चित्रकलाले एमिली डिकिन्सनको यो कविता सम्झाउँछन्, तर उल्टोबाट। फ्रांकटका कला हेर्नु चरम पीडाको गहिराइमा हेर्नु जस्तै हो। पीडा कस्तो देखिन्छ? जब स्मृतिले पीडालाई बेवास्ता गर्न सक्दैन, तब के हुन्छ? पीडामाथि पर्दा लगाउन हामीले प्रयोग गर्ने तन्द्रा हट्यो भने के हुन्छ? पीडामा हेलिंदै जाँदा बेहोश भइएन भने के हुन्छ?
श्रीलंकामा यसै वर्ष भएको फ्रांकटको पछिल्लो प्रदर्शनी हेरेमा यी प्रश्नको उत्तर पाइन्छ। स्टिल लाइफ शीर्षकको प्रदर्शनीमा उनले बनाएका पोर्ट्रेट अर्थात् मुहार चित्रहरू छन्– मुनितिर हेरिरहेका आँखा, धमिला ओठ, मेटिएका रूपरेखा, विकृत अनुहार। यी अनुहारले भावनाहरू दबाउन खोजेका छन्– तर, आँखाहरूले आत्माको पीडा लुकाउन सक्दैनन्।
फ्रांकटले श्रीलंकामा मानसिक अस्पतालका बिरामी, दुर्व्यवहारबाट पीडित र अपाङ्गता भएका बालबालिका, बाङ्लादेशमा रोहिंग्या शरणार्थी र बेल्जियममा पीडित युवाका लागि रचनात्मक कार्यशाला सञ्चालन गरेको अनुभवबाट यी चित्र बनाएकी थिइन्। “म सधैं समाजका लागि बढी भएका मानिससँग काम गर्न रुचाउँछु, जसको हेरविचार गर्न कोही चाहँदैन,” फ्रांकट भन्छिन्।
फ्रांकटले यी मुहारचित्रमा कतै कतै रातो रङ बाहेक पूर्ण रूपमा कालो मसीको प्रयोग गरेकी छन्। “मलाई कालो मन पर्छ र थोरै रङबाटै धेरै कुरा भन्न सकिन्छ जस्तो लाग्छ,” सीमित रङको प्रयोगबारे उनी भन्छिन्। थप्छिन्, “रातो रङ पनि प्रयोग गर्न मन लाग्छ, किनकि यो रङ निषेधित जस्तो लाग्छ।” तर, त्यो रातो रङले ती मुहारलाई उज्यालो बनाउनुको सट्टा तिनमा भएको पीडालाई थप चहकिलो पारे जस्तो लाग्छ।
रङका यी धर्साहरू जीवनभर आफ्नो कला निखारेको पारङ्गत कलाकारले बनाए झैं लाग्छ। तर, त्यस्तो होइन। फ्रांकटले धेरै पछि मात्र कलाकारिता सिकेकी हुन्। १९ वर्षको उमेरसम्म उनी व्यावसायिक रूपमा ब्याले नाच्थिन्, र त्यसपछि उनले विज्ञापन र बजार प्रवर्द्धनको काम गरिन्। अरबी लिपिको सुन्दरताबाट मोहित भएपछि ४२ वर्षको उमेरमा त्यो लिपिको कोर्स गरिन्। अक्षर लेख्ने अनुशासन जानिसकेपछि उनले कलामा हात हालिन् र आफैं सिक्न थालिन्। “मैले ढिलो शुरू गरें, त्यसैले अहिले मलाई हतार छ,” ६३ वर्षीया फ्रांकट भन्छिन्।
