युद्धभूमिमा बरालको आँसु
सेवानिवृत्त जीवनमा पनि म संग्राममै छु। यो संग्राम पिछडिएको आफ्नै समाजसँग हो।
धर्मशाला फर्किंदा गर्मी बढ्दै थियो। घरमा श्रीमती र आमा पर्खिरहेका रहेछन्। साढे दुई महीनाको नेपाल यात्राबाट फर्किएको मलाई आमाले दुब्लाएको देखिछन्। श्रीमतीले भने उस्तै।
साढे दुई महीनाको यात्रा मलाई दुई दिन जस्तै लागेको थियो, तर श्रीमतीलाई भने साढे दुई वर्ष झैं लागेछ। त्यसैले राति सुत्ने वेला लाजवन्तीले दुखेसो पोखिन्‚ “बरु युद्धमा यति व्यस्त हुनुहुन्थेन होला! सेवानिवृत्त भइसकेपछि झन् कति व्यस्त हो! सँगै बस्नै नपाइने!”
उनको कुरा हो जस्तो लाग्यो। लाहुरे छँदा यूरोप र मेसोपोटामियातिर चार-चार वर्ष हराएको थिएँ। पेन्शन निस्केपछि पनि कहिले लाहोर, कहिले अमृत शहर त कहिले देहरादून। घरमा बास त्यति हुँदैन। मेरा लागि घर ‘बिलेट’ जस्तै भएको थियो। युद्धमोर्चामा विश्राम गर्ने ठाउँ जस्तो।
लाजवन्तीलाई अँगालो हालेर निदाउन खोज्दा सन् १९१५ को सम्झना आयो। विश्वयुद्ध ताका बेल्जियमको फ्लान्डर फिल्डमा जर्मनसँग लडेका दिनहरू झलझली आए। महीनौंसम्म ट्रेन्चमा बसेर फ्रन्टलाइनको सुरक्षा गर्थ्यौं अनि एक-दुई साताका लागि बिलेटमा छुट्टी मान्न आउँथ्यौं।
हो, सेवानिवृत्त जीवनमा पनि म संग्राममै छु। यो संग्राम पिछडिएको आफ्नै समाजसँग हो। बन्दूक बोकेर हिंड्दा भिक्टोरिया क्रस पाउन सकिनँ। बेलायती सैनिक भएर विश्व शान्ति स्थापना गर्न सकिनँ। अहिले साहित्यकार र समाजसेवी बनेर गोर्खाली समुदायमा परिवर्तन ल्याउन सक्छु कि? लाजवन्तीले मेरो जीवनको गन्तव्य राम्ररी बुझेकी छन्। तर पनि, उनले आफ्नो पीडा पोखिन्। म बुझ्छु- एक श्रीमतीको पीडा। उनको स्थानमा म भए पनि यस्तै पीडाबोध गर्थें।
श्रीमतीको त्यही पीडामा मल्हम लगाउँदै भनें‚ “अब परिवारको बढी ख्याल गर्छु। बरालिरहने बानी कम गर्नुपर्ला। तिम्रै कसम!’ अनि हामी निदायौं।
सेवानिवृत्त हुनासाथ सङ्गीत, साहित्य र समाजसेवामा होमिएको हुँ। घर बाहिर ननिस्की यी कुरा गर्न सम्भव छैन। घरपरिवारको माया कसलाई लाग्दैन र! तर‚ केही पाउन केही त गुमाउनै पर्यो। लक्ष्य प्राप्त गर्न कसैको साथ र सहयोग पनि चाहियो।
यही सोचाइले रन्थनिंदै गर्दा अर्को दिन सुबेदार बहादुरसिंह बरालको याद आयो। बराल साहेब मेरो साहित्य र सङ्गीतमा सधैं साथ दिने मान्छे। उनी पनि सर्जक हुन्। थुप्रै गीत र भजन लेखिसकेका छन्। म ती गीत र भजनलाई समेेटेर पुस्तक प्रकाशन गर्न बराल साहेबलाई सल्लाह दिइरहन्छु।
एक दिन बराल साहेब मेरो क्यान्टिनमा आए। उनी प्रगतिशील विचारका गोर्खा अफिसर हुन्। म जस्तै छाउनीमा जन्मिएका। उनी मभन्दा पाँच वर्ष जेठा छन्। तर‚ अग्ला र हृष्टपुष्ट दारका उनी मभन्दा भर्खरका देखिन्छन्। शायद अफिसर मेसको पोषिलो खानाले होला। मलाई त मेसोपोटामियाको हैजाले झण्डै सिध्याएको। त्यही भएर दुब्लो, पातलो छु। मेरा गालामा कोरिएका चिन्ताका रेखाले पनि होला, म सुबेदार साहेबभन्दा पाको देखिन्छु।
त्यो दिउँसो काँगडा घाँटीमाथिको स्वच्छ आकाश हेर्दै हाम्रा कुरा अगाडि बढे। निगालोको मुढामा बसेर चिया पिउँदै दिनभर गफियौं। मैले भनें, “बराल साहेब, तपाईं गीत तथा भजन लेख्नुहुन्छ। मस्तै थुप्रिसके होलान् है?” चियाको गिलास समाउँदै उनले भने‚ “अँ.. लेख्छु। तर‚ तिम्रा जस्ता उत्कृष्ट नहोला। पुगे होलान् यस्तै असी-नब्बे वटा।”
मलाई लाग्थ्यो, उनले त्योभन्दा धेरै लेखिसकेका होलान्। बराल साहेबको कुरा सुनेपछि मैले भनें‚ “त्यसो भए पुस्तक बनाएर छापौं। पुगेनन् भने मेरा सिर्जना पनि राखेर थपथाप गरौंला, हुन्न?”
