संग्रौलाको जीवनी सम्बन्धी पुस्तक सार्वजनिक
लेखक खगेन्द्र संग्रौलाको जीवनी एक बागी सार्वजनिक भएको छ।
उज्ज्वल प्रसाईं लिखित एक बागीको आइतबार कांग्रेस नेता गगन थापा, चीनका लागि पूर्व राजदूत महेश मास्के, शिक्षिका उषा श्रेष्ठ, अनुसन्धाता सबिन निङ्लेखु र लेखक उज्ज्वल प्रसाईंले विमोचन गरे।
अनुसन्धानकर्मी सबिन निङ्लेखुले पुस्तकमाथि टिप्पणी गर्दै पुस्तक मार्क्सवादी रुझानका एक अभियन्ता तथा लेखकको जीवनीमा सीमित नरही सामाजिक इतिहासको दस्तावेज भएको बताए। “पुस्तकका शब्दहरूले कानमा आएर बात मार्छन्,” निङ्लेखुले भने, “पुस्तकमा साहित्यिक स्वादसँगै र विश्लेषणको गहिराइ तथा आलोचनात्मक हेराइ छ।”
पुस्तकले लेखक संग्रौलाले बिताएका ठाउँहरूको राजनीतिक इतिहासलाई उजागर गरेको बताउँदै निङ्लेखुले भने, “बन्दीपुरको नेवारी वास्तुकला र संस्कृतिबारे मात्र अवगत भएका हामीलाई सो स्थानको तत्कालीन राजनीतिक इतिहासबारे पुस्तकले उजागर गरेको छ।” संग्रौलाले समय बिताएको तत्तत् ठाउँका सामाजिक, राजनीतिक इतिहासलाई उजागर गर्नु पुस्तकको विशेषता हो।
पुस्तकमाथि टिप्पणी गर्दै पूव राजदूत मास्केले मौखिक इतिहासको गहिराइलाई पुस्तकले दस्तावेजीकरण गरेको धारणा व्यक्त गरे। वामपन्थीहरूसँग धेरै कुरामा विमति हुँदाहुँदै पनि २०४६ सालको प्रजातन्त्र पुनर्बहालीपछि प्राप्त वाक्-स्वतन्त्रतालाई बचाइराख्न भूमिका निर्वाह गरेका लेखक संग्रौलासँग राजाको प्रत्यक्ष शासनका वेला सहकार्य गरेको स्मरण गर्दै कांग्रेस नेता गगन थापाले समानता, समावेशिता, आरक्षण, जातीय विभेद लगायतका विषयमा लेखकसँग आफूले धेरै कुरा सिकेको बताए। “संग्रौलामाथि पुस्तक लेख्नु गाह्रो काम थियो,” थापाले भने, “तर त्यो गाह्रो कामलाई लेखक प्रसाईंले सफलतापूर्वक पूरा गरेका छन्।”
बेला पब्लिकेशनद्वारा प्रकाशित ४७६ पृष्ठको पुस्तकको मूल्य ९४५ रुपैयाँ छ।