कालिकोटमा दुई बालिकाको ज्यान लिएको बम माओवादी द्वन्द्वकालीन
कालिकोटको तिलागुफा नगरपालिका–१०, रानावाडामा दुई बालिकाको ज्यान लिएको बम माओवादी सशस्त्र द्वन्द्वकालको भएको खुलेको छ।
कात्तिक १२ गते बम विस्फोट हुँदा चार वर्षीया झरना थापा र सरस्वती रानाको मृत्यु भएको थियो। उक्त घटनामा माओवादी द्वन्द्वकालको बमले बालिकाहरूको ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयेश्वर रिमालले हिमालखबरसँग भने, “प्रारम्भिक अनुसन्धानमा पुरानो सकेट बम विस्फोट भएको पाएका छौं।”
शान्ति सम्झौतापछि पनि ल्यान्डमाइन, सकेट बम आदिमा परेर सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन। रानावाडा घटनामा घाइते ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना रानाको उपचार जारी रहेको डीएसपीले रिमालले जानकारी दिए।