गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्ने कुवेत एअरवेजको प्रस्ताव
कुवेत एअरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार, कुवेत एअरवेजले एक महीनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको हो।
कुवेत एअरवेजले गत सोमबारबाट कुवेत-नेपाल चार्टर उडान शुरू गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए। उनका अनुसार, कुवेत-नेपाल दुईतर्फी उडानका लागि करीब दुई महीनाअघि कूटनीतिक प्रक्रिया शुरू गरेको कम्पनीले शुरूआतमा चार्टर उडान गरेको हो।
कम्पनीले चार्टर उडान शुरू गरेको र हाल पर्यटकको यामसँगै अगाडि नै तालिका लिइसकेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
उनका अनुसार, उक्त कम्पनीलाई चार्टर उडानका लागि भैरहवा गन्तव्य कायम गरिने र आउँदो डिसेम्बरबाट भैरहवामै नियमित उडान गर्ने योजना पेस गरिसकेको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको भए पनि उडान तालिका प्रस्ताव आउन बाँकी रहेको क्यानले जनाएको छ। भैरहवाबाट हाल कुवेतकै जजिरा एअरवेजले नियमित उडान गर्दै आएको छ। (रासस)