गगन थापालाई आयोगको दोस्रो स्पष्टीकरण–जानाजान आचारसंहिता उल्लंघन किन?
निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ।
कात्तिक ८ गते डेंगी विरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले पुनः स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
‘यदि डेंगी महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यक महसूस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्छ तर निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त कार्य तपाईं आफैंले गर्न पाउने कानूनी व्यवस्था छैन,’ आयोगले स्पष्टीकरणमा भनेको छ, ‘प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिले कानूनको खिलाफ हुने गरी कुनै काम गर्छु भनी वक्तव्य दिनु हुँदैन भन्ने विषयको जानकारी तपाईंलाई छैन भनी आयोग विश्वस्त हुन सक्दैन।’
थापाले जानाजान आचारसंहिता उल्लंघन गरेको आयोगको निष्कर्ष छ। ‘निर्वाचनको सम्मुखमा तपाईंले अभियान चलाउँछु भने जस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिंदै हिंडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ/पर्दैन?’ आयोगले भनेको छ, ‘निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा विपद् तथा महामारी आइपरेमा सरकारले आयोगको सहमतिमा कार्यक्रमहरू ल्याउन सक्ने नै व्यवस्था रहेको हुँदा तपाईं किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन गर्न उद्यत हुनुभएको हो?’