कोही किन ‘स्वतन्त्र’ हुन सक्दैन?
समकालीन ‘स्वतन्त्र’ हरूको उभार नवउदारवादको उपज पनि हो जो वैचारिक राजनीतिको उपादेयता देख्दैन वा मन पराउँदैन। ऊ राजनीति विचारविहीन हुनुपर्छ भन्ने ठान्छ वा विचारधाराको मृत्युको वकालत र अपेक्षा गर्छ।
स्वतन्त्र उम्मेदवारी नेपालको चुनावी इतिहासमा नौलो विषय नभए पनि पछिल्ला वर्षहरूमा नियमित राजनीतिक परिघटना जस्तै बन्न पुगेको छ। तर, यस्तो उम्मेदवारीका सवालमा पर्याप्त अवलोकन र विश्लेषण हुन सकेको छैन।
मूलधारका दल तथा नेताको राजनीतिक अभ्यासबाट असहमतहरू मूलतः स्वतन्त्र उम्मेदवारी मार्फत राजनीतिमा प्रवेश गरेको देखिन्छ। तिनै असहमतहरू मिलेर दल समेत खोलिएको दृष्टान्त सामुन्ने छ। कतिपयले स्वतन्त्र नाम राखेर दल खोल्नुलाई स्वतन्त्र शब्द र मर्मकै अपहरण ठानेका छन्।
स्वतन्त्र उम्मेदवारहरू मूलतः दलविरोधी वा दलनिरपेक्ष हुनुपर्ने हो, तर स्वतन्त्र नाम दिइए पनि दल नै बनाइसकेपछि त्यसमा आबद्धहरू दलनिरपेक्ष रहेनन्। यसलाई स्वतन्त्र पार्टीले स्वतन्त्र शब्दको वस्तूकरण गरेको भन्न सकिन्छ। जसरी विचार, विधि र व्यवहार मेल नखाए पनि नेपालका दलहरूले आफूलाई कम्युनिष्ट लेख्न छाडेका छैनन्, ठीक त्यसै गरी स्वतन्त्रप्रति जनताको आकर्षण बढिरहँदा कसैले त्यही नाममा लाभ लिन खोज्नु राजनीतिक चलाखी हो। यस अर्थमा यहाँ स्वतन्त्र संज्ञा मात्र हो, अवधारणा वा वैचारिकी होइन।
स्वतन्त्र उम्मेदवार आफैंमा एकीकृत स्वरूप वा विशिष्ट चरित्रको सामूहिक पहिचान पनि होइन। उनीहरू धेरैजसो दलविरोधी उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्। आम राजनीतिक बुझाइमा दलको अधीन नरहनु नै स्वतन्त्रको मानक हो। तर, राजनीतिको प्राणतत्त्व वैचारिकीबारे स्वतन्त्र राजनीतिका पक्षपातीहरू स्पष्ट देखिँदैनन्।
जसरी विचार, विधि र व्यवहार मेल नखाए पनि नेपालका दलहरूले आफूलाई कम्युनिष्ट लेख्न छाडेका छैनन्, ठीक त्यसै गरी स्वतन्त्रप्रति जनताको आकर्षण बढिरहँदा कसैले त्यही नाममा लाभ लिन खोज्नु राजनीतिक चलाखी हो।
सही विचार र अभ्यासबाट निर्दिष्ट राजनीतिले मात्र अपेक्षित परिणाम दिन सक्छ। स्वतन्त्र उम्मेदवारीका सन्दर्भमा राजनीतिमा विचारलाई गौण ठानिएको प्रतीत हुन्छ। यद्यपि, राजनीतिमा विचारलाई महत्त्वहीन बनाइदिने ठूला भनिएका परम्परागत दल नै हुन्। उनीहरूकै कारण राजनीतिमा विचारहीनता र अनपेक्षित विकृति संस्थागत भइसकेका छन्। तर, एउटाको गलत अभ्यासको विकल्प अर्कोको गलत अभ्यास होइन।
दार्शनिक रुसोले भनेका थिए, ‘मानिस स्वतन्त्र जन्मिन्छ, तर सबैतिर आफूलाई साङ्लोमा बाँधिएको पाउँछ।’ त्यस्तो साङ्लो प्रचलित सामाजिक मूल्य, मान्यता, परम्परा, विचारपद्धति, स्थापित सामाजिक चित्तवृत्ति आदिबाट बनेको हुन सक्छ।
