अप्रीतिको दंश भोग्दै मैथिली सङ्गीत
मिथिलाका सबैखाले कलाजन्य वैशिष्ट्य यतिखेर संरक्षकविहीनताले सङ्कटापन्न छन्। यस्ता सम्पदाका संरक्षक जनता नै हुन्।
वीणा वादन तत्त्वज्ञः श्रुति जाति विशारदः।
तालज्ञश्चाप्रयासेन मोक्ष मार्गम् च गच्छति।।
महर्षि याज्ञवल्क्यको उपर्युक्त कथनबाट पूर्वीय दर्शनले सङ्गीतलाई दिएको महत्त्व थाहा हुन्छ। यस उक्तिका माध्यमबाट उनले वीणा बजाउने कलाको सूक्ष्मता जान्ने र सुर–तालको राम्रो ज्ञान राख्ने व्यक्तिले सजिलै मोक्षको बाटो पहिल्याउने बताएका छन्।
विदेह राज्य अर्थात् मिथिलाका विद्वान्हरूमध्ये ज्ञान र योगका श्रेष्ठतम साधक याज्ञवल्क्यबाट इसापूर्व सातौं शताब्दीमै प्रतिपादित यसै दर्शनको प्रभावले हुन सक्छ– मिथिलाको जीवनपद्धति नै सङ्गीतको धागोमा उनिएको छ। मिथिलामा जन्मदेखि मरणसम्म हरेक संस्कार र मनोभावलाई गीतहरूबाटै अभिव्यक्ति दिने परम्परा छ। जनक काल, जनकवंशपछिको गणतन्त्र, कर्णाटवंशीय राजतन्त्र, मुगलहरूको अधीन ओइनवार राजवंश, सेनवंशीय राजतन्त्र, मल्लकाल, शाहवंशीय अन्धकार कालका साथ भारतमा अंग्रेज र नेपालमा राणापछि वर्तमान गणतन्त्रसम्मको व्यवस्थामा मिथिलाका जनसामान्यले अनेकौं उत्कृष्ट र निकृष्ट अवस्था तथा आरोह–अवरोह भोगिरहे। यस अवधिमा प्रेम, विजय, प्रसन्नता आदिलाई रागमय बनाउने माध्यम गीत–सङ्गीत रह्यो भने दुःख, दारिद्र्य, वेदना, बिछोड आदि सहने संयन्त्र पनि गीत नै बने। गीत–सङ्गीतको परम्परा अक्षुण्ण र अनिवार्य बनिरह्यो।
सङ्गीतको यही प्राचीनता र अविच्छिन्नताले मैथिली भाषा नै सङ्गीतमय भाषाका रूपमा स्थापित छ। राष्ट्रकवि माधवप्रसाद घिमिरे जहिले पनि यस पंक्तिकारलाई देख्नासाथ मैथिली भाषासँग जोड्नुहुन्थ्यो र भन्नुहुन्थ्यो– ‘अहा! मैथिली त सङ्गीतको भाषा।’ त्यसै गरी प्रसिद्ध मैथिली साहित्यकार सियाराम झा ‘सरस’ मैथिली साहित्यको विवेचना गर्दा यसमा लेखिने कथा, कविता, निबन्ध, नाटक जस्ता विधालाई हात, खुट्टा, जीउडाल आदिको संज्ञा दिँदै गीतलाई मुटु भन्नुहुन्छ। उहाँका अनुसार, मैथिली साहित्यबाट गीत झिकिदिने हो भने यसलाई ‘हृदयाघात’ हुन्छ।
पूर्वीय सङ्गीतको इतिहास केलाउँदा एघारौं शताब्दीको आरम्भमै मिथिलाका कर्णाटवंशीय राजा नान्यदेवले सरस्वती हृदयालङ्कार सङ्गीत ग्रन्थको प्रणयन गरेको पाइन्छ। त्यसै गरी मिथिलाका प्रसिद्ध सङ्गीतशास्त्री पं. लोचन झाद्वारा पन्ध्रौं शताब्दीमा लिखित रागतरङ्गिणीको समस्त सङ्गीतशास्त्रमध्ये विशिष्ट स्थान रहेको सङ्गीतज्ञहरूको भनाइ छ। नेपाल उपत्यकाका कतिपय मल्ल राजाहरू मैथिली सङ्गीतका साधक, उपासक तथा पोषकका रूपमा सुपरिचित थिए। त्यसपछिको समयमा ध्रुपद र खयाल गायनमा प्रसिद्धिप्राप्त साङ्गीतिक घराना पनि मिथिलामा रहे।
