मधेशका पाँच क्षेत्रमा टुट्यो सत्ता गठबन्धन
मधेश प्रदेशका पाँच क्षेत्रमा सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ। सहमति हुन नसक्दा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका तीन निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुने भएको हो।
यी क्षेत्रमा ‘मित्रवत्’ प्रतिस्पर्धा हुने गठबन्धनका दलहरूले बताएका छन्। सत्ता गठबन्धनमा नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚ राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छन्।
धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट रामकृष्ण यादव र एकीकृत समाजवादीबाट रामचन्द्र झा उम्मेदवार छन्। यस्तै‚ सर्लाही क्षेत्र नं २ मा माओवादी केन्द्रका महिन्द्र राय यादव र लोसपाका राजेन्द्र महतोले उम्मेदवारी दिएका छन्।
प्रदेश सभातर्फ सर्लाही क्षेत्र नं १ (क)मा माओवादी केन्द्रले रामचन्द्रसिंह कुशवाह र लोसपाले उपेन्द्र महतोलाई उम्मेदवार बनाएका छन्। बारा क्षेत्र नं १ (ख)मा कांग्रेसले नागेन्द्रप्रसाद कानू र एकीकृत समाजवादीले बतहु यादवलाई उम्मेदवारका रूपमा अगाडि सारेका छन्। पर्सा क्षेत्र नं ३ (ख)मा कांग्रेसका जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी उम्मेदवार रहेका छन्।
प्रदेश सभाकै दुई क्षेत्रमा सत्ता गठबन्धनबीच अझै सहमति हुन सकेको छैन। सिरहा क्षेत्र नं ३ (ख)मा कांग्रेसले सञ्जयप्रकाश यादव र एकीकृत समाजवादीले प्रमोद यादवलाई उम्मेदवार बनाएका छन्। यस्तै‚ महोत्तरी क्षेत्र नं २ (क)मा एकीकृत समाजवादीले मञ्जु यादव र लोसपाले जयनुल राइनलाई उम्मेदवार बनाएका छन्। यी क्षेत्रमा सहमति जुटाउन छलफल भइरहेको दलहरूले बताएका छन्।
मधेश प्रदेशमा प्रतिनिधि सभाका लागि ३२ सीट र प्रदेश सभाका लागि ६४ सीट छन्।