निधारमा ‘आर’ लेखिएका हामी
ठेगाना, रोजगारी वा थलोको अस्थिरता हाम्रो हरेक दिनको जीवन्तता हो। तथापि, सुन्दर घर सपना नै रहिरहन्छ, त्यही सपनाले अर्को ठाउँमा सारिरहन्छ।
मसँग तीन थरी कागजपत्र छन्। यीमध्ये नीलो र पहेंलो पुर्जा भारत सरकारले जारी गरेको हो। पञ्जीकरण प्रमाणपत्र (आरसी) भनिने नीलो पुर्जामा मेरो औंठाछाप, श्यामश्वेत तस्वीरसँगै म भारतमै जन्मिएको र यहीं बस्दै आएको विवरण छ। पहेंलो पुर्जा परिचय प्रमाणपत्र (आईसी) हो जसमा प्रवचन दिन मैले विभिन्न देशमा गरेको यात्राको अभिलेख छ। तेस्रो, हरियो पुर्जा चाहिं तिब्बतको प्रवास सरकारले जारी गरेको हो। सम्भवतः यो तिब्बतको भविष्यको राहदानी हुनेछ। तर, यी कुनै कागजले मलाई नागरिकको हैसियत दिँदैनन्। म राज्यविहीन छु। अर्थात्, शरणार्थी। भारत सरकार हामीलाई ‘भारतका पाहुना’ भन्छ।
तिब्बती शरणार्थीका लागि खोलिएका विद्यालयमा पढ्दा पञ्जाबका युवा क्रान्तिकारी भगत सिंह, बङ्गालबाट स्वतन्त्रता सेनाको नेतृत्व गरेका सुभाषचन्द्र बोस, बेलायतको उपनिवेशवादी सेना विरुद्ध ढाडमा बच्चा बोकेरै धावा बोल्ने झाँसीकी रानी लक्ष्मीबाई र भारतमा बलेको स्वतन्त्रताको झिल्कोलाई आन्दोलनको रूप दिएर बेलायती शासकलाई घर पठाएका महात्मा गान्धीको इतिहासबाट प्रभावित भएर हामी हुर्कियौं। हाम्रो पनि सपना थियो, तिब्बतका लागि लड्ने। तर, हाम्रा नायक भने भारतीय थिए।
हामीलाई हाम्रो निधारमा ‘आर’ लेखिएको बताइन्थ्यो। अर्थात्, शरणार्थीको अंग्रेजी शब्द ‘रेफ्युजी’ को पहिलो अक्षर। ऐनामा त्यो अक्षर नदेखिए पनि हामी आफूलाई अरूभन्दा फरक महसूस गर्छौं। तिब्बतबाट नेपाल वा भुटान हुँदै हिमालय शृङ्खला छिचोलेर आएका हाम्रा आमाबुबा हुन् वा भारतमै जन्मेका र तिब्बत कहिल्यै नदेखेका मेरा समवयी, सबै जना शरणार्थी हौं। तर, एक दिन हामी अवश्य तिब्बत फर्किनेछौं।
शरणार्थी भन्नासाथ गरीब, अभागी वा भगुवा भनेर सोचिन्छ, संसारभर। तर, शरणार्थी हुनुको अर्थ आफ्ना जनता र मातृभूमिप्रति दायित्वबोध हुनु हो। अनि शरणार्थी हुनु स्वतन्त्रता लडाकू हुने अवसर पनि हो। हामी स्वतन्त्रता आन्दोलनमा स्वयंसेवकका रूपमा होमिनेछौं। यो आन्दोलनले हामीलाई व्यक्तिगत जीवनभन्दा माथि उठेर जिउनुको अर्थ सिकाएको छ।
धेरै पछि मैले एउटा कवितामा ‘रेफ्युजी’ को ‘आर’ लाई तिब्बती शब्द रंगजेनको ‘आर’ भनी पुनः परिभाषा गरें। रंगजेनको अर्थ स्वतन्त्रता हो। भलै हामी जन्मजात शरणार्थी होऔंला, तर हाम्रो भविष्य भनेकै स्वतन्त्र बन्नु हो। यो भावनासँगै हाम्रो पुनर्जन्म भएको छ।