सलहेस, लोरिक, नैका–बनिजारा, दीनाभद्री आदि पचासौं किसिमका गाथा अद्यापि मिथिलामा प्रचलित छन्। यिनलाई निरन्तरता दिन तथा जोगाउन परम्परागत श्रमजीवी वर्गले विशेष भूमिका निर्वाह गरेको छ।
मिथिलामा वैदिक कालदेखि नै सङ्गीतको परम्परा थियो। सङ्गीतको प्रचारप्रसारमा पुरोहित वर्गको विशेष भूमिका हुन्थ्यो। यज्ञादि अनुष्ठानमा यी पुरोहित सामवेदका ऋचा–गायन गर्थे। सामगानको परम्परासँगै लौकिक सङ्गीत परम्परा पनि शुरू भयो। सामगानमा पहुँचबाट वञ्चित वर्गले यस लौकिक परम्पराको सूत्रपात गर्यो। यसमा जीवनका यावत् गतिविधिको सजीव चित्रण हुन्थ्यो। यस्तो सङ्गीतमा परम्परागत रूढिको ठाउँ लोकजीवनले लिँदै गयो। सङ्गीतका यी दुई धारा मिथिलामा निकै समय चले। कालान्तरमा गाथा गायनको परिपाटी शुरू भयो। सलहेस, लोरिक, नैका–बनिजारा, दीनाभद्री आदि पचासौं किसिमका गाथा अद्यापि मिथिलामा प्रचलित छन्। यिनलाई निरन्तरता दिन तथा जोगाउन परम्परागत श्रमजीवी वर्गले विशेष भूमिका निर्वाह गरेको छ।
साहित्यिक विभूतिहरूमा भने मैथिली सङ्गीतको उन्नयनमा महाकवि विद्यापतिको नाम अग्रगण्य छ। विद्यापतिले मिथिलाको सङ्गीत–परम्परालाई फराकिलो बनाउन महत्त्वपूर्ण टेवा पुर्याएका थिए। उनका गीत–सङ्गीत मिथिलामा लोकगीतको स्वरूपमा व्याप्त छन्। मिथिलाका ऋतुगीत होऊन् वा संस्कार गीतहरू, साधुसन्तले गाउने ‘सधुक्कडी’ गीत होउन् वा शिष्ट मञ्चहरूमा गाइने सुगम सङ्गीत, हरेकमा हामी ‘भनहि विद्यापति’ जोडेर गाइराखिएको पाउँछौं।
सङ्गीत परम्पराका आधारमा नेपाली समाज र मैथिल समाजको तात्त्विक भिन्नता भनेकै सङ्गीतको प्रभाव वा यसप्रतिको दृष्टिकोण हो। नेपाली (पर्वतीय) समाजमा सङ्गीतमा लागेकालाई गाइने भनेर हेलाको भावले हेर्ने र अछूत झैं व्यवहार गर्ने प्रचलन थियो। जबकि, मिथिलामा प्रायः सङ्गीतमा लागेकाहरूप्रति सम्मानको दृष्टि राखिन्थ्यो। यसैले मिथिलाका अधिकांश साङ्गीतिक घरानाका संस्थापक तथा नामूद सङ्गीतज्ञहरू ब्राह्मण र कथित उच्च जातिका भए। ब्राह्मणेतर जातिका मानिसले पनि सङ्गीतमा दक्षता हासिल गरेको अवस्थामा विशेष सम्मान प्रकट गर्ने र पण्डित भनी विशेषण जोड्ने परिपाटी रह्यो। उदाहरण हुन्, माङनि खबास। उनी पँचगछिया हवेलीका नोकर थिए। तर, हवेलीमै हुने सङ्गीत समारोहमा साङ्गीतिक प्रतिभा मुखर हुने मौका पाएपछि उनको स्थान फेरियो र कालान्तरमा मिथिलाको प्रसिद्ध पँचगछिया सङ्गीत घरानाका संस्थापक बन्न पुगे।