रुसोभन्दा दुई शताब्दीपछि जर्मन समाजशास्त्री म्याक्स वेबरले भनेका थिए, ‘मानिस त्यो प्राणी हो जो आफैंले बुनेको महत्त्व वा अभिप्रायको जालोमा जकडिएको हुन्छ।’ वेबरले भनेको जालो त्यही धागो र रसायनले बुनिएको हुन्छ जसबाट रुसोले भनेको साङ्लो बनेको थियो। यस्तै समानार्थी चिन्तन पूर्वीय दर्शन परम्परामा पनि छ। यसको अर्थ मानिस उसको चित्तवृत्तिकै कारण स्वतन्त्र हुन सक्दैन। यो दार्शनिक सैद्धान्तिक प्रश्न हो।
कुन व्यक्ति को वा केबाट स्वतन्त्र हुन सक्छ? हालको चुनावी परिदृश्यमा रहेका स्वतन्त्र उम्मेदवार साँच्चै स्वतन्त्र हुन्? उनीहरू कुनै राजनीतिक विचारको अधीन छैनन् वा विचारनिरपेक्ष छन्? उनीहरू कुनै पनि धार्मिक मान्यताबाट स्वतन्त्र छन्? सामाजिक मूल्य, मान्यताको अधीन छैनन्? यस्तै सामान्य प्रश्नहरूले यस विमर्शमा सहजीकरण गर्न सक्छन्।
केन्द्रीय तत्त्व- वैचारिकी
राजनीतिका लागि विचार र दल दुवै महत्त्वपूर्ण अवयव हुन्। विचार विनाको दल गतिहीन भई मक्किँदै जान्छ। राजनीतिको गति र दिशा निर्धारण उसले अङ्गीकार गरेको विचारले गर्छ। दल वा राजनीतिको अभ्यासकर्ताले अङ्गीकार गर्ने विचारपद्धति र सोही अनुरूपको अभ्यासले राजनीतिलाई गतिशील बनाउने हो। यसर्थ वैचारिकी वा विचारपद्धति राजनीतिको केन्द्रीय तत्त्व हो।
सामान्यतया अंग्रेजी भाषाको ‘आइडिओलजी’को नेपाली अनुवाद विचार, सिद्धान्त, पद्धति आदि हुन्छ। विचारको उत्पत्ति र त्यसको अर्थसार नै वैचारिकी हो। हंगेरीका प्रभावशाली समाजशास्त्री कार्ल मेन्हेइम त्यस्तो वैचारिकी विचारकको सामाजिक पृष्ठभूमिले निर्माण गर्छ भन्ने ठान्थे। जर्मन राजनीतिक-दार्शनिक हान्ना आरेन्टका अनुसार, विचारपद्धतिले मान्छे र समाजलाई हेर्ने दृष्टिकोण दिँदै खास विचारका आधारमा उसको सामाजिक र राजनीतिक जीवनको व्याख्या गर्छ।
कार्ल मार्क्स जो तत्कालीन दार्शनिक विचारपद्धतिबाट सन्तुष्ट थिएनन्, उनले विचार सामाजिक यथार्थ र भौतिक/पदार्थीय अवयवबाट निरपेक्ष हुन नसक्ने भनी विश्लेषण गरे। उनका अनुसार, शासकवर्गको विचारधारा नै शासक (शासन)को विचारधारा हुन्छ। अर्थात्, विचारधारा वर्गीय स्वार्थबाट प्रेरित हुन्छ। जसको साथमा उत्पादनका स्रोतसाधनको स्वामित्व हुन्छ, उसको नियन्त्रण केवल उपभोग्य वस्तु उत्पादन होइन, बरु खास खालको सोच वा चेतना उत्पादनमा पनि रहने गर्छ। तसर्थ, राजनीतिमा विचार वा वैचारिकी बुझ्न मार्क्स उपयोगी छन्।