फ्रांकटले अल्जाइमर रोगबाट पीडित आमासँगको सम्बन्धबाट मानसिक अस्पतालमा काम गर्ने प्रेरणा पाएकी थिइन्। “मेरी आमा राम्ररी बोल्न सक्नुहुन्नथ्यो, कति दिन त मलाई चिन्नु पनि हुन्नथ्यो। तर, शब्द आवश्यक नपर्ने सङ्गीत, नृत्य आदि गतिविधिमा संलग्न हुँदा भने उहाँसँग संवाद गर्न सक्थें,” फ्रांकट सम्झिन्छिन्, “बोलेर कुराकानी गर्न नसक्दा यी अनुभवले हामीलाई जोडेका थिए।” आमासँगको अनुभवबाट उनले एउटा चित्रकलाको शृङ्खला बनाइन्, जुन ‘ल्याङ्ग्वेज अफ राप्चर’ (उमङ्गको भाषा) शीर्षकमा उनको देश बेल्जियममा प्रदर्शन गरिएको थियो।
त्यसपछिका कलात्मक अभिव्यक्तिमा पनि फ्रांकटले यस्तै शब्दविहीन अनुभूतिलाई निरन्तरता दिइन्। श्रीमान्को कामको सिलसिलामा सन् २०१६ मा श्रीलंका पुगेपछि उनले त्यहाँको केन्द्रीय मानसिक अस्पतालमा काम गर्न थालिन्। डेढ लाखभन्दा बढी बिरामी बस्ने अस्पतालमा उनले महिला र किशोरीका लागि कलाको कार्यशाला चलाइन्। उनी चित्रहरू लैजान्थिन् र बिरामीहरूलाई त्यस्तै चित्र बनाउन भन्थिन्। कला कार्यशाला भेटघाट गर्ने अवसर बनेको सम्झँदै उनी भन्छिन्, “उनीहरू कुन दुर्व्यवहारबाट पीडित बनेर अस्पताल पुगेका थिए, त्यसबारे हामी कुरा गर्दैनथ्यौं। उनीहरू चित्र बनाउँथे, या त वरिपरि बसेर गफ गर्थे। उनीहरू मलाई अरू थेरापिस्टका तुलनामा तपाईं प्रत्येकलाई व्यक्तिगत रूपमा ध्यान दिनुहुन्छ भन्थे।”
त्यस्ता अनुभवबाट उनले बनाएका चित्रहरू परम्परागत रूपमा ‘सुन्दर’ भन्न सुहाउँदैनन्। सुन्दरता फ्रांकटको लक्ष्य पनि होइन। “सुन्दरताले मन छुन्छ, म आत्मालाई छुन चाहन्छु। म मानवको अस्मिता देखाउन चाहन्छु, जुन सुन्दरताभन्दा धेरै तेजिलो हुन्छ,” उनी भन्छिन्।
काम गर्न श्रीलंका पुगेकी फ्रांकट त्यतै बसाइँ सरिन्, त्यसको कारण पनि त्यही मानवभित्रको अदृश्य सुन्दरता हो। “श्रीलंकामा जीवन कठिन छ। मानिसहरूले यति दुःख पाइसकेका छन् कि आँखाले देख्ने सुन्दरताको विकास गर्ने अवसरहरू कमै छन्। तर, मानवभित्रको सुन्दरता भने कायमै छ,” उनी भन्छिन्।
श्रीलंकामा भएको उनको पछिल्लो प्रदर्शनी यही अदृश्य तत्त्वलाई विभिन्न माध्यममा उतार्ने प्रयास थियो, चाहे चित्रकला होस् या प्रतिस्थापन कला, मूर्तिकला र बुट्टा भर्ने शिल्प। त्यसमध्ये शरीरका अङ्गको सेरामिक अर्थात् माटोकला बनाउन उनलाई धेरै कठिन भएको थियो। उनले उभिन लागेको घुँडा बनाएकी थिइन्, जसमा दर्शकबाट भावपूर्ण प्रतिक्रिया आएको थियो। “आघात परेको वेला मान्छे तेर्सो परेको छ भने उसलाई उभिन गाह्रो हुन्छ। र, यो संसारमा उभिन सकिएन भने मान्छे निरीह बन्छ। मानिसहरू त्यो मूर्ति देखेपछि स्तब्ध बनेका थिए,” उनी सम्झिन्छिन्।