पारम्परिक रूपमा मैथिली गीत–सङ्गीतलाई संरक्षण गर्ने र अगाडि बढाउने काममा मिथिलाका महिलाको विशेष संलग्नता तथा योगदान पाइन्छ। मैथिली लोक तथा परम्परागत गीत भनेकै एक किसिमले नारी–संसार हो। मैथिली गीतको समग्रता हेर्दा तीन चौथाइ भाग महिलाले नै धानेका छन्। आफ्ना भाव, प्रेम, पीडा, स्वतन्त्रता, सौन्दर्य, मनोद्वेगको अभिव्यक्ति मैथिलानीहरूले लोकगीतकै माध्यमबाट गर्दै आएका छन्। गीत कतिखेर गाउने भन्ने निर्दिष्ट समय नभए पनि आफ्ना हरेक क्रियाकलापमा यिनले गीतलाई जोडेका हुन्छन्। यसले गर्दा गीतसँगै लय मिलाउँदै गरिरहेको काम कतिखेर भ्याइसकिन्छ, पत्तै हुँदैन। ढिकी कुट्दा, जाँतो पिन्दा होस्, धान रोप्दा होस् कि आँगन लिप्दा; हरेक काममा गीत सँगसँगै चलिरहेको हुन्छ।
कतिसम्म भने मिथिलाका नारीकलाको विशेष चिनारी बनेको मिथिला चित्रकला बनाउँदा पनि गायन साथै हुन्छ। यस्ता लोकगीतले कतिपय संस्कारजन्य प्रक्रियालाई समेत मार्गदर्शन गर्छन्। यस प्रकार लोक र वेदको सुन्दर समन्वय र प्रयोगस्थली मिथिलाको लोकजीवनलाई सांस्कृतिक बाटोमा डोर्याउन पनि गीतले उल्लेख्य भूमिका निर्वाह गरिरहेको हुन्छ।
मिथिलामा महिलाहरूले गाउने परम्परागत गीतमा साज–बाजको प्रबन्ध नरहे पनि यी गीतको साङ्गीतिक पाटोलाई मनन गर्दा वैविध्य र वैशिष्ट्य प्रचुर मात्रामा पाउन सकिन्छ। विभिन्न रागहरूकै पृष्ठभूमिमा आधारित यस्ता लोकगीत अधिकांशतः रूपक, दीपचन्दी जस्ता तालमा पाइनुले पनि मिथिलाको साङ्गीतिक जरा र मिठासको परस्पर सम्बन्ध सजिलै पहिल्याउन सकिन्छ।
पारम्परिक रूपमा मैथिली गीत–सङ्गीतलाई संरक्षण गर्ने र अगाडि बढाउने काममा मिथिलाका महिलाको विशेष संलग्नता तथा योगदान पाइन्छ। मैथिली लोक तथा परम्परागत गीत भनेकै एक किसिमले नारी–संसार हो।
यस्तो विशिष्ट परम्परा हुँदाहुँदै पछिल्ला केही दशकमा मैथिली लोकगायन र नवगीत रचना मात्र उल्लेख्य रूपमा अस्तित्वमा रहन सकेका छन्। सङ्गीत सिर्जनाको पाटो ओझेलमा परेको छ। सिर्जनात्मक गीतको क्षेत्रमा यतिखेर मैथिलीमा गीत छ, गायन छ तर सङ्गीत छैन। क्षमता र सम्भावना भएका गायकहरू पनि हिन्दी गीतको ‘प्यारोडी’ गाउनमै सीमित देखिन्छन्। यसले गर्दा सार्थक सङ्गीतको सुदीर्घ परम्परा रहेको मैथिली भाषा पनि शनैःशनैः सस्ता शब्द र नक्कली धुनको चेपुवामा परेर उकुसमुकुस गरिरहेको छ।