सामान्य जीवनमा होस् या राजनीतिमा, सत्य र वस्तुनिष्ठतालाई बुझ्नु वैचारिकीको सवाल हो। तर, समाजविज्ञान भन्छ– मानव विचारशक्ति बुनियादी सत्य वा वस्तुनिष्ठतालाई यथार्थमा बोध गर्ने सामर्थ्य राख्दैन। यो जटिल तर सार प्रश्न हो। व्यक्ति, वर्गीय वा सामाजिक मूल्य, स्वार्थ र पूर्वाग्रहबाट प्रभावित आग्रहयुक्त दृष्टिकोण वा उपागम नै विचारपद्धति हो जसले विभिन्न राजनीतिक विचार निर्माण गर्न सघाउँछ। यसको अर्थ विचारपद्धति खासमा सामाजिक रूपमा उपार्जित वा आर्जित सामर्थ्य हो।
विचारपद्धति त्यो तत्त्व हो जसले समाज (वा राजनीतिक दल)का सदस्यहरूलाई एक सूत्रमा बाँध्छ। कुन वा कस्तो वैचारिकीले आम जनताको ध्यानाकर्षण गर्छ भन्नेमा व्यावहारिक राजनीति गर्नेहरू बढी सचेत हुन्छन्। तर, लोकरञ्जनमा मात्र केन्द्रित हुँदा राजनीति दिग्भ्रान्त हुन्छ। त्यसैको फाइदा उठाउने सुरमा स्वतन्त्र उम्मेदवारहरू देखिन्छ। तर, उनीहरू कुनै राजनीतिक वैचारिकीबाट निर्दिष्ट भएर भन्दा दलहरूप्रतिको असन्तुष्टिको प्रतिक्रिया स्वरूप सतहमा आएको देखिन्छ। राजनीतिमा कोही पनि जानेर वा नजानेर खास खालको वैचारिकीबाट स्वतन्त्र हुन सक्दैन।
अमूर्त विचारको उत्प्रेरणा
परिदृश्यमा रहेका ‘स्वतन्त्र’ हरूको चित्तवृत्ति बुझ्दा लाग्छ, स्वतन्त्र भनिनु नै केवल भ्रम हो। ‘विचारभन्दा माथि देश’ जस्ता अमूर्त विचारबाट समेत उत्प्रेरित देखिन्छन् उनीहरू। आधारभूत राजनीतिक मान्यताले देशलाई एक वैचारिक निर्माण मान्छ। तसर्थ, त्यस्तो विचार नै खास वैचारिकीको उपज हो। हाम्रो राजनीतिको अहिलेको हविगत भएको दल बलियो नभएर, नेता अहङ्कारवादी, भ्रष्ट भएर मात्र होइन, उनीहरूले सही विचार अवलम्बन र घोषित मान्यता अनुरूप व्यवहार नगरेर पनि हो। राजनीतिको गति र दिशा निर्धारण दर्शन र विचारले नै गर्ने हो। आजको विकृत राजनीति र मक्किँदै गरेका दलहरू दर्शन र विचारको क्षयीकरणकै परिणाम हुन्। तसर्थ, राजनीति उपयुक्त विचार निर्माण र त्यसको इमानदार अवलम्बनमा चुके राजनीतिक दुर्घटना निम्तिन्छ।
समकालीन ‘स्वतन्त्र’ हरूको उभार नवउदारवादको उपज पनि हो जो वैचारिक राजनीतिको उपादेयता देख्दैन वा मन पराउँदैन। ऊ राजनीति विचारविहीन हुनुपर्छ भन्ने ठान्छ वा विचारधाराको मृत्युको वकालत र अपेक्षा गर्छ। यस बाहेक स्वतन्त्रहरूको लहरमा दलित, गरीब, महिला, भूमिहीन, अल्पसंख्यकहरू किन अनुपस्थित वा नगण्य छन्, विश्लेषण गर्ने हो भने आंशिक नै सही, उत्तर भेट्न सकिन्छ।
राजनीतिका लागि विचार र दल दुवै महत्त्वपूर्ण अवयव हुन्। विचार विनाको दल गतिहीन भई मक्किँदै जान्छ। राजनीतिको गति र दिशा निर्धारण उसले अङ्गीकार गरेको विचारले गर्छ।
उदार वैचारिकीको आवश्यकता
