डा. तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश
डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिएको हो। अब अर्को आदेश नभएसम्म डा. कार्कीको उम्मेदवारी यथावत् रहने भएको छ।
कार्की ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन्। उनी लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उम्मदेवारी खारेज गरेको थियो।
त्यस विरुद्ध उनी सोमबार सर्वोच्च अदालत पुगेकी थिइन्। उनले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेकी थिइन्।
उनको रिटमाथि आज भएको सुनुवाइमा न्यायाधीश चुडालको इजलासले उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश दिएको हो।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदक डा. तोसिमा कार्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ ललितपुरको उम्मेदवारी अयोग्य हुने गरी निर्वाचन आयोग नेपालले मिति २०७९/०७/१२ मा गरेको निर्णय कार्यान्वयन नगर्नू, नगराउनू, निवेदकको उम्मेदवारी खारेज नगर्नू, नगराउनू, निजको उम्मेदवारी समेतलाई यथावत् कायम राखी निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।’
यससँगै सर्वोच्च अदालतले कारण देखाऊ आदेश पनि दिएको छ। सर्वोच्चले ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए आधार कारणसहित’ लिखित जवाफ पेश गर्नु भनेको छ।
यसका लागि बाटो म्याद बाहेक १५ दिनको समय दिइएको छ।