“छ न त मेरो पनि यस्तै विचार छ। फुर्सत मिल्दैन कहिल्यै‚” चियाको चुस्की लिंदै उनले भने, “तिमीलाई थाहै छ, कहिले कहाँ त कहिले कहाँ भइन्छ। फेरि अर्को युद्धमा पो जानुपर्ने हो कि! सहयोग गर्छौ भने हुन्छ नि। तालमेल मिलाइदेऊ। खर्च म बेहोरिहाल्छु।”
बराल साहेबको कुराले खुशी तुल्यायो। “म सम्पादन र प्रकाशनका लागि सहयोग गरिहाल्छु,” चियाको गिलास मुखतिर लग्दै भनें, “बरु संग्रहको शीर्षक के राखौं?”
‘बरालको आँसु’ मेरो प्रश्न सिद्धिन नपाउँदै उनको जवाफ आयो। मलाई शीर्षक अचाक्ली मन पर्यो। मैले उत्सुक हुँदै सोधें, “शीर्षकले मन छोयो। ‘बरालको आँसु’ राख्नुको कुनै कारण?”
धौलाधर हिमशृङ्खलातिर नजर लगाउँदै बराल साहेबले भने, “तिमीलाई थाहै छ, हामी युद्धमा छँदा हाम्रा पल्टनका आफ्नै गीत थिएनन्। मेरो मतलब, राष्ट्रप्रेम झल्कने गीत। अंग्रेज र अन्य देशका सैनिकहरू आफ्नै भाषाका गीत गाउँदै मार्च गर्थे। त्यो देख्दा गोर्खालीका पनि आफ्नै गीत भइदिए कस्तो हुन्थ्यो भनेर म सोच्थें।”
उनको कुरा काट्दै मैले थपें, “गीत दु:खको साथी हो। पीडा बिर्साउँछ। लडाइँमा सिपाहीको मनोबल उच्च राख्न मद्दत गर्छ।”
मेरो कुरामा समर्थन गर्दै उनले भने, “हो त, गीतले जोश पैदा गरिदिन्छ। मलाई याद छ, गिवान्चीमा मार्च गरेको। गोरा सिपाहीले आफ्नो भाषामा गीत गाउँथे। हामी तिनले गाएको सुन्दै फ्रन्टलाइनबाट हिंडेर बिलेट आइपुग्थ्यौं। दुःखको बात के भने नि, हामीसँग सबैले मन पराउने एउटा पनि गीत थिएन। चाइनेजो, हाम्रो आफ्नै गीत नहुँदा त्यति वेला म धुरुधुरु रोएको छु। त्यही भएर मेरो पुस्तकको नाम ‘बरालको आँसु’ राख्न खोजेको। अब त बुझ्यौ?”
बराल साहेब गोर्खा समुदायका लागि चिन्तित छन्। पल्टनलाई त्यस्तै माया गर्छन्। आधुनिक हुनुपर्ने सुझाव दिन्छन्। उनी भन्छन्‚ “हामी सन् १८१६ का गोर्खाली होइनौं‚ हाम्रो सोचाइमा परिवर्तन ल्याउनुपर्छ। अनि मात्र हाम्रा मालिक अंग्रेजले दबाउन सक्दैन। हामी कति सचेत छौं, त्यसैले हामीप्रति गरिने व्यवहार निर्भर गर्छ।”
उनको कुरा सुनेपछि मैले भनें, “युद्धभूमिमा मात्रै होइन‚ आफ्नो गोर्खाली समुदायका लागि पनि तपाईंले आँसु बगाइरहनुभएको छ।” मैले यसो भनेपछि कृतज्ञ हुँदै बराल साहेबले भने, “मेरो आँसु पुछिदिने तिमी बाहेक अरू को छ र?”
यति भनेपछि उनी उठे। घर लाग्ने तरखर गर्दै भने‚ “मलाई आधा किलो चिनी, एक प्याकेट चिया र दुई पुडी पाइनाल बिस्कूट दिनू। अब लाग्नुपर्छ।”
बराल साहेबले भनेका कुरा तयार पार्दै भनें‚ “हुन्छ, म ‘बरालको आँसु’ सम्पादन र प्रकाशनतिर लाग्छु। केही दिनमा पाण्डुलिपि लिन तपाईंकै लाइनमा आउँला। तपाईं जस्ता अग्रगामी सोच भएका व्यक्तिका सिर्जना एकगट्ठा पारेर समाजसामु टक्र्याउन पाउनु मेरा लागि सौभाग्य हुनेछ। जय गोरख।”
सामानको पन्तरो हातमा झुन्ड्याउँदै ‘जय गोरख, मित्र’ भनेर बराल साहेब क्यान्टोनमेन्टभित्र छिरे।
....
बराल साहेब सानैदेखि पढ्नमा तेज। उच्च शिक्षा हासिल गरेका उनी सीधै कमिशन अफिसर भएका हुन्। हिन्दी, उर्दू, नेपाली, अंग्रजी भाषामा निपुण छन्। कसैसँग बोल्न डराउँदैनन्। उनलाई गोरा साहेबले खूबै मान्दथे।
पल्टनघरभित्र धेरै सुधार ल्याइसके। तलब, भत्ता, पेन्सन, वेलफेयरमा पनि सुधार ल्याएका छन्। बोलीचाली वा चिट्ठीपत्रमा ‘जय गोरख’ भनेर सम्बोधन गर्न उनले अभियान चलाए। ‘जय महाकाली, आयो गोर्खाली’ जस्ता युद्धघोष बराल साहेबले नै चल्तीमा ल्याएका हुन्। मैले यही उद्घोष गर्दै एउटा सेक्सनलाई नेतृत्व गरेर बगदादमा टर्क सेनाको खेदो खनेको थिएँ।
केही सातापछि बराल साहेबको क्वार्टरमा पुगेर ‘बरालको आँसु’ को पाण्डुलिपि ल्याएँ। उनका भजन र गीत पुनर्लेखन गरें। दिएँ। त्यस संग्रहमा गंगावती, पवित्रा देवी, दिलीप, दुर्गा मल्ल, मैतराम, जगत कारान्जित, मनवीर, पृथ्वीध्वज, र मेरा सिर्जना पनि राख्ने सल्लाह भयो।
करीब एक वर्ष लगाएर काम पूरा गरें। एउटा प्रेसले पुस्तक छापिदिने भयो। भूपू गोर्खा एशोसिएशनको अधिवेशनको अवसरमा ‘बरालको आँसु भाग-१’ लोकार्पण भयो। लोकार्पणको दिन बराल साहेबले भने‚ “नेपाली साहित्य र सङ्गीतमा सबैको चासो बढ्दै छ। आउँदा वर्षहरूमा हाम्रा रचनाहरू अझै संगृहीत हुँदै जानेछन्। भविष्यमा बरालको आँसुको भाग २, ३, ४ पनि प्रकाशन गरौंला।”
‘बरालको आँसु’ ले छोटो समयमै चर्चा बटुल्यो। पल्टन पल्टनमा वितरण भयो। यसमा भएका भजन पल्टनघरको मन्दिरहरूमा गाइए। मैले प्रचारप्रसार गर्ने सत्सङ्गहरूमा पनि यसभित्रका भजन सबैले गाउन थाले। यसले बराल साहेबलाई गोर्खा अफिसर मात्र नभई कुशल स्रष्टाका रूपमा पनि स्थापित गरायो। ‘बरालको आँसु’ को पछिपछि मेरो नाम पनि जोडिएर आउन थाल्यो। ‘बरालको आँसु’ प्रकाशित गरिदिएपछि युद्धभूमिमा बराल साहेबले चुहाएको आँसुका थोपाले उचित मूल्य पायो भन्ने मलाइ लाग्यो।