शरणार्थी भन्नासाथ गरीब, अभागी वा भगुवा भनेर सोचिन्छ, संसारभर। तर, शरणार्थी हुनुको अर्थ आफ्ना जनता र मातृभूमिप्रति दायित्वबोध हुनु हो। अनि शरणार्थी हुनु स्वतन्त्रता लडाकू हुने अवसर पनि हो।
हामीलाई बाहिरका मानिसले कसरी हेर्दै छन्, थाहा छैन। अध्ययनका सिलसिलामा हामीले भारतले सन् १९५१ को शरणार्थी सन्धि र १९६७ को अभिसन्धिमा हस्ताक्षर नगरेको थाहा पायौं। कानूनी शिक्षाका लागि धर्मशालामा आयोजित तिब्बतीहरूको बृहत् भेलामा हामीले यही तथ्य समातेर ‘आफू शरणार्थी नभई नवीकरणको प्रावधान सहित तोकिएको अवधिसम्म भारतमा बस्न दर्ता गरिएका विदेशी भएको’ जानकारी गराएका थियौं। हाम्रो कुरा सुनेर गहभरि आँसु पार्दै पाको उमेरका एक मान्छेले भने, “चिनियाँहरूले देश खोसेकाले म शरणार्थी बनेको छु। तर, म यहाँ विदेशी होइन। धर्मशाला मेरो दोस्रो घर हो। म यहाँ स्वतन्त्रताका लागि आएको हुँ। यहीं बस्न आएको होइन। म विदेशी होइन, शरणार्थी हुँ।”
भारतले शरणार्थी कानून नमाने पनि यो देश उसका छिमेकी तिब्बत, नेपाल, भुटान, बाङ्लादेश, बर्मा, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र धेरै टाढाका इरान आदि देशका राजनीतिक विद्रोहमा लागेका ठूलो संख्याका शरणापेक्षीहरूको घर बनेको छ। उनीहरूका लागि पनि भारतले आरसी र आईसी जारी गरेको छ।
सन् १९५५ मा जारी भारतको नागरिकता ऐनको सन् १९८६ को संशोधनले १९८७ जुलाई १ अघि भारतमा जन्मेका हामीमध्ये अधिकांशलाई भारतीय नागरिक मान्छ। तथापि, हामीले तिब्बती शरणार्थीका रूपमा आफ्नो पहिचान अक्षुण्ण राखेका छौं। सधैं भारत बस्ने र यहाँका अर्बौं जनतासँग एकाकार हुनेभन्दा कुनै दिन आफ्नै घर फर्किने राजनीतिक लक्ष्यमा संगठित रहन हामीले यस्तो निर्णय गर्यौं। यो भावनाको सम्मान गर्दै भारत सरकारले पनि हामीलाई भारतीय समाजमा मिसिन कर गरेको छैन।
भारत र नेपालमा बसेका एक लाख तिब्बती शरणार्थी चीन विरुद्धको ठूलो शक्ति हुन सक्ने हामीले बुझेका छौं। भारतले अरू देशका शरणार्थीलाई दिने साङ्केतिक सहायताभन्दा फरक तिब्बती शरणार्थीका मामिलामा गरेको राजनीतिक लगानीमा दीर्घकालीन स्वार्थ छ। उसले शुरूमा चीनसँगको मित्रता र कूटनीतिमा लगानी गरेको हुन सक्छ। तर, लामो समयदेखि तिब्बती शरणार्थीको पुनर्वासका लागि शिक्षा तथा स्वास्थ्य पूर्वाधारमा पनि चूपचाप लगानी गरिरहेको छ।
शरणार्थीका तीन पुस्तालाई नियाल्दा भावनात्मक रूपमा जतिसुकै देशभक्त भए पनि हामीले तिब्बत फर्किने त परको कुरा, आफ्नो माटो छुनसम्म पाएका छैनौं। चीनको प्रभाव गहिरो बन्दै जाँदा यो सम्भावना अझ क्षीण बन्दै छ।
शरणार्थीका तीन पुस्तालाई नियाल्दा भावनात्मक रूपमा जतिसुकै देशभक्त भए पनि हामीले तिब्बत फर्किने त परको कुरा, आफ्नो माटो छुनसम्म पाएका छैनौं। चीनको प्रभाव गहिरो बन्दै जाँदा यो सम्भावना अझ क्षीण बन्दै छ। खासमा हामी ‘न यहीं बसिरहन सक्ने न त फर्किन सक्ने’ निर्वासनको पीडाले पिरोलिएका छौं।