तथ्याङ्क र आँकडाको संसारमा हामी यौन दुर्व्यवहार र बलात्कारका अनेकन् घटना सधैं सुनिराख्छौं, तर पीडितहरू कति गहिरो पीडाबाट गुज्रिरहेका छन् भनेर मानिसहरूले वास्तविक अनुभूति गर्न सक्ने माध्यम कमै छन्। फ्रांकटका कलाले पीडितको मानसपटलभित्रको यात्रा गराउँछन्। “दुर्व्यवहार के हो भनेर बुझ्नुभन्दा पनि मानिसहरूले त्यो भोगाइ र पीडा महसूस गरून् भन्ने म चाहन्थें,” उनी भन्छिन्, “दुर्व्यवहार र आघात भोगेपछि ती हाम्रो आत्माको एउटा कुनामा रहिरहन्छन्। हामी त्यसलाई खोल्दैनौं। त्यो खोलिराख्नुपर्छ भन्ने छैन, तर त्यो घटना भएको कुरा हामीले स्विकार्नुपर्छ। घटना भएकै थिएन जसरी बस्दा हामीले पीडितलाई अगाडि बढ्ने मौका नै दिंदैनौं।”
फ्रांकट कलाको यूरोपेली बुझाइ अनुसार काम गर्छिन्, जसमा सुन्दरताभन्दा अभिव्यक्तिलाई प्राथमिकता दिइन्छ। “कला सुन्दर हुनु पर्दैन, कला भनेको कलाकारले जे देख्छ त्यसको अनुवाद हो। त्यसैले यो एकदम व्यक्तिगत हुन्छ। मैले कुनै कला जे सोचेर बनाएँ, तपाईंले हेर्दा त्यही पाउनुहुन्छ भन्ने छैन। तर, त्यो कलाले तपाईंसँग संवाद गर्छ, र त्यो पीडाको अन्तर्राष्ट्रिय भाषा बन्न जान्छ,” उनी भन्छिन्।
सन् २०१९ मा नेपाल आउँदा फ्रांकटले पीडाका थुप्रै क्षणहरू याद गरेकी थिइन्। फ्रांकट आफूलाई ‘स्पन्ज जस्तो’ भन्छिन्, अरू मानिसको भावनासँगै वरिपरिको वातावरण पनि सोस्ने। नेपालमा देखेका कुराबाट उनले हात र औंलाका मूर्ति बनाइन्, र केही पोस्टकार्ड बनाइन्। पाटनमा देखेका हातहरूका बारेमा सोच्दै गर्दा र मूर्तिकार गोपाल कलाप्रेमीले दिएको माटोसँग खेल्दै गर्दा उनले ती कला बनाएकी थिइन्। २०७२ सालको भूकम्पपछि पाटनमा भत्किएका थुप्रै मूर्तिका हातहरू सङ्कलन गरेर एउटा भित्तामा टाँगिएका छन्, जसमा प्रत्येक हातको मुद्राले मानिसहरूलाई केही दिइरहेको छ– आशीर्वाद वा कुनै शुभ वस्तु। तर, फ्रांकटले बनाएका हातहरू त्यसको ठीक उल्टो छन्– श्रम र उमेरले खाएर ठेला उठेका/गाँठा परेका सामान्य मानिसका हातहरू। “मेरो कलाले पवित्र र अपवित्रलाई एकै ठाउँमा ल्याएको छ,” उनी भन्छिन्, “देवताका हातका छेउमा दर्शकले मैले बनाएका सामान्य मानिसका हातहरू देख्छन्, जसले समय बितेको देखाउँछन्।”