यस्तै प्रतिकूलतामा पनि मैथिलीले गरिमा जोगाउँदै वर्तमानमा समेत विशिष्ट भाव, स्वभाव र प्रभावका गीत पस्केकै छ। तर, त्यस्ता गीत उन्नत जातिका त्यस्ता बाली जस्ता भएका छन्, जसले झारपातसँगै हुर्किनुपरेको छ। झारपातमा जमीनको उर्वराशक्ति सोस्ने र मुख्य बालीको आहार खोस्ने ताकत बढ्ता हुने कुरा प्रामाणिक तथ्य हो। तर, यस्ता झारका प्रहार परास्त गरेर कतिपय यस्ता गीत आएका छन्, जसले देश बोकेका छन्, समग्र मानवता उचालेका छन्।
राष्ट्रियताका सवालमा डा. राजेन्द्र विमलद्वारा लिखित र सुनील–प्रवेशद्वारा सङ्गीतबद्ध ‘जय नेपाल, जय नेपाल...’ जतिको व्यापक, प्रभावशाली र सुमधुर गीत शायदै नेपाली भाषामा पनि कुनै होला। यस पंक्तिकारको रचना–सङ्गीतमा रामा मण्डल र रूपा झाले गाएको ‘हमरे डाला पनपथिया...’ ले छुवाछूत विरुद्ध सिर्जना गरेको प्रभावले गीतको सामर्थ्यप्रति स्वयं पंक्तिकारलाई पनि चकित पारेको छ। तर, यी गीतले पनि राष्ट्र गाइरहेका छन् भन्ने कुरा राष्ट्र बोकेर हिंड्दै छु भन्ने भावमा निमग्न व्यक्ति, संस्था, मानसिकतालाई पत्तोसम्म छैन। र, यस्ता सिर्जना अनेकौं छन्।
मिथिलाका सबैखाले कलाजन्य वैशिष्ट्य यतिखेर संरक्षकविहीनताले सङ्कटापन्न छन्। यस्ता सम्पदाका संरक्षक जनता नै हुन्। तर, देश भनेको पनि जनता नै हो। हामीकहाँ भने अहिले पनि फरक फरक जनताका फरक फरक देश छन्। देशले व्यावहारिक रूपमा नेपाली बाहेकका भाषामा केही गर्नुपर्ने कर्तव्य कहिल्यै ठानेन। आफ्नो भनिएको प्रदेशले मिथिलालाई आफ्नो मानेन। परिणामस्वरूप सम्पूर्ण आधार प्रचुर हुँदाहुँदै भाषा आयोगले मैथिली र भोजपुरी भाषालाई कामकाजको भाषाका रूपमा सिफारिश गरे पनि मैथिली भाषा राज्यको भाषा हुन सकेन। यसले गर्दा यहाँका यावत् वैशिष्ट्य अप्रीतिको शिकार हुँदै अधोमुखी यात्रामा लागेका देखिन्छन्। आज मिथिलाको गीतले पनि मैथिल जनमानस झैं गाइरहेका छन्-
सबै लाग्छ हामीमाथि कानून र ऐन
तर देशको ऐनामा खै, हाम्रो मुहार छैन।
यो ऐनामा मिथिला लगायत देशभरिको सिर्जनात्मक वैशिष्ट्य देखिए नै हाम्रो समग्र धरातल उचालिन सक्छ। र, त्यसरी उचालिएको धरातलले नै सयौं थुँगा फूलका एउटै मालाको नेपाली परिचय स्थापित हुन सक्नेछ।
(प्रेमर्षि लेखक, सङ्गीतकार तथा साहित्यकार हुन्। हिमालको २०७९ कात्तिक अंकबाट।)