निर्वासित तिब्बतीहरूले शुरूमा गरेका काममध्ये एउटा हो, शिक्षामा बलियो जग बसाल्नु। नयाँ पुस्ताले परम्परागत भाषा, संस्कृति र चालचलन मात्र होइन, नयाँ भाषा, विज्ञान र प्रविधि पनि सिक्नुपर्ने दलाई लामाको अवधारणा छ। आज अधिकांश तिब्बती शरणार्थी तीन÷चार भाषामा काम गर्न सक्छन्। निर्वासन सिकाइ, अनुकूलन र सिर्जनात्मकताको मलिलो जमीन बनेको छ। अहिले तिब्बती बौद्ध गुम्बाले पनि धार्मिक शिक्षासँगै जीवविज्ञान, रसायनशास्त्र र भौतिक विज्ञानका कक्षा सञ्चालन गर्छन्। यस्तो शिक्षाले तिब्बतलाई नयाँ परिचय दिएको छ जसबारे कुनै शोधपत्रमा भने उल्लेख छैन।
समाचारमा जेजस्ता कुरा आए पनि आफ्नो सबभन्दा ठूलो छिमेकी तिब्बतबारे थुप्रै भारतीयलाई जानकारी छैन। भए पनि न्यून मात्र छ। उनीहरू आज पनि तिब्बती नामलाई चिनियाँ नाम सोच्छन्, चिङचोङ–पिङपोङ भन्दै नाम बिगारी बोलाउँछन्। तिब्बतीलाई ‘ज्याकी चेनका दाजुभाइ’ भनिनु अस्ट्रेलियामा भारतीयलाई ‘पाकी’ भनिए जस्तै हो।
भारतमा रहेका तिब्बतीले मतदान गर्न, जग्गाजमीन किन्न वा नागरिकलाई दिइने कुनै सुविधा उपभोग गर्न पाउँदैनन्। दुई दशकयता निर्वासित तिब्बतीमध्ये झण्डै आधा पश्चिमा देशमा बसाइँ सरेका छन्। अहिले यूरोप र अमेरिकाको नागरिक बनेका तिब्बतीको संख्या ७०–८० हजार पुगिसक्यो। उनीहरू त्यहीं रहेर तिब्बतको पक्षमा अभियान चलाउँदै छन्। निर्वासित समुदायलाई यो अभूतपूर्व ऊर्जा बनेको छ।
नेपाल र भुटानमा रहेका तिब्बती शरणार्थीको अवस्था भने चिन्ताजनक छ। यी दुई देश सांस्कृतिक, जातीय र भाषिक रूपमा समेत तिब्बतसँग निकै नजिक रहेकाले दलाई लामाको भ्रमण नगराउन चीनको चर्को दबाब छ। काठमाडौंमा तिब्बतीलाई दलाई लामाको जन्मदिन मनाउन समेत अनुमति दिइँदैन। नेपालले धेरै अघिदेखि तिब्बती शरणार्थीका नाममा आरसी जारी गर्न बन्द गरिसकेको छ।
चीनका सस्ता सामान पाउने लोभमा ‘एक चीन’ नीतिलाई आँखा बन्द गरेर स्वीकार गरेका सरकारहरू आज फन्दामा परेका छन्, राजनीतिक रूपमा त्यसबाट उम्कन सकिरहेका छैनन्।
संयुक्त राज्य अमेरिकामा पञ्जीकृत तिब्बतका एक पाका बुद्धिजीवीले त्यहाँ आफ्नो पञ्जीकरण चिनियाँ नभई तिब्बतीकै रूपमा भएको भन्दै ‘सफलताको प्रसङ्ग’ सुनाएका थिए। उनी यसलाई यस कारण उपलब्धि मानिरहेका थिए कि पश्चिमा देशमा शरण खोज्ने तिब्बतीको प्रायः पूर्व चिनियाँका रूपमा पञ्जीकरण हुँदै आएको थियो। अधिकांश पश्चिमा देशले तिब्बतलाई चीनकै हिस्सा मान्दै आएकाले यस्तो भएको हो। भारतमा तिब्बतीका लागि जारी गरिने आईसीमा कूटनीतिक तरीकाले ‘मूल थलोः तिब्बत’ लेखिने गरेको छ।
