कांग्रेसको घोषणापत्र सार्वजनिक, वार्षिक साढे दुई लाख रोजगारी सिर्जना गरिने (पूर्ण पाठ सहित)
सत्तारूढ दल नेपाली कांग्रेसले मंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
सानेपास्थित पार्टी कार्यालयमा कात्तिक १२ गते कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा कांग्रेसले यसअघिदेखि नै गर्दै आएका प्रतिबद्धता सहित विभिन्न नयाँ कार्यक्रम तथा सुधारको सङ्कल्प गरिएको छ। समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्दै घोषणापत्रले आगामी एक दशकभित्र नेपाल उद्यम–अनुकूल, मध्यम आय भएको समन्यायिक मुलुक हुने परिकल्पना गरेको छ।
त्यसै गरी चरम गरीबी एक अङ्कमा (१० प्रतिशतभन्दा कम) सीमित गरिने प्रतिबद्धता जनाइएको छ। अहिले चरम गरीबी १७ प्रतिशत हाराहारीमा रहेको अनुमान छ।
अहिले कुल गार्हस्थ्य उत्पादनको २३ प्रतिशत हाराहारीमा रहेको रेमिटेन्सलाई एक दशकभित्र १०–१२ प्रतिशत बिन्दुमा झार्न देशमै सम्मानजनक रोजगारी सिर्जना गर्ने वाचा घोषणापत्रमा छ। पाँच वर्षभित्र १२ लाखभन्दा धेरै नयाँ रोजगारी सिर्जना गरिने दाबी गरिएको छ।
घोषणापत्रले कम्तीमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने उल्लेख गरेको छ। लाखौंको संख्यामा मर्यादित रोजगारी सिर्जना गर्न ठूलै संरचनागत पहल चाहिएकाले नयाँ चरणको आर्थिक सुधार मार्फत कम्तीमा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिने घोषणापत्रमा उल्लेख छ।
कांग्रेस घोषणापत्रमा तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेरमाथिका सबै वृद्धिको नि:शुल्क उपचारको वाचा गरिएको छ। त्यसै गरी सुत्केरी भत्ता रु.पाँच हजार पुर्याउने घोषणा पनि गरिएको छ।
घोषणापत्रले लोकतन्त्रको शुद्धीकरण र सुशासनलाई प्राथमिकतामा राखिने जनाएको छ। सार्वजनिक निकायका सबै पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गरिने, भ्रष्टाचार नियन्त्रणका लागि पुराना कानूनको संशोधन गरिने, सदाचार प्रवर्द्धन र पदाधिकारीमाथि निगरानी गर्न प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा अधिकारसम्पन्न संयन्त्र स्थापना गरिने लगायतका वाचा पनि गरिएको छ।