फ्रांकटले नेपालमा बनाएका पोस्टकार्डमा थुप्रै विविधता छ– मूर्तिका तस्वीर, स्वप्न-बगैंचामा झरेका फूलका पात, धूलो र धुवाँ, वनस्पति उद्यान, कपडाका टुक्रा, धातुकलाका छाप र सारीको छेउ। ती उनको दैनिकीबाट आएका हुन्। १३ वर्षको उमेरदेखि फ्रांकटले दैनिकी लेख्न थालेकी थिइन्, राम्रा र नराम्रा कुराको अभिलेख राख्न र संसार बुझ्न। उनी एउटा जर्नल नबोकी कहिल्यै हिंड्दिनन्, र हाम्रो भेटमा पनि उनले पछिल्लो जर्नल पल्टाएर एउटा सानो नोटबूक देखाएकी थिइन्। जसमा थिए ठूल्ठूला अक्षरमा लेखिएका शब्दहरू, चित्रहरू, तस्वीरहरू, मानिसका मुहारका भावनाहरू, भिजिटिङ कार्डहरू र अरू थुप्रै चीज।
२० वर्षअघि लिपिको कोर्स गरेपछि उनमा अनुशासनमा काम गर्ने बानी बस्यो। त्यसकै उपज हो, जीवनकथा लेखन। त्यसका केही टुक्रा टाँसेर पोस्टकार्ड बनाई उनी साथी र परिवारका सदस्यहरूलाई पठाउँथिन्। फुर्सदमा उनी जर्नलमा लेखिरहेकी हुन्छिन् र पोस्टकार्ड बनाइरहेकी हुन्छिन्। तीमध्ये पछिल्लो संग्रह उनले गत अक्टोबर नेपालमा प्रदर्शन गरेकी थिइन्।
फ्रान्सका दैनिकी लेखक आनी एर्नोले यस वर्षको नोबेल पुरस्कार जितेको सन्दर्भमा फ्रांकटका जर्नलहरू (अहिलेसम्म ७४ पुगिसके) सिर्जना जस्तो देखिन्छन्, तर फ्रांकटले ती जर्नल छाप्नेबारे सोचेकी छैनन्। भावना अभिव्यक्त गर्ने आवश्यकताबाट यी जर्नल निस्केको उनी बताउँछिन्, चाहे त्यो साँझको एक्लो अनुभूति होस् वा पढिरहेको किताबको अंश। “म १७ वर्षकी हुँदा एउटा जर्नलमा म कलाकार बन्न चाहन्छु भनेर लेखेकी रहेछु। कोभिडको लकडाउनमा सबै जर्नल पढ्ने क्रममा मैले त्यो देखें। कलाकार बन्ने इच्छा त ममा पहिलेदेखि नै रहेछ नि,” उनी भन्छिन्, “आज मैले गरिरहेको कामको पृष्ठभूमि हिजोको जर्नलमा भेटिन्छ।”
फ्रांकटले चित्रकला बनाएर प्रदर्शन गर्न थालेको १० वर्षपछि मात्र मुहारचित्र बनाउन थालेकी थिइन्, जसलाई उनी ‘आत्माको प्रवेशद्वार’ भन्छिन्। “मुहारचित्रप्रतिको आकर्षण मैले बुझ्न वा बुझाउन सकेकी थिइनँ। तर, जब मैले आफूले राखेका टिपोट र अभिलेखलाई फर्केर हेरें, त्यहाँ श्यामश्वेत तस्वीरमा मुहारका भावनाहरू देखें,” उनी भन्छिन्, “त्यति वेला मैले त्यो देखिनँ, तर आजको कामको बीउ उतिवेलै रोपिइसकेको रहेछ। मेरो दैनिकीले यसरी मेरो अवचेतन मनको अभिलेख राख्छ।”
फ्रांकटका पोस्टकार्ड र माटोका मूर्तिहरू कात्तिक ४ देखि ८ गतेसम्म पाटन संग्रहालयमा प्रदर्शन गरिएका थिए।