चीनका सस्ता सामान पाउने लोभमा ‘एक चीन’ नीतिलाई आँखा बन्द गरेर स्वीकार गरेका सरकारहरू आज फन्दामा परेका छन्, राजनीतिक रूपमा त्यसबाट उम्कन सकिरहेका छैनन्। यद्यपि, ताइवान, हङकङ र पूर्वी तुर्किस्तानले विश्वको भूराजनीतिमा शीघ्रातिशीघ्र फेरबदल ल्याउँदै छन्।
आज तिब्बतभित्र स्थायी बन्दाबन्दी छ। बाहिरका कसैसँग कुनै खाले सञ्चार सम्पर्क नगर्न भन्दै संस्थागत रूपमै सर्वसाधारणमाथि सूचना र घोषणाहरूको बम बर्सिरहेको छ। मोबाइल फोनमा दलाई लामाको तस्वीर राख्ने तिब्बतीलाई पक्राउ गरिएको छ। राज्यले मानिसको अनुहार पहिचान गर्न सक्ने स्वचालित अत्याधुनिक प्रविधि मार्फत निगरानी गरिरहेको छ। यसरी सङ्कलित तथ्याङ्क चीनको करेसा (तिब्बत) मा मनग्य पाइने लिथियम, सुन र तामा जस्ता प्राकृतिक स्रोतको निर्बाध दोहनमा प्रयोग हुने गरेको छ। ती प्राकृतिक सम्पत्ति संसारका ठूला उद्योगमा खपत हुन्छन्। खानी सञ्चालकहरूले तिब्बतका किसान र याकपालक घुमन्तेहरूलाई उनीहरूका भूमिबाट धपाउँछन् अनि कृत्रिम गाउँहरूमा पुनर्वास गराउँछन्।
धर्मशालामा हरेक दिनजसो कसै न कसैले आफ्ना पुस्तक, टीभी सेट, गुन्द्री, गमला र लुगाफाटा ढुवानीका लागि जीपमा राख्दै गरेको देखिन्छ। ती कसैको निश्चित ठेगाना हुँदैन। हामी हाम्रो ठेगाना भारतीय घरबेटीसँग माग्छौं। फरक फरक प्रयोजनले घुमन्ते बनिरहनुपर्ने बाध्यताले हाम्रा ठेगाना पनि फेरिइरहन्छन्। ग्यास लिन, फोन दर्ता गर्न, ब्यांक, परिचयपत्र, प्रमाणपत्र, हुलाक सेवा लिन सबैलाई अलग अलग ठेगाना छन्। हामीलाई फोन गर्ने अधिकांश साथीले एउटै आवाज सुन्छन्– ‘यो फोन केही समयका लागि सेवा बाहिर छ।’ किनकि, ठेगानासँगै हाम्रा फोन नम्बर पनि फेरिइरहन्छन्।
मैले गहिरोसँग अनुभव गरेको कुरा, शरणार्थीको जीवन बुद्धको अलगाव सम्बन्धी उपदेशसँग निकट छ। किनकि, पछिल्लो पटक बसेको ठाउँप्रति हाम्रो कुनै अनुराग रहँदैन। कार्यस्थल र आफन्त–साथीहरू नजिक भएको, भाडा कम तिर्नुपर्ने, जाडोमा घाम लाग्ने र हुस्सु–बर्खामा पनि न्यानो भइरहने ठाउँको खोजीमा हाम्रा वास फेरिइरहन्छन्।
ठेगाना, रोजगारी वा थलोको अस्थिरता हाम्रो हरेक दिनको जीवन्तता हो। तथापि, सुन्दर घर सपना नै रहिरहन्छ, त्यही सपनाले अर्को ठाउँमा सारिरहन्छ। हुन सक्छ, यस पटकको बसाइँसराइ प्रेमका लागि होस्। फेरि पनि गुप्तचर विभागका अधिकारीहरू ढोकामा आएर स्थायी ठेगानाको माग त गरी नै हाल्छन्।
(फ्री भोइस पत्रिकाको अगस्ट, २०२२ मा अंग्रेजीमा प्रकाशित सुन्देको यो लेख नीरज लवजूले नेपालीमा अनुवाद गरेका हुन्। हिमालको २०७९ कात्तिक अंकबाट।)