केही आधारभूत समस्याका बावजूद स्वतन्त्र उम्मेदवारको उभार यस अर्थमा सकारात्मक छ कि यसले मूलतः युवालाई राजनीतिमा आकृष्ट गरेको छ। राजनीतिमा युवा रुचि र सहभागिता सधैं वाञ्छनीय हुन्छ। युवा भविष्य हुन् भन्ने नबुझ्ने परम्परामुखी नेतृत्व विरुद्धको भद्र विद्रोह पनि हो, राजनीतिमा स्वतन्त्रहरूको हस्तक्षेप प्रयास। पछिल्ला केही सन्दर्भले सङ्केत गरेका छन्– दलभित्र उमेरवाद र जजमानी सम्बन्ध कायम रहुन्जेल दलमा आबद्ध युवाको पालो आउनेछैन। त्यस्ता केही युवाले समेत ‘स्वतन्त्र’ उम्मेदवारी मार्फत वैकल्पिक माध्यम अपनाउन थालेका छन्।
दलहरूको वैचारिकी युवा पुस्ताको ठूलो हिस्सालाई आकर्षित गर्न असमर्थ छ। वैचारिकी र निःसृत विचारहरू गतावधिक भए, समय अनुसार नवीकरण भएनन्। तिनीहरू युवाका परिकल्पनालाई आकार दिन समर्थ भएनन्। बदलिँदो विश्व परिस्थिति र मुलुकको वस्तुगत अवस्थाको विश्लेषण गर्दै राजनीतिलाई दिशानिर्देश गर्न विचारपद्धति परिष्कृत बनाउँदै जानुपर्छ। विडम्बना, मूलधारका दल वैचारिक राजनीतिबाट विमुख र केवल सत्तामुखी हुँदा वैचारिक बहस, संश्लेषण र विचारपद्धति पुनर्ताजगीकरणको अभ्यास अन्त्य हुँदै गएको छ। हालको चुनावी सन्दर्भमा देखिएको गैरवैचारिक साँठगाँठ दलहरूमा राजनीतिक दर्शन र वैचारिकीको अवसानको प्रष्ट उदाहरण हो। यस्तो अभ्यासले सम्बद्ध दलमा राजनीतिमा विचारको महत्त्व हुनुपर्ने जिरह गर्नेहरूलाई क्रमशः किनारा लगाउँदै वृत्तभन्दा बाहिर पार्नेछ।
यस्तो परिप्रेक्ष्यमा स्वतन्त्र उम्मेदवार र तिनका हिमायतीहरू पनि केही आधारभूत प्रश्नसँग साक्षात्कार गर्न तयार हुनुपर्छ। जस्तो– के राजनीति विचार विनाको पनि हुन सक्छ? स्वतन्त्र उम्मेदवार कुनै विषय वा मुद्दामा समेत स्वतन्त्र रहिरहन सक्छ? स्वतन्त्र भनेको पक्षपात नलिनु वा वैचारिक पक्षधरता नहुनु हो?
स्वतन्त्रताको अर्थ केही नहुनु होइन। दलविहीनतालाई मात्र स्वतन्त्र ठान्नु सङ्कुचन हो। राजनीति दीर्घकालीन लगाव विनाको लहड होइन। जुनै रूपको राजनीति पनि विचारपद्धतिबाट निर्दिष्ट हुनु अनिवार्य छ। एउटा नायक आएर राजनीतिका सबै खराबी अन्त्य गर्ने स्वैरकल्पना वस्तुपरक राजनीतिक बुझाइ होइन।
राजनीति एक्लाएक्लै खेलिने खेल होइन, सामूहिक कर्म हो। समान बुझाइ र सामूहिक विश्वासले मानिसहरूलाई गोलबद्ध गराउँछ। स्वतन्त्र उम्मेवारका सम्बन्धमा पनि संगठित हुने र एकै तन्तुमा जोडिन सके उनीहरूको राजनीति दीर्घकालीन हुन सक्छ। सत्ताप्रतिको रोषकै आधारमा आफूलाई राजनीतिक रूपमा प्रमाणित गर्ने यत्नले क्षणिक सन्तुष्टि मात्र दिनेछ।
(ढकाल मानवशास्त्री हुन्। हिमालको २०७९ कात्तिक अंकबाट।)