भँगाहा घटनाका दोषीलाई कारबाही गर्ने सर्वपक्षीय निर्णय
महोत्तरीको भँगाहा नगरपालिकामा भएको घटनाका दोषीलाई कारबाही गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको छ।
भँगाहा नगरपालिका-८ पररियामा बिहीबार दिउँसो ‘हिन्दू बाहिनी सेना सम्राट्’ नामक संस्थाले छठ पर्वको अवसरमा निकालेको कलश तथा झण्डा यात्राको क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको थियो। झडपमा सुरक्षाकर्मी सहित एक दर्जन घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो।
जिल्लामा क्रियाशील राजनीतिक दल‚ समाजिक अगुवा‚ जिल्लास्थित सुरक्षा निकायका अधिकारीको उपस्थितिमा शुक्रबार बसेको बैठकले उक्त घटनाका दोषीलाई कारबाही गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए। यस्तै‚ घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने, सद्भाव र्याली गर्ने‚ दलगत रूपमा शान्ति कायम गर्न अपील गर्ने निर्णय भएको छ।
दुई समुदायबीच सामाजिक सद्भाव कायम राख्न घटनामा सम्बद्ध दुवै पक्ष र आम नागरिकलाई आह्वान गर्ने, घटनामा भएको धनजनको क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्तिका लागि सिफारिश गर्न टोली गठन गर्ने‚ घाइतेको उपचारको व्यवस्था गर्न गृह मन्त्रालय मार्फत नेपाल सरकारमा अनुरोध गर्ने बैठकले निर्णय गरेको छ।
कात्तिक १० गते साँझ ४ बजेदेखि शुरू भएको कर्फ्यू भने अर्को सूचना नआउँदासम्म कायम रहेको प्रजिअ पहाडीले जानकारी दिए।