पिराहा जनप्रतिनिधि : सेवाको साटो बालुवाको लेदो
गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठकै लगानीमा सञ्चालित बालुवा खानीका कारण पृथ्वी राजमार्ग पटकपटक अवरुद्ध भइरहेको छ । जनताले सास्ती बेहोरिरहेका छन् ।
गल्छी गाउँपालिकाका अध्यक्ष हुन्, कृष्णहरि श्रेष्ठ । स्थानीय सरकार प्रमुखको हैसियतले गाउँपालिकाभित्रका जनताको समस्या, विकास निर्माणदेखि अभिभावकीय जिम्मा उनकै हो ।
तर, अध्यक्ष श्रेष्ठकै कारण स्थानीयवासी अहिले पीडित छन् । उनैको लगानीमा रहेको केबिएस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिको बालुवा खानीबाट बगेर आएको लेदोले गल्छी ६ महेशदोभानस्थित पृथ्वी राजमार्गको खण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ ।
१२ असारमा पनि त्यस्तै भयो । वर्षाले बालुवा खानी तथा बालुवा खानीसम्म पुग्न बनाइएको सडकको लेदो माटो बगाएर ११ घण्टासम्म पृथ्वी राजमार्ग ठप्प भयो । गाउँपालिका अध्यक्षको व्यापारकै कारण हजारौं यात्रु बाटोमा अलपत्र परे ।
पृथ्वी राजमार्ग भएर दैनिक ६ हजार सवारी साधन ओहोरदोहोर गर्छन् ।
पत्रकारसमेत रहेका गल्छीका स्थानीय केशव अधिकारीले फेसबूकमा गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठलाई खुला पत्र लेख्दै आफूहरुले सम्भावित क्षति बारे पटक पटक अध्यक्षलाई जानकारी गराएपनि वेवास्ता गरेको गुनासो गरेका छन् ।
सडक र खानीबाट आएको भलले सडकमा मात्र होइन, अधिकारीसहित स्थानीयको बारीमा पनि क्षति पुर्याएको थियो ।
गाउँपालिका अध्यक्ष श्रेष्ठलगायतका व्यापारी जनप्रतिनिधिबारे गतवर्षको फागुनमै हिमालखबर ले रिपोर्ट प्रकाशित गरेको थियो ।
तत्कालिन नेकपा (एमाले)बाट निर्वाचित श्रेष्ठकै लगानीमा सञ्चालित बालुवा खानीले स्वयं जनता नै पिडीत भइरहँदा पनि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केही बोलेको छैन ।
नेकपा प्रदेश नम्बर–३ की अध्यक्ष अष्टलक्ष्मी शाक्यले एकिककरणपछि स्थानीय तहमा पार्टी कमिटी बन्न बाँकी नै भएकाले जनप्रतिनिधिका जथाभाविबारे उजुरी पार्टीसम्म नआएको बताउँछिन् ।
“पार्टीको निर्देशन र समन्वयमा काम गर्नुपर्ने जनप्रतिनिधि कमिटी नबनेकाले मनपरी गरिरहेका छन्, अराजकता बढेको छ”, शाक्य भन्छिन् “जिल्ला कमिटी बनेका छन्, स्थानीय तहमा पनि कमिटी बनाउन निर्देशन दिएका छौं ।”