छोरीले लेखेका आमाहरूको इतिहास
आमा, हजुरआमाहरूको बालविवाह, बहुविवाह देखेसुनेका चेलीहरूले लेखेका यी लेख आमा–छोरीका सम्बन्धमा मात्र सीमित छैनन्, जिज्यू आमा र नातिनी पुस्तासम्म जोडिएका छन्।
पुरुष भाष्यबाट लेखिएको साहित्यको दबदबा चिर्दै महिला भाष्य लेख्ने क्रम सत्तरीको दशकमै थालियो। पहिलो पटक अमेरिकी लेखक रोविन मोर्गनले यो शब्दावली प्रयोगमा ल्याइन्। हामीकहाँ पनि महिला लेखकहरूका संग्रहबाट फरक संवेदना सहित निजात्मक घटनाहरू पस्कने क्रम बढ्दो छ। यसैको पछिल्लो उदाहरण हो– छोरीले जन्माएका आमाहरू। यस किताबमा १२ छोरीका कथाहरू समेटिएका छन्।
आमा, हजुरआमाहरूको बालविवाह, बहुविवाह देखेसुनेका चेलीहरूले लेखेका यी लेख आमा–छोरीका सम्बन्धमा मात्र सीमित छैनन्, जिज्यू आमा र नातिनी पुस्तासम्म जोडिएका छन्। आधाभन्दा धेरै लेखको भावभूमिमा पश्चिमाञ्चल छ। लेखकहरूले गुल्मी, पाल्पा, अर्घाखाँची, लमजुङ, तनहुँको परिवेशबाट चितवन, नवलपरासी, काठमाडौं अनि अमेरिकासम्म विचरण गरेका छन्। अधिकांश मध्यम वर्गका आमाहरूका कथाव्यथा उस्तै उस्तै छन्– बालविवाह, पारिवारिक दायित्व, शैक्षिक वञ्चीतीकरण, छोराछोरीको शिक्षामा जोड, नातिनातिनाको स्याहारसुसारका लागि अमेरिकाको यात्रा। धेरै आमाहरूको सुझाव एकसूत्रीय छ– हामीले पढ्न पाएनौं, तिमीहरू पढ, अघि बढ।
पुरुषसत्ताकै छायामुनि बाँचेकी मन्जु थापाकी आमा ईश्वरादेवी भने भीडमा सजिलै चिनिन्छिन्। सानैमा विधवा बनिन्। पछि सामाजिक, राजनीतिक गतिविधिमा संलग्न रहिन्। यसै क्रममा पुनः बिहे गरिन्, कर्मलाई दोषारोपण गरेर बसिनन्। उमा मिश्रकी आमाको बिहेपछि नामै परिवर्तन भएको छ। पहिचानको सङ्कटको ज्वलन्त दृष्टान्त हो यो। सीमापारि दार्जीलिङमा जन्मेर इलाममा घरजम गरेकी राधा पौडेलका जीवनगाथाले पूर्वेली परिवेशका रोचक घटना समेटेका छन्। छोरी कमला न्यौपानेको वर्णनमा उनकी आमामा गृह व्यवस्थापन र अन्य गतिविधिमा दार्जीलिङे चुस्तताको प्रभाव बाक्लो पाइन्छ।
निर्मला राईले पढ्न चाहेकी आफ्नी आमाको करकापमा बिहे गरिएको र त्यसपछि १२ वर्षसम्म पतिलाई आफ्नो देह स्पर्शसम्म गर्न नदिएको प्रसङ्ग उल्लेख गरेकी छन्। त्यो समयमा चानचुने थिएन, उनकी आमाको विद्रोह।
त्यस्तै, बिहेको झण्डै एक दशकपछि आमा बनेकी कविता घिमिरेले वेलैमा सन्तान नपाएकी महिलाको मानसिक आघात सतहमा ल्याउने साहस गरेकी छन्। हजुरआमा पुस्ताको भन्दा फरक छ, मोनिका आचार्यकी आमाको संघर्ष। पेशागत पहिचान र सामाजिक प्रसिद्धिमा केन्द्रित छ उनको जीवनचर्या। मीरा बस्नेतको लेखले उनकी आमाको व्यापारिक परिवेशको सक्रियताको वर्णन गर्छ जहाँ झण्डै सय वर्ष पहिलेको सामाजिक, राजनीतिक झलक भेटिन्छ।
कान्छो पुस्ताका छोरीहरू कल्पना तामाङ र सञ्चिता रसाइलीका भोगाइ पनि उल्लेख्य छन्। कल्पनाले उनकी मावली हजुरबाको नराम्रो पाटो खोलेकी छन्। सञ्चिताको परिवार गरीबी र छुवाछूतको मारमा थियो। गाउँको साझा धारोमा पानी भर्न नपाउने उनको परिवारको आर्थिक उन्नतिसँगै उनीहरूप्रतिको विभेदमा पनि केही कमी आएको छ। रामेछापका यी दुई चेलीसँग भौगोलिक निकटता छ, सिन्धुलीकी तनुजा पोखरेल र दोलखाकी जानु ओझाको। मध्यपहाडी परिवेशका यी चार गाथामा २०७२ को भूकम्पको त्रासदी र माओवादी द्वन्द्वको छाया जस्ता समान घटना भेटिन्छ। इन्द्र गुरौको लेखले आदिवासी थारूको थलो पहाडियाको आगमनले कसरी सङ्कुचनमा पर्यो, ऐतिहासिक झलक दिन्छ। जमीनदारको घरमा हरूवा–कमैया रहेका आफ्ना बाजेबज्यैसम्मको इतिहास कोट्याएकी छन् उनले। त्यस्तै, निर्मला राईले पढ्न चाहेकी आफ्नी आमाको करकापमा बिहे गरिएको र त्यसपछि १२ वर्षसम्म पतिलाई आफ्नो देह स्पर्शसम्म गर्न नदिएको प्रसङ्ग उल्लेख गरेकी छन्। त्यो समयमा चानचुने थिएन, उनकी आमाको विद्रोह।
संग्रहका अधिकांश सर्जक साझा संस्कार र संस्कृतिमा बाँचेका छन्। धेरैजसो लेखमा आमा–बुबाका तीन पुस्ताको लम्बेतान वर्णन छ। आमासँग जोडिएका पाटाहरूलाई महत्त्व दिएर पारिवारिक हाँगाबिँगा चाहिं लेखको अन्त्यमा अनुसूचीका रूपमा सामेल गरेको भए पठन अझ सहज बन्न सक्थ्यो। पक्कै पनि निजी जीवन सार्वजनिक गर्न सहज छैन। तर, आमाहरूप्रतिको अन्याय र विभेदलाई तत्कालीन परिस्थिति र चलन भनी आफ्नालाई दोषी नमान्नुले केही स्रष्टाको आलोचनात्मक चेत निकै कमजोर देखिन्छ। आफू र आफ्ना बारे सुन्दर पक्ष मात्र समावेश गरिएका आत्मवृत्तान्तबाट आजित पाठकलाई कता कता यस संग्रहका लेख पनि पारिवारिक आत्मश्लाघाको पुलिन्दा झैं लाग्छन्। प्रतिकूलता झेल्दै घरायसी कामको बोझ र केटाकेटी हेरचाहको दोहोरो जिम्मेवारी बोकेकी स्त्री–अङ्कित आवरण चित्रको मर्म सघन छ, जसले किताबको केन्द्रीय ध्वनि बोक्छ। तर, कला पक्षका रूपमा आवरण अझ आकर्षक र सशक्त बन्न सक्थ्यो कि? त्यस्तै हरेक गतिविधिमा क्षेत्रगत, उमेरगत, लैङ्गिक, पेशागत विविधता सहित समावेशिताको बहस निम्त्याइए जस्तै हिमाली भूगोल, मुस्लिम सम्प्रदाय, लैङ्गिक अल्पसंख्यक, सन्तानविहीन परिवारका आमाहरूको गाथा समेटिएको भए यो संग्रह पनि अझ समावेशी हुन सक्थ्यो कि?
संग्रहका अधिकांश सर्जक साझा संस्कार र संस्कृतिमा बाँचेका छन्। धेरैजसो लेखमा आमा–बुबाका तीन पुस्ताको लम्बेतान वर्णन छ।
संग्रहकी संयोजक समेत रहेकी मञ्जु थापा र अन्य केही लेखक बाहेक अधिकांश नयाँ लेखक छन् यसमा। उनीहरूले ठाउँ ठाउँमा आफ्ना अफसोसहरूलाई कविताका हरफमा ढालेका छन् र एकोहोरो पठनलाई क्रमभङ्ग गरेका छन्। तर, कतिपय कविता एकदमै सपाट छन्, काव्यिक मूल्यबोधमा कमसल पनि। किताबको शीर्षकले भने झैं छोरीले आमाहरूलाई लेखेरै चिनाए, पुनर्जन्म दिए। आफैं पनि लेखकको नयाँ अवतारमा आइपुगे। हाम्रा आफ्नै गाउँले जीवनका सुखदुःखका अंश र आयाम कतै न कतै आउँछन्। घरी हँसाएर त घरी आँसुले भिजाएर जान्छन्। आफ्नै विगत चियाउने आँखीझ्याल बनेको छ, यो संग्रह।
हरेक व्यक्तिमा लेखन सामग्री टनाटन हुन्छन्, हरेकका कथा विशेष हुन्छन्। तर, ती कथामाथि न्याय त्यतिखेर हुन्छ जब भोक्ता स्वयं स्रष्टा बन्छन्। यो किताबले हरेक व्यक्ति लेखक हुने क्षमता राख्छ भन्ने दह्रिलो मान्यता स्थापित गरेको छ। नेपाल र अमेरिकाका अलग भूगोल टेकेका यी स्रष्टाबाट कविता, आख्यान, संस्मरण वा अन्य विधामा दुई भिन्न संस्कृतिका गहकिला सामग्री अझ धेरै लेखिनेमा आशावादी हुन सकिन्छ।
(हिमालको २०७९ कात्तिक अंकबाट।)
पुस्तकः छोरीले जन्माएका आमाहरू‚ संयोजकः मञ्जु थापा‚ प्रकाशकः अक्षर क्रियसन्स‚ पृष्ठः ४५०‚ मूल्यः